हेटौंडा \ हेटौंडा उपमहानगरपालिका वडा नम्बर २ स्थित बालजागृति इङ्गलिस सेकेन्डरी स्कुलको बालमैत्री विद्यालय घोषणा हुने भएको छ । शुक्रबार विद्यालयले पत्रकार सम्मेलन गर्दै घोषणा तयारीबारे जानकारी गराइएको थियो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिनेश प्रसाद भण्डारीको अध्यक्षता तथा वडा नम्बर २ का कार्यवहाक अध्यक्ष सुरज बर्तौलाको प्रमुख आतिथ्यतामा पत्रकार सम्मेलन गरिएको थियो । कार्यक्रममा वडा सदस्यद्धय मैया परियार र इन्द्रप्रसाद रिजाल, विद्यालयका प्रिन्सिपल विनोद सुवेदी, वडाका बाल सहजकर्ता राहुल शर्मा, बालजागृति बाल समूहका अध्यक्ष कृशाङ्गी अर्यालको आतिथ्यता रहेको थियो ।
आगामी फागुन २२ गते बृहत कार्यक्रम गर्दै विद्यालयलाई बालमैत्री विद्यालय घोषणा गरिने प्रिन्सिपल सुवेदीले बताए । हेटौंडा उपमहानगरपालिकाले जारी गरेको २६ वटै सुचक पार गरिएकाले घोषणा गर्न लागिएको प्रिन्सिपल सुवेदीले बताए ।
२२ गते मंगलबार विहान बाल विशेषज्ञको साथमा स्वास्थ्य परिक्षण, ९ बजेपछि विभिन्न झाँकी, पञ्चेबाजा सहित प्रभातफेरी गरिने र ११ बजेपछि औपचारिक कार्यक्रम आयोजना गरी विद्यालयलाई बालमैत्री विद्यालय घोषणा गरिने कार्यतालिका रहेको सुवेदीले बताए । कार्यक्रममा नगर प्रमुख मीनाकुमारी लामाको प्रमुख आतिथ्यता रहन्छ भने, अभिभावक, विद्यार्थी, वडाभित्र रहेका २१ वटा टोलविकास समितिका प्रतिनिधि, अन्य विद्यालयका प्रअ सहित शिक्षकहरुको सहभागिता रहने उनले बताए ।
विद्यालयमा नर्सरी देखी कक्षा १० सम्म अध्यापन गरिनेछ । विद्यालयमा एक हजार पाँच सय ३४ विद्यार्थी अध्ययनर रहेको प्रिन्सिपल सुवेदीले बताए ।