हेटौंडा \ आर्थिक मन्दीको चपेटामा परेको यस अवस्थामा पनि दर खाने नाममा प्रहरी प्रशासनदेखी स्कुल क्याम्पस सम्मलाई छपक्कै तीज लागेको पाइयो । पछिल्लो समय भड्कीलो हुदै गएको तीज र दर खाने कार्यक्रम यस वर्ष पनि उत्तिकै गतिमा अगाडी बढेको छ ।
महिलाहरुको पर्व हरितालिका तीजको अवसरमा दर खाने दिन आउनु पूर्व अगाडी देखिनै विभिन्न संघसंस्थाले तीजको शुभकामना आदानप्रदानको नाममा दर खाने कार्यक्रम राखेका थिए ।
मकवानपुरको सन्दर्भमा तीज लक्षित कार्यक्रम गर्न जिल्ला प्रहरी कार्यालय पनि अछुतो रहेन । भर्खर आएका प्रहरी प्रमुख बामदेव गौतमले महिला प्रहरीलाई थप उर्जा मिलोस् भन्दै महिला मन्त्री तथा जनप्रतिनिधि र महिला राजनितिकर्मीहरुको उपस्थितीमा तीज विशेष कार्यक्रम र दर खाने कार्यक्रम सम्पन्न गरेको छ ।
प्रहरी कार्यालय मात्रै नभइ हेटौंडा क्याम्पस, मकवानपुर क्याम्पस लगायत विभिन्न कलेजहरुमा तीज विशेष कार्यक्रम गरेको छ । सहकारी, गैरसरकारी संघसंस्था, टोलविकास संस्था, राजनितिक दलका भातृ संगठनहरुले पनि तीजकै अवसरमा दर खाने कार्यक्रम आयोजना गरेका थिए ।
खासमा आज हो दर खाने दिन । तर एक महिना अघिदेखी तीज कार्यक्रम र दर खाने नाममा फजुल खर्च मात्र होइन कि तीजलाई भड्कीलो बनाउदैं आइरहेको अहिले अवस्था देखिन्छ । महिला दिदीबहिनीको उपस्थितीमा शुभकामना आदानप्रदान गर्ने बाहानामा दर खाने र भड्कीलो तीज मनाउने गरिरहेको अहिलेको अवस्था रहेको छ ।
मुख्य दर खाने दिनमा दर खाएर भोलीपल्ट व्रत बस्ने परम्परा रहेता पनि नेपालमा पछिल्लो केहि वर्षदेखी भने तीजलाई देखासिकी गर्ने, गरगहना प्रदर्शन गर्ने, फजुल खर्च व्यापक गर्ने जस्ता क्रियाकलाप बढी हुने गरेको देखिन्छ ।
दर खानेमा नाममा केही कार्यक्रममा पेयपदार्थ समेत खाइ कार्यक्रम गरिने गरेको पाइन्छ । यस्ता क्रियाकलापले समाजमा विकृति फैलिनुका साथै तीज परम्परालाई अझ भड्कीलो बनाउने तर्फ उन्मुख हुनेछ । समाजमा यस्ता क्रियाकलापले तीज पर्वको रौनक घट्दो क्रममा रहेको देखिन्छ ।