हेटौंडा \ जिल्ला बचत तथा ऋण सहकारी संघले शुक्रबार अर्थात मार्च ८ नारी दिवसको अवसरमा १०१ सहकारी अभियान्ता नामक पुस्तक विमोचन गर्ने भएको छ । विहीबार संघको कार्यालयमा पत्रकार सम्मेलन गर्दै विश्व नारी दिवसको अवसर पारेर मकवानपुरमा लामो समयदेखी सहकारी अभियान लागेका सहकारीकर्मीहरुको संघर्षको कथा पुस्तकमा समेटिएको संघका अध्यक्ष कल्पना श्रेष्ठले बताईन् ।
संघले नारी दिवसमा विभिन्न कार्यक्रम गर्दै विभिन्न क्षेत्रका महिलाहरुलाई सम्मान गर्दै आइरहेको थियौं यसवर्ष भने सहकारीकर्मी दिदीबहिनीहरुको भूमिकाको कथावस्तु समेट्दै पुस्तक प्रकाशन गरिएको बताइन् । पुस्तकमा सहकारीका अध्यक्ष, व्यवस्थापक र सहकारीकर्मीहरुको वृतान्त समेटिएको छ, ५० जनाको आत्मकथा राखेका छौं, अध्यक्ष श्रेष्ठले भनिन् । पुस्तकमा भने एक सय भन्दाबढी सहकारीकर्मीहरुको विवरण राखिएको छ ।
उक्त पुस्तकबाट अन्य सहकारीकर्मीहरुलाई उत्प्रेरणा मिल्ने विश्वास संघको रहेको छ । कोही भन्दा कोही कम नभएको अवस्थाले पुस्तकको नाम १०१ राखिएको अध्यक्ष श्रेष्ठले बताईन् । एक हजार थान प्रकाशन गरिएको पुस्तकको मुल्य पाँच सय राखिएको छ । पाँच लाख खर्चमा प्रकाशन गरिएको पुस्तक प्रकाशनलाई प्रदेशको संस्कृति, पर्यटन तथा सहकारी मन्त्रालय, हेटौंडा उपमहानगरपालिका, ईन्द्रसरोवर गाउँपालिका, राष्ट्रिय वीमा संस्थान लगायत संघसंस्थाहरुको सहयोग रहेको जनाइएको थियो ।
पत्रकार सम्मेलनमा अध्यक्ष श्रेष्ठ सहित उपाध्यक्ष मीना कुमारी चौरेल, सचिव वीरेन्द्र प्रसाद ढुङ्गाना, सहसचिव विजय बस्नेत, कोषाध्यक्ष विष्णुमाया लामा लगायत समितिहरुको सहभागिता रहेको थियो ।