हेटौंडा / हेटौंडा भेट्रान्स क्लबको आयोजनामा हेटौंडामा भएको नवौं राष्ट्रिय हेटौंडा भेट्रान्स कप ८ ए साइड रनिङ्ग शिल्र्ड फुटबल प्रतियोगिताको उपाधि बानेश्वर फ्रेन्डसिप भेट्रान्स क्लबले हात पारेको छ । शनिबार हेटौडा ५ क्याम्पा रंगशालामा सम्पन्न फाइनल खेलमा किङ्गकम भेट्रान्स क्लब काठमाडौंलाई १–० गोलअन्तरले पराजित गर्दै बानेश्वरले उपाधि हात पारेको हो । खेलको पहिलो हाफमा बानेश्वरका जर्सि नम्बर ८ का हरिहर थापा ‘झलक’ ले गोल गर्दै टिमलाई अग्रता दिलाउनु भएको थियो । खेलको अवधि भर विपक्षी टिम किङ्गकम भेट्रान्स क्लबले कुनै पनि गोल गर्न नसकेपछि खेल बानेश्वरले जितेको हो । बानेश्वरका तर्फबाट झलकले खेलको १३ औं मिनेटमा गरेको गोल नै निर्णयक बन्न पुगेको थियो । खेलमा उपाधिसहित बानेश्वरले एक लाख ११ हजार १ सय ११ रुपैयाँ तथा रनिङ्ग शिल्ड मेडल र प्रमाणपत्र प्राप्त गर्न सफल भएको छ भने उपविजेता किङ्गकमले ५५ हजार ५ सय ५५ रुपैयाँ सहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।
फाइनल खेलको म्यनअफ द म्याच गोलकर्ता झलक घोषित हुनुभएको थियो । उहाँलाई प्रतियोगिताको उत्कृष्ट फरवार्ड उपाधिसंगै नगद ५ हजार रुपैयाँ र शिल्ड प्रदान गरिएको थियो । प्रतियोगिताको उत्कृष्ट गोल रक्षक बानेश्वरका प्रदिप तण्डुकार, उत्कृष्ट डिफेन्स महेन्द्र विश्वास खवास, उत्कृष्ट कोच आर्दश मल्ल घोषि हुनु भएको थियो । प्रतियोगिताको उत्कृष्ट मिड फिल्डर किङ्ग कमका विपिन शाह घोषित हुनुभएको थियो । विधागत तर्फबाट उत्कृष्ट घोषित हुनुभएको खेलाडीहरुलाई नगद ५ हजार रुपैयाँ सहित शिल्ड प्रदान गरिएको थियो । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी किङ्गकमका जगतमान लामा घोषित भइ नगद १० हजार रुपैयाँ र शिल्ड प्राप्त गर्नुभएको थियो ।
विजयी खेलाडीहरुलाई पुरस्कार प्रदान गर्नुहुँदै हेटौंडा उपमहानगरपालिकाकी प्रमुख मीना कुमारी लामाले खेलकुद प्रतियोगितहरु स्वास्थ्य र राष्ट्रका लागि महत्वपूर्ण सावित भएको बताउनुभयो । पछिल्लो समय युवा पुस्ताहरुमा खेलकुद प्रति आकर्षण बढिरहेकाले हेटौंडा उपमहानगरपालिकाले खेलकुद क्षेत्रको विकासलाई महत्व दिएर काम गरिरहेको बताउनुभयो । हेटौंडा उपमहानगरपालिकाले खेलकुद क्षेत्रको विकास र खेलाडीहरु उत्पादनका लागि फुटबल एकेडेमी स्पापना गर्न प्रत्रmिया अघि बढाएको उहाँको भनाई छ । स्वस्थ्यका लागि खेलिने भेट्रान्स प्रतियोगितामा उपमहनगरपालिकाले विषेश रुपमा सहयोग गर्दै आएको उहाँले बताउनुभयो ।
गत फागुन २२ गतेदेखि संचालन भएको प्रतियोगितामा देशभरका १९ वटा टिमको सहभागिता रहेको थियो । ४५ वर्ष उमेर समुहभन्दा माथिका खेलाडी सम्मिलित उक्त टिमहरुमा ५० वर्ष उमेरका २ जना खेलाडी अनिवार्य हुनुपर्ने व्यवस्था गरिएको थियो । क्लबका कार्यवाहक अध्यक्ष नवराज बज्राचार्यको अध्यक्षतामा सम्पन्न प्रतियोगिताको फाइनल खेलमा हेटौंडा उपमहानगरपालिकाका प्रमुख लामा सहित प्रमुख प्रशासकीय अधिकृत रामबाबु पुरी, हेटौंडा उपमहानगरपालिका वडा नम्बर १ का अध्यक्ष सविन न्यौपाने, हेटौंडा–५ का अध्यक्ष सुशिल घिमिरे, हेटौंडा–६ का अध्यक्ष विष्णु बहादुर दाहाल, हेटौंडा–७ का अध्यक्ष दामोदर गौतम, हेटौंडा–८ का अध्यक्ष राम थापा, हेटौंडा–९ का अध्यक्ष शुकराम केसी, जिल्ला खेलकुल विकास समिति मकवानपुरका अध्यक्ष वेष खड्गी, मकवानपुर जिल्ला फुटबल संघका अध्यक्ष टिका लामा लगायतको उपस्थिती रहेको थियो ।