हेटौंडा \ मकवानपुर जिल्ला दुग्ध उत्पादक सहकारी संघको मंगलबार ३० औँ वार्षिक साधारण सभा भएको छ । संघका अध्यक्ष हरिप्रसाद कंडेलको सभाध्यक्षता तथा प्रदेश सहकारी विकास बोर्डका कार्यकारी उपाध्यक्ष नारायण प्रसाद देवकोटाको प्रमुख आतिथ्यता रहेको थियो ।
सभामा दुधको भुक्तानी र दुध विक्रीको विषयमा चर्चा भएको थियो सभामा सहभागि वक्ताहरुले दुधको भुक्तानीमा भएको ढिलाई र दुध विक्रीमा कमी हुँदै गएको विषयमा बृहत आवाज उठाइएको थियो । संघका अध्यक्ष कंडेलले प्रतिवेदन प्रस्तुत गर्दै संघको समस्या नियमित दुध विक्रीमा कमी आउनु र दुधको भुक्तानी समयमा नआउनु भनेपछि उक्त विषयको चर्चा भएको हो ।
चरणबद्ध आन्दोलन पश्चात केन्द्रीय संघ र सरकारबीच भएको सम्झौतामा पनि जिल्ला संघले केही बुँदामा असहमति जनाएको अध्यक्ष कंडेलले बताए । प्रारम्भिक दुग्ध उत्पादक सहकारी संस्थाहरु लक्षित विभिन्न कार्यक्रमहरु गरिदै आएको बताउँदै स्थानीय तहदेखि प्रदेश सरकारसम्म संस्था र किसानलाई यान्त्रिक उपकरण अनुदान र लिटर अनुदान उपलब्धताको लागि आवश्यक पहल गरिएको उनले बताए ।
सभामा सहकारी बोर्डका कार्यकारी उपाध्यक्ष नारायण प्रसाद देवकोटाले दुध विक्रीमा कमी आउनुमा खुला सिमानाको कारण रहेको बताए । उनले राज्यले भारतीय बजारबाट अवैध रुपमा आएका दुग्धजन्य पदार्थ रोक्नुपर्ने बताएका थिए । उद्योगीहरुको समस्या पहिचान गरी किसानको भुक्तानी समयमा गराउन आवश्यक पहल गरिएको भन्दै सहकारी र किसानलाई आवश्यकताका आधारमा अनुदान दिने प्रणालीको विकास गर्दा थप प्रभावकारी देखिने बताए ।
सभामा संघका व्यवस्थापक कुमारमणी दाहालले संघको आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । उनले आव २०७९/८० मा संघ र सिधै उद्योग गएको दुध गरी एक करोड ३८ लाख ७२ हजार ६०७ लिटर दुध खरिद गरेको बताए । उक्त दुधबापत ९७ करोड ३६ लाख ५७ हजार ८९४ रुपैयाँ सदस्य संस्थामा भूक्तानी गरिएको जनाइएको छ । संघले १३ लाख ११ हजार २२१ रुपैयाँ खुद नाफा गरेको व्यवस्थापक दाहालले बताए । उनले आव ०८०/८१ को अनुमानित आम्दानी खर्च विवरण समेत प्रस्तुत गरेका थिए ।
एक करोड १३ लाख शेयरपुँजी रहेको संघमा एक करोड २६ लाख ७२ हजार ३८० रुपैयाँ जगेडा कोष रहेको प्रतिवेदनमा उल्लेख छ । ४४ वटा दुग्ध चिस्यान केन्द्र सञ्चालन गरेको संघको कार्यालयमा ७५ हजार लिटर दुध भण्डारण क्षमता रहेको छ । संघद्धारा सञ्चालित दुग्ध प्रशोधन तथा विविधिकरण उद्योगबाट विभिन्न दुधजन्य पदार्थहरु उत्पादन गरी विक्री वितरण गर्दै समेत आइरहेको छ ।
सभामा केन्द्रीय दुग्ध सहकारी संघका सदस्य विदुर हुमागाई, संघका निवर्तमान अध्यक्ष बासुदेव अधिकारी, सल्लाहकार खीलाप्रसाद चौलागाई, राष्ट्रिय सहकारी बैंकका प्रमुख रामेश्वर अर्याल, जिल्ला सहकारी संघका व्यवस्थापक गोविन्द दाहाल, लेखा समिति संयोजक वीरबहादुर गोलेलगायतको आतिथ्यता रहेको थियो ।