हेटौडा / उपभोक्ता हित संरक्षण मञ्च मकवानापुरले उपभोक्ता अधिकारका क्षेत्रमा काम गरेका पत्रकारसहित कर्मचारीलाई सम्मान प्रदान गरेको छ । मार्च १५ ‘विश्व उपभोक्ता अधिकार दिवस’ को अवसरमा बिहिबार एक कार्यक्रम आयोजना गर्दै मञ्चले ७ पत्रकार र २ कर्मचारीलाई सम्मान गरेको हो ।
पत्रकारिताका माध्यमबाट उपभोक्ता अधिकारका क्षेत्रमा काम गरेका ७ पत्रकारलाई मञ्चले सम्मान गरेको हो । मञ्चले नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष मणिराज गौतम, नेपाल पत्रकार महासंघ मकवानपुरकी उपाध्यक्ष सरला अधिकारी, रातोपाटी डटकमका गणेश दुलाल, नेपाल पत्रकार महासंघ मकवानपुरका सहसचिव एमपी शर्मा, रेडियो मकवानपुरका स्टेशन प्रमुख गणेश दर्पण अधिकारी, कान्तिपुर टिभीका सुजन पुडासैनी, रेडियो मनहरीका शिवकुमार काशीलाई सम्मान गरेको हो । पत्रकारिताका माध्यमबाट उपभोक्ताहरुलाई अधिकारका विषयहरुमा सुशुचित गर्न तथा बजार व्यवस्थापनमा भुमिका खेलेको भन्दै मञ्चले पत्रकारहरुलाई मायाको चिनोले सम्मान गरेको हो ।
त्यस्तै मञ्चले मकवानपुरका सहायक प्रमुख जिल्ला अधिकारी झेरन्द्र चापागाई र उद्योग वाणिज्य भुमि तथा प्रशासन मन्त्रालयकी उद्योग अधिकृत टिका शर्मालाई सम्मान गरेको हो । सरकारी निकायबाट उपभोक्ता हित संरक्षणका लागि नीतिगत सुधारसंगै कानुनी प्रक्रिया पुरा गरी उपभोक्ताहरुको अधिकारका सवालमा काम गरेको भन्दै मञ्चले सम्मान गरेको हो । जिल्लामा रहेर उपभोक्ताहरुको अधिकारलाई सुनिश्चित गर्न सरकारी निकाय मार्फत् कानुन कार्यान्वयन गर्न उनीहरुले भुमिका खेलेकाले सम्मान गरिएको मञ्चले जनाएको छ ।
हेटौंडा उपमहानगरपालिकाकी मेयर मीनाकुमारी लामाको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै मेयर लामाले सरकारको पहलले मात्र उपभोक्ता हित तथा संरक्षणका अधिकारले पुर्णता नपाउने बताउनुभयो । उपभोक्ता स्वयं आफ्ना अधिकारहरुमा सचेत हुन जरुरी रहेको उहाँले बताउनुभयो । विकाससंगै रैथाने परिकार र स्थानीय उत्पादनहरु लोप हुँदै गएको उहाँले टिप्पणी गर्नुभयो । विकास र समृद्धिका नाममा नागरिकहरु परनिर्भर बन्दै गएको उहाँको भनाई छ ।
उहाँका अनुसार नागरिकहरुलाई स्थानीय उत्पादन र प्रयोगमा जोड्न जरुरी रहेको छ । सोही अनुसार हेटौंडा उपमहानगरपकालिकाले विभिन्न योजनाका साथ काम गरिरहेको उहाँले बताउनुभयो । उपमहानगरपालिका नागरिकको स्वास्थ्य र अधिकारका विषयमा गम्भिर रहेर काम गरिरहेको उहाँको भनाई छ । नागरिकहरुको अधिकारका सवाललाई प्राथमिकतामा राखेर उपमहानगरपालिकाले खाद्य परिक्षण ल्याब स्थापना गरि क्षेत्राधिकार भित्र बजार अनुगमन तथा नियमनलाई तिव्र बनाएको उहाँले बताउनुभयो ।
कार्यक्रममा बोल्दै सहायक प्रमुख जिल्ला अधिकारी चापागाईले उपभोक्ता हितका क्षेत्रमा सबैले एकजुटद भएर काम गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो । उहाँले आम नागरिक मात्र नभएर सबै व्यक्तिले उपभोक्ता हित सम्बन्धी कानुनको बारेमा जानकारी लिन जरुरी रहेको बताउनुभयो । सरकारले विभिन्न कार्यक्रम संचालन गरी उपभोक्ता ठगिन र उहाँहरुको स्वास्थ्यमा प्रतिकुल असर पर्ने गरी भएका कामलाई रोक्न तर्फ अग्रसरता देखाउनु पर्ने बताउँनुभयो ।
कार्यक्रमका बोल्दै उपभेक्ता हित संरक्षण मञ्चका उपाध्यक्ष बासु खतिवडाले सरकारले उपभोक्ता अदालत स्थापना गरेर काम अघि बढाउनु पर्ने बताउनुभयो । सरकारले उपभोक्त अदालत स्थापनाको नीति अबलम्बन गरेपनि कार्यान्वयनमा भने आउन नसकेको भन्दै उहाँले शिघ्र सो अदालत स्थापना गरि काम अघि बढाउन माग गर्नुभयो । उपभोक्तको अधिकारलाई कुन्ठित बनाउने काम गर्ने व्यवसायी तथा उत्पादकहरुलाई राज्यले अनुगमन तथा नियमन गरी कानुनी दायरामा ल्याउन जरुरी रहेको उहाँको भनाई छ ।
उनका अनुसार उद्योग तथा बस्तु उत्पादनको अनुमती दिने, अनुगमन तथा नियमन गर्ने निकायले अभियोजन दर्ता गर्ने नेपालको परिपाटी बदल्नु पर्नेछ । अनुमती दिने निकायले नै अनुगमन तथा नियमन र अभियोजन दर्ता गर्दा कार्य सम्पादनमा नै प्रश्न चिन्ह खडा भइरहेको उहाँले बताउँनुभयो । उहाँले उपभोक्ता अधिकार सम्बन्धी कानुनहरु परिमार्जन गरी गलत क्रियाकलाप सम्बन्धी कसुरको दण्ड सजायलाई पनि परिमार्जन गरेर अघि बढ्नुपर्ने बताउँनुभयो ।