हेटौडा / राष्ट्रिय भूमि आयोग मकवानपुरले एक सय २४ जनालाई जग्गाधनी पूर्जा वितरण गरेको जनाएको छ । शुक्रबार हेटौंडामा पत्रकार सम्मेलन गरि आयोग गठन भएको यो अवधिमा एक सय २४ जनालाई जग्गाधनी पूर्जा वितरण गरेको जनाएको हो । आयोगले बागमती गाउँपालिकाका ४ र बकैया गाउँपालिकाका २ गरि ६ जना भूमिहिन दलितलाई जग्गाधनी पूर्जा प्रदान गरेको छ ।
आयोगले बागमतीका ३५ र बकैयाका ९ गरि ४४ भुमिहिन सुकुम्बासीलाई जग्गाधनी पूर्जा वितरण गरेको छ । त्यस्तै, हेटौंडा उपमहानगरपालिकाका ६९ र बागमती गाउँपालिकामा ५ गरि ७४ अव्यवस्थित बसोबासीलाई पूर्जा समेत वितरण गरेको भूमि आयोग मकवानपुर अध्यक्ष विष्णुप्रसाद दाहालले बताउनु भयो । भूमिहिन दलित र सुकुम्बासीलाई निःशुल्क र अव्यवस्थित बसोबासीलाई जिल्ला समितिको निर्णयले निर्धारण गरेको राजस्व दाखिला गराई पूर्जा वितरण गर्दै आएको उहाँले बताउनु भयो ।
राष्ट्रिय भूमि आयोगको सूचना प्रणालीमा मकवानपुरका स्थानीय तहले तिन सय ४० भूमिहिन दलित, दुई हजार दुई सय ६० भूमिहिन सुकुम्बासी, १४ हजार ६ सय ५० अव्यवस्थित बसोबासी र सट्टाभर्ना २ जना गरि १७ हजार २ सय ५२ निवेदनको तथ्यांक प्रविष्ट गरेको आयोगका विज्ञ सदस्य अर्जुनप्रसाद चौलागाईले बताउनु भयो । जग्गा दर्ता तथा पूर्जा वितरणका लागि बकैयाँ गाँउपालिकाबाट ४३ भूमिहिन दलित तथा सुकुम्बासीको विवरण स्वीकृत भएर आएको जनाइएको छ । आयोगले हेटौंडाको वडा नम्बर ११, ९ र ७ को ८ सय भन्दा बढि, बागमतीको १, २ र ६ को एक सय ४० भन्दा बढिलाई पुर्जा वितरणको तयारी भईरहेको छ भने बकैयाँ गाँउपालिकामा नापनक्सा कार्य भइरहेको जनाएको छ ।
जिल्ला समन्वय समितिका प्रमुख ललित घलानको प्रमुख आतिथ्यता एवं भूमि आयोग मकवानपुर अध्यक्ष विष्णुप्रसाद दाहालको सभाध्यक्षतामा कार्यक्रम भएको थियो । कार्यक्रममा आयोगका विज्ञ सदस्य अर्जुनप्रसाद चौलागाईं, सदस्य अरूण रायमाझी, जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत सरोज पौडेल, जिल्ला समन्वय अधिकारी सूर्यप्रसाद चापागाईं, वन कार्यालयका वन अधिकृत बसन्तराज गौतम, मालपोत कार्यालय मकवानपुरका प्रमुख ओमबहादुर अधिकारी,सचिव नापी कार्यालय मकवानपुरका प्रमुख खिमबहादुर राना लगायतको उपस्थिति रहेको थियोे ।