हेटौडा / दलित महिला संघ (फेडो) मकवानपुरले उद्यम विकास प्रवद्र्धनका लागि ५ कृषक समूहलाई बीउ पूँजी वितरण गरेको छ । शनिबार एक कार्यक्रमका बिच हेटौंडा उपमहानगरपालिकाका ५ कृषिक समूहलाई ४२ हजार रुपैयाँका दरले उद्यम विकास प्रवद्र्धनका लागि बीउ पूँजी हस्तान्तरण गरेको हो । फेडो मकवानपुरले हेटांंडा उपमहानगरपालिका वडा नम्बर–३ मा रहेको सफल दलित महिला समूह, हेटौंडा–६ मा रहेको उद्यमी दलित महिला समूह, हेटौंडा–९ को अनुग्रह दलित महिला समूह, हेटौंडा–११ को स्मारक दलित महिला समूह र हेटौंडा–१५ को चित्रेपानी दलित महिला समूहलाई ४२ हजार रुपैयाँका दरले उद्यम विकासका लागि बीउ पूँजी वितरण गरेको हो ।
दलित महिलाहरुको आर्थिक उत्थान तथा समाजिक रुपान्तरण गर्ने उद्देश्यका साथ उद्यम विकासका कार्यक्रम अन्तर्गत बीउ पूँजी रकम वितरण गरिएको फेडो मकवानपुरकी अध्यक्ष पवित्रा विश्वकर्माले जानकारी दिनुभयो । दलित महिला समूहमा आवद्ध सदस्यहरुको लागि विभिन्न पेशा तथा व्यवसायका लागि उक्त रकम खर्च गर्नेगरी बीउ पूँजी रकम वितरण गरिएको उहाँले बताउनुभयो । आर्थिक उपार्जनमा दलित महिलाहरुलाई सहभागि गराउँदै वित्तीय रुपमा सवल बनाउन फेडोले पञ्चवर्षे योजना अनुसार उक्त कार्यक्रम अघि बढाएको उहाँले बताउनुभयो । नेपालमा दलित महिला तथा किशोरीहरुको मानव अधिकार प्रवद्धर्न परियोजना अन्तर्गत फाउण्डेशन फर जस्ट सोसाइटी (एफजेएस)को सहयोगका उक्त कार्यक्रम संचालन गरिएको उहाँले बताउनुभयो ।
उहाँका अनुसार रिफण्डेबल कोषको रुपमा समूहले सिफारिस गरेको सदस्यलाई कृषि, व्यवसाय, हस्तकाला, घरेलु उद्योग लगायतका क्षेत्रमा लगानी गर्ने गरी उपलब्ध गराइने छ । समूहका सदस्यले सम्झौता अनुसार रकम लिएको एक महिना भित्र व्यवसायीक योजना अनुरुप काम सुरु गरिसक्नु पर्ने प्रवधान रहेको उहाँको भनाई छ । जिल्लामा ३४८ जना सदस्यहरुलाई १० वटा समूहमा विभाजन गरी कार्यक्रम कार्यान्वयन गरिएको उहाँले बताउनुभयो । अन्य ५ समूहलाई छिट्टै नै कार्याक्रम अन्तर्गत सहभागि गराउने तयारी भइरहेको उहाँको भनाई छ ।
कार्यक्रममा वडा प्रहरी कार्यलय सानोपोखराका प्रहरी निरीक्षक दाताराम अधिकारी,हेटौंडा–६ का वडा सदस्य मुना विक,वडा नम्बर ३ का वडा सदस्य देवकी बिक,वडा नम्बर ९ का वडा सदस्य सुनिता दर्नार,वडा नम्बर ११ का वडा सदस्य गिता सुनार,वडा नम्बर १५ का वडा सदस्य मिनु बिक,पत्रकार महासंघ मकवानपुरका अध्यक्ष मणिराज गौतम, फेडो जिल्ला संयोजक बिमला विस्वकर्मा,बिभिन्न संचारमाध्यमका प्रतिनिधिहरुको सहभागीता रहेको थियो ।