हेटौडा / चलचित्र ‘महाजात्रा’ लाई प्रिमियरमा उत्कृष्ट प्रतिक्रिया प्राप्त भएको छ । प्रिमियरमा चलचित्र हेर्ने पुगेकाहरुले यसलाई ‘जात्रा’ शृङ्खलाकै उत्कृष्ट चलचित्र भन्ने प्रतिक्रिया दिएका हुन् । प्रिमियरमा सहभागी कलाकर्मीले मिडिया र सोसल मिडियामार्फत चलचित्र हलमै गएर हेर्न दर्शकहरुलाई आग्रह समेत गरेका छन् । प्रदीप भट्टराईको लेखन तथा निर्देशन रहेको चलचित्रमा हरिवंश आचार्य , विपिन कार्की, रवीन्द्रसिंह बानियाँ, रवीन्द्र झा, वर्षा राउत, अरविन खड्का, दिव्य देव, राजाराम पौडेल लगायतका सम्पूर्ण कलाकारको अभिनयको तारिफ भएको छ । प्रिमियरमा अभिनेता मदनकृष्ण श्रेष्ठ, सन्तोष पन्त, किरण केसी, जीतु नेपाल, निर्मल शर्मा, दयाहाङ राई, अभिनेत्री निशा अधिकारी, केकी अधिकारी, ऋचा शर्मा, दीपाश्री निरौला, गायक प्रकाश सपूत, निर्देशक रामबाबु गुरुङ,पुर्नेन्दु झा, सौरभ चौधरी, प्रचण्डमान श्रेष्ठ, अभिनेता गजित विष्ट, सुशील श्रेष्ठ, अरुण क्षेत्री, मोडल आश्मा विश्वकर्मा लगायतका सेलिब्रेटीले चलचित्र हेरेर प्रतिक्रिया दिएका छन् ।
अभिनेता मदनकृष्ण श्रेष्ठले चलचित्र हेरिरहदा समय वितेको पत्तै नपाएको बताए । उनले चलचित्रको विषयवस्तु, प्राविधिक पक्ष, कलाकारको अभिनय र संदेशको खुलेर तारिफ गरेका छन । चलचित्र राम्रो र रमाइलो बनेको छ परिवार एकसाथ बसेर हेर्ने चलचित्र बनेको छ’,अभिनेता श्रेष्ठले भने । अभिनेत्री तथा निर्देशक दीपाश्री निरौलाले निर्देशक भट्टराईबाट अपेक्षा गरिने मनोरञ्जनात्मक र संदेशमुलक चलचित्र बनेको प्रतिक्रिया दिईन् । ‘चलचित्र हेरिरहदा एउटा मात्र पक्षलाई तारिफ गर्न सकिदैन । किनकि समग्रमा नै राम्रो बनेको छ । कलाकारहरुले पनि निकै मेहनत गरेका छन् । उनीहरू रेगुलर देखिरहने भन्दा फरक देखिएका छन्’, अभिनेत्री निरौलाले भनिन् ।
अभिनेत्री निशा अधिकारीले ‘जात्रा’ शृङ्खलाबाट बढिरहेको अपेक्षालाई आइरहेको चलचित्रले पुरा गरेको बताइन । ‘हामीले लिएर आउने अपेक्षालाई जात्रा टिमले महाजात्रासम्म आइपुग्दा पनि घट्न दिएको छैन, पुरा भएको छ उनले बताईन । यसको कथा, पटकथा, संवाद सबै उत्कृष्ट छ । यो एक हेर्नै पर्ने चलचित्र बनेको छ । नेपालसँगै विश्वभर एकसाथ भव्य रुपमा रिलिज हुने महाजात्रा जस्ता फिल्मले हाम्रो बजार बढाउन र विस्तार गर्न मदत गर्छ । यो धित मर्ने फिल्म बनेको छ’, अभिनेत्री अधिकारीले भनिन् । गायक तथा अभिनेता प्रकाश सपूतले समसामयिक विषयवस्तुमा सुन्दर चलचित्र बनाएको भन्दै निर्माण पक्षलाई धन्यवाद दिए । ‘जात्रा देखि नै बनिरहेको शृङ्खलामा मनोरन्जनसँगै जीवनका सबै रङ्गहरू समेटिएका छन् । एकदमै हास्न पाइन्छ, रुन पाइन्छ, विचार समेटिएको छ, एउटा दर्शकले चलचित्र हेर्दा जे–जे खोज्छ त्यो सबै समेटिएको छ उनले बताए ।
अभिनेत्री केकी अधिकारीले चलचित्र हेरिरहदा ‘बलिदान’ फिल्मको हरिवंश आचार्यको याद आएको प्रतिक्रिया दिईन् । ‘जात्राका पात्रहरूसँगै थपिएका पात्र पनि महत्वपूर्ण छन् । यहाँ अनुहारका लागि मात्र अभिनय गराइएको छैन । मैले हेरुञ्जेल कतैपनि दिक्क फिल गरिन्, म दर्शकलाई पनि चलचित्र हलमा स–परिवार हेर्न आग्रह गर्छु’, अभिनेत्री अधिकारीले भनिन् । अभिनेता तथा हास्य कलाकार जीतु नेपालले चलचित्र मार्फत राजनीतिज्ञले संदेश पाउने बताए । चलचित्र पूर्ण प्याकेज बनेको छ । एउटा पक्ष मात्र राम्रो भएर चलचित्रले यत्तिको तारिफ पाउदैन । यो प्रिमियरमा उपस्थित सबैले तारिफ गरेका छन् । दर्शकले छुटाउन नहुने चलचित्र बनेको छ’, कलाकार नेपालले भने ।
अर्का हास्यकलाकार किरण केसीले चलचित्रले सम्पूर्ण वर्गका दर्शकलाई आकर्षित गर्ने बताए । ‘यो फिल्म परिवार नै बसेर हेर्न मिल्छ । यसले फिल्मी शैलीमा दिएको संदेश महत्वपूर्ण छ । अभिनेत्री ऋचा शर्माले समय सान्दर्भिक र दर्शकले हेर्न चाहेको कुरा चलचित्रमा पाएको बताइन । ‘हलमा केही संवादमा सिठ्ठी र ताली बज्नेमा विश्वस्त छु । प्रिमियरमै हामी पात्रको सुखदुःखसँग जोडिएका थियौँ । यसमा कडा म्यासेज, हसाइ हसाइ दिनुभएको छ । हामीले शब्दमा व्याख्या गर्नु भन्दा पनि दर्शकले हलमै गएर हेर्नु भयो भने बढी पाउनु हुनेछ’, अभिनेत्री शर्माले भनिन् । अभिनेता हरिवंश आचार्यले लेखिएको भन्दा प्रिमियरमा हेरेको चलचित्र राम्रो बनेको प्रतिक्रिया दिए । ‘मैले भन्दै आइरहेको कुरा नै आज चलचित्रहेरेपछि सबैले भन्नु भयो । स्क्रीप्ट राम्रो भएपछि निर्देशक भट्टराईले मन हास्ने चलचित्र बनाउछन् भन्नेमा आशावादी थिएँ, अहिले सबैले त्यहि भन्दा डबल हर्षित छु’, अभिनेता आचार्यले भने ।
अभिनेत्री वर्षा राउतले सबैले दिएको प्रतिक्रियाले आफूलाई दंग बनाएको बताइन । ‘म आज टिम भएर चलचित्र हेर्दा र प्रतिक्रिया बटुल्दा निकै उत्साहित छु । अब दर्शकसँग चलचित्र हेर्न निकै उत्सुक छु । चलचित्रको पात्रसँग हलमा रहेका दर्शकहरू कनेक्ट भएको पाउदा म निकै खुसी छु’, अभिनेत्री राउतले भनिन् । अभिनेता विपिन कार्कीले ‘जात्रा’ र ‘जात्रै जात्रा’ भन्दा बढी मनोरञ्जन ‘महाजात्रा’ मा पाउने दावी गरे । ‘अघिल्ला शृङ्खला भन्दा बढी माया पाउनेमा विश्वस्त छु । मलाई हिरो बनाएको र चिनाएको चलचित्रनै जात्रा शृङ्खला हो । यो मेरो करिअरलाई अगाडि बढाउने चलचित्र हो । जात्रा झैँ महाजात्राले पनि मलाई नयाँ उचाईमा पु¥याउने छ’, अभिनेता कार्कीले भने । लेखक तथा निर्देशक भट्टराईलेचलचित्रले प्राप्त गरिरहेको प्रतिक्रियाले डर भागेको बताए । ‘हामीलाई मन परेर र राम्रो लागेर नै चलचित्र बनाएका थियौँ । हाम्रो प्रस्तुतीकरणमा आज प्रिमियरमा फरक ठाउँ र फरक वर्गका दर्शकले उत्कृष्ट छ भन्नु हुँदा हाम्रो टिम र समुहलाई विश्वास गरेर हलसम्म आउने दर्शकको पैसा र समयको सदुपयोग हुन्छ । जात्रामा हामीले तीन साथीको कथा भनेका थियौँ भने यसपटक राष्ट्रिय विषयलाई पनि जोडेका छौँ’, निर्देशक भट्टराईले भने ।
निर्माता म्याक्स दीपेश खत्रीले नेपालसँगै विश्वभर ‘महाजात्रा’ चैत ९ मा प्रदर्शन हुने जानकारी दिए । ‘मध्यपूर्वका देशमा मार्च २८ मा प्रदर्शन हुँदैछ । अन्य ठाउँमा हाम्रो शोहरू खुलिसकेका छन् भने अष्ट्रेलियाको राजधानी क्यानबेरामा पहिलो शो ‘सोल्ड आउट’ भईसकेको छ । साथै, साउदी अरेबियामा पहिलोपटक नेपाली फिल्मको रुपमा महाजात्रा प्रदर्शन हुँदैछ’, निर्माता खत्रीले भने । प्रदीप भट्टराईको लेखन तथा निर्देशनमा तयार भएको फिल्म संयुक्त राज्य अमेरिका र क्यानाडामा नाम्लो इभेन्ट्स र कोसेली कोलोराडो, मिडलइस्ट अन्तर्गतका देशमा कन्सेप्ट भिजन र सुप्रिम फिल्म प्रोडक्सन एण्ड डिस्ट्रिव्युसन, युरोप अन्तर्गतका देशमा एनएमटी डेनमार्क, जापानमा आन्वी इन्टरटेनमेन्ट्स, कोरियामा विशाल आवाज मल्टिमिडिया प्राली, न्युजिल्यान्डमा लाखे इभेन्ट्स र अष्ट्रेलियामा स्वयम् एमएसएम इन्टरटेनमेन्टस् र रोटे पिङले चलचित्रलाई वितरण र प्रदर्शन गर्दैछ ।
यो चलचित्र मार्च २८ देखि साउदी अरेबियामा प्रदर्शन हुँदैछ । पहिलोपटक कुनै नेपाली चलचित्र साउदी अरेबियामा प्रदर्शन हुन् लागेको हो । आपतकालीन रुपमा आइपर्ने पैसा व्यवस्थापन गर्ने अवसर र त्यसले निम्त्याउने समस्यालाई रोचक शैलीमा प्रस्तुत गरिने ‘महाजात्रा’मा हरिवंश आचार्य, विपिन कार्की, रविन्द्रसिंह बानियाँ, वर्षा राउत, अर्जुनजंग शाही, प्रकाश घिमिरे, राजाराम पौडेल, प्रवीण खतिवडा, दिव्यदेव, सुमन कार्की, शिशिर बाङ्देल, गौमाया गुरुङ, अरविन खड्का लगायतको अभिनय रहेको छ । चलचित्रमा म्याक्स दीपेश खत्री र यज्ञश्वर पौडेल निर्माता छन् ।