थाहा \ एक साता अगाडि ह्याप्पी हाईकर्सको ७५ जनाले यात्रा गरेको शिखरकोट–सिमभञ्ज्याङ पदमार्गमा चैत्र ११ गते चन्द्रागिरी हाईकिङ कम्युनिटिका ३५ जनाको टोलीले पदयात्रा गरेका छन् । चन्द्रागिरी हाईकिङ कम्युनिटिका सदस्यहरु चैत्र १० गते चन्द्रागिरीबाट पैदल चित्लाङ-बिसिङखेल-कुन्छाल-ओखरबजार हुँदै शिखरकोटमा बास बसी ११ गते बिहान शिखरकोटबाट स्थानीय ४ जनासमेतको सहभागितामा जम्मा ३९ जनाको सहभागितामा पदयात्रा सुरु गरि शिखरकोट धारापानी हुँदै ऋषेश्वर खोला रमणीय जंगलको बाटो हुँदै ऋषेश्वर मन्दिर दर्शन गरी दामनको पर्वतीय उद्यानमा लालिगुँरास लगायतको फूल तथा वनस्पति अवलोकन गरेर दामनको भ्यु टावरबाट हिमालको दृष्यावलोकन सहित पदयात्रा सम्पन्न भयो ।
यस पदमार्गको परिकल्पना थाहा नगरका युवा फोटापत्रकार गणेश विष्टले परिकल्पना गरेको हुन् । विष्टका अनुसार थाहा नगरको धेरै पदमार्गहरु मध्ये शिखरकोट सिमभञ्ज्याङ पदमार्गले धेरै सम्भावना बोकेको छ । स्थानीय सरकारले ध्यानमा राखे यहाँ पर्यटकको ओइरो लाग्थ्यो । स्थानीय होटल व्यवसायीहरुले सेवाको मूल्यमा एकरुपता र सेवामा ध्यान दिए रुट दीर्घकालीन रुपमा चल्छ । चन्द्रागिरी हाईकिङ कम्युनिटिका अध्यक्ष प्रसन्न गोपालीका अनुसार यस पदमार्गको यात्रा निकै रोमाञ्चक भएको बताउनुभयो । उहाँले शान्त प्राकृतिक वातावरण यो पदमार्गको विशेषता भएको बताए ।
स्थानीय सरकारले चासो दिएर पथ संकेत, बाटोमा डस्वीन, ठाँउ ठाँउमा सूचना बोर्ड राखेमा पर्यटनको चहलपहल बढ्ने चन्द्रागिरी हाईकिङ कम्युनिटिका अभियान्ता प्रकाश गोपालीले बताए । उनले थाहाको पर्यटकीय विकासको लागि चन्द्रागिरी हाईकिङ कम्युनिटिका हरपल साथ रहने पनि बताए ।
यस पदमार्ग शिखरकोटबाट धारापनीको पुरानो बस्ती हुँदै ऋषेश्वर जंगल र खोलाको बाटोले छुट्टै प्राकृतिक आनन्द लिन सकिन्छ । यसैबीच हिन्दु र बौद्ध धर्म मान्नेहरुको समान आस्थाका केन्द्र ऋषेश्वर महादेवको दर्शन, धार्मिक चुलो, तारेभिर अवलोकन पश्चात् मकवानपुर जिल्लाको सबैभन्दा अग्लो स्थान २ हजार ४८८ मिटर उचाइमा रहेको सिमभञ्ज्याङ बजार, सिमभञ्ज्याङमै रहेको कृतिम ताल र ताल आसपाका विभिन्न प्रजातिका गुराँस अवलोकन, दामनको पर्वतीय वनस्पति उद्यानमा वनस्पतिसँगै गुराँस अवलोकन, नेपालकै पहिलो भ्युटावर जहाँबाट नेपालको १४ भन्दा बढी हिमश्रृङ्खलाको दृष्यावलोकनसँगै दामनबाट ओराले लाग्दै नयाँगाउँ हुँदै यो पदयात्रा करिव १९ किलोमिटर दुरी पार गर्दै पुनः शिखरकोट आईपुगेपछि समापन हुनेछ ।
संघीय राजधानी काठमाडौं र बागमती प्रदेशको राजधानी हेटौंडाबाट करिव २ घण्टा बराबरको दुरीमा रहेको थाहा नगरले सहरको भीड, कोलाहलबाट रिफ्रेस हुने उपयुक्त गन्तव्यको रुपमा छुट्टै स्थान बनाएको छ ।