हेटौडा / नेपाली चलचित्र जगतका तीन सुपरस्टारहरू आर्यन सिग्देल, प्रदीप खड्का र पल शाहको अभिनय रहेको चलचित्र ‘पुजार सार्की’को अहिले बजारमा व्यापक चर्चा भइरहेको छ । यसैबिच निर्देशक दिनेश राउतले अभिनेता पल शाहको पात्र चिनाउने फोटो सार्वजनिक गरेका छन् । यसअघि प्रदीप खड्का र आर्यन सिग्देलको पात्र कस्तो हुन्छ भन्ने सार्वजनिक भइसकेको थियो । निर्देशक राउतले पलको नाम ‘मेघराज खत्री’ रहेको जनाउँदै पात्र परिचय दिने फोटो सार्वजनिक गरेका हुन् । फोटोमा शाह काँधमा बन्दुक बोकेर नदी किनारामा हिँडिरहेका देखिन्छन् । शिरमा भादगाउँले टोपी लगाएका उनले बाहुला नभएको कोट, कमिज र पाइन्ट लगाएका छन् । फोटोले उनी सामाजिक क्रान्तिको लागि हतियार उठाउन बाध्य भएको युवकको परिचय दिएको छ ।
निर्देशक राउतले यो चलचित्रलाई जातीय विभेद विरुद्ध समाजका तीन पात्रहरूले गर्ने साझा सङ्घर्षको कथा रहेको बताएका छन् । उनले मेगराजले के कस्तो सङ्घर्ष गर्नुपरेको छ, त्यो थाहा पाउन प्रतीक्षा गर्न दर्शकलाई आग्रह गरेका छन् । राउतले केही दिनमा चलचित्रको आधिकारिक रिलिज मिति तोक्ने जनाएका छन् । यो चलचित्रलाई समीक्षात्मक तथा व्यावसायिक दुवै हिसाबले उत्कृष्ट बनाउने योजनामा निर्देशक राउत छन् । यो चलचित्रलाई विकास सुवेदीले लेखेका छन् । यसअघि विकास र दिनेशले चलचित्र ुप्रकाशमा सहकार्य गरेका थिए । चलचित्रमा अभिनेत्री द्वय अन्जना बराइली र परीक्षा लिम्बुले पनि प्रमुख भूमिकामा अभिनय गर्दैछन् । बराइलीले यसअघि चलचित्र ‘महापुरुष’मा अभिनय गरेकी थिइन् । परिक्षाले ‘जारी’ र ‘छक्का पन्जा ४’मा अभिनय गरेकी छन् । साथमा, मोहन निरौला, लोकेन्द्र लेखक, सुवास गजुरेल, विद्या कार्की, तारा शर्मा, शङ्कर आचार्य, प्रेम सुब्बा, गोविन्द रमण पराजुली, राजेश बिसुराल लगायतको अभिनय रहनेछ ।
दर्शकको रोजाइका तीन स्टारहरू एकसाथ चलचित्रमा आउन लागेको खबर बाहिरिएदेखि नै पुजार सार्की चर्चामा रहँदै आएको छ । यो चलचित्रले दर्शकमा छोड्ने छाप पनि स्मरणीय हुने अपेक्षा गरिएको छ । प्रसाद ुक्लासिक,नोभेम्बर रेनु,प्रकाश लगायतका सफल चलचित्रका निर्देशक राउतले हालसम्म दर्शकलाई निराश बनाएका छैनन् । उनले यस चलचित्रलाई विषयगत र व्यापारिक दुवै दृष्टिकोणबाट ब्लकबस्टर बनाउन घनिभूत लागेका छन् । चलचित्रलाई सङ्गीतकार सुवास भुसालले निर्माण गरेका छन् । एक दर्जन चलचित्रमा सङ्गीत दिएका भुसालले पहिलो पटक चलचित्र निर्माण गरेकाहुन ।