मकवानपुर \ झरना साहित्यिक परिवार (झसाप) मकवानपुरले मोरङका मुक्तककार बाबुराम पोखरेललाई सम्मान गरेको छ । पोखरेललाई रु. १५,५५५ राशिको ‘शिव–सावित्री अधिकारी स्मृति साहित्य सम्मान’ ले सम्मान गरिएको हो । यसअघि सार्वजनिक भएका उत्कृष्ट १० मुक्तकारहरूमध्ये ज्ञानदीप शिक्षा निकेतन माविकी छात्रा आकाङ्क्षा निरौला सर्वोत्कृष्ट हुनु भएको छ । संस्थाले उहाँलाई ५ हजार ५ सय ५५ नगद राशिको ‘शिव–सावित्री मुक्तक पुरस्कार’ र प्रमाणपत्रले सम्मान गरेको छ । प्रतियोगितात्मक कार्यक्रममा साहित्य सर्जक पुरूषोत्तम आचार्य र अमृता लामिछानेले निर्णायकको भूमिका निभाउनु भएको हो ।
टिकटमा मुक्तक कार्यक्रमअन्तर्गत डडेल्धुराकी पार्वती भट्ट, स्याङ्जाकी अमृता पोख्रेल, धादिङकी निर्मला स्नेहीका साथमा मकवानपुरका स्रष्टाहरू सानु खनाल र दीपक गौतमले ६÷६ वटा मुक्तकहरू वाचन गर्नुभयो । मन्तव्यका क्रममा झसापका संस्थापक अध्यक्ष तथा पुरस्कार संस्थापक रमेशमोहन अधिकारीले भन्नुभयो– “कतिपय लेखकहरूले आर्थिक क्षमताका बाबजुद पनि धेरै स्रोतहरूबाट सङ्कलन गरी निकै दुख र कष्टका साथ पुस्तक प्रकाशन गरेको हुन्छ । यस अवस्थामा पुस्तक छापिइसकेपछि पुरस्कार दिनुभन्दा पान्डुलिपिमै पुरस्कार दिने परम्परा बसाउन सके पुस्तक प्रकाशन गर्नमा हौसला मिल्न सक्छ ।” बकैया गाउँपालिका अध्यक्ष धर्मराज लामिछानेले भन्नुभयो– “हामीले देश र जनताको उन्नतिका बारेमा पनि लेख्नुपर्छ ।
खरायो र कछुवाको कथाको प्रसङ्ग सुनाउदै समयमै सबैले बुझे मात्रै देश विकास हुने छ ।” कार्यक्रममा साहित्य सर्जकहरू भावना सापकोटा, राजकुमार लामिछाने, सागर तिमल्सिना, डिबी बर्तौला, निमेष निखिल, रामकुमार एलन, सुबास सजल, छवि अनित्य, मञ्जु मैनाली, भवानी तिमल्सिना, दिनेश शर्मा आदिको उपस्थिति रहेको थियो ।
झसाप अध्यक्ष विश्वनाथ सञ्जेलको अध्यक्षतामा सञ्चालित ३०२ औँ साहित्य शृङ्खलाको अवसरमा आयोजित कार्यक्रममा बकैया गाउँपालिका अध्यक्ष धर्मराज लामिछाने प्रमुख अतिथि रहनु भएको थियो । मकवानपुर बहुमुखी क्याम्पसको सभाहलमा सञ्चालित कार्यक्रमलाई झसाप सचिव मसान उपासकले सहजीकरण गर्नु भएको हो ।