प्रदीप भट्टराईको लेखन तथा निर्देशनमा बनेको चलचित्र 'महाजात्रा’ शुक्रबारबाट प्रदर्शनको चौथो सातामा प्रवेश गर्दै छ। चैत्रको ९ गतेबाट प्रदर्शनमा आएको चलचित्रलाई दर्शकले झनै उत्साहजनक रूपमा साथ दिइरहेको देखिन्छ । तेस्रो सातामा चलचित्रले बक्स अफिसमा बम्पर व्यापारलाई कायमै राखेको छ ।
दुई सातामा १० करोड १४ लाख ग्रस कलेक्शन गरेको चलचित्रले तेस्रो सातामा करिब ४ करोडको व्यापार गरेको छ । नयाँ वर्षमा पनि चलचित्रले हलमा राम्रो शोज पाएको छ । दर्शकको बाक्लो उपस्थिति झनै बढेका कारण यो चलचित्र अझै केही साता हलमा चल्नेछ । जसको फाइदा यसको व्यापारिक आँकडामा थप हुँदै जाने देखिन्छ । यता, यो चलचित्र ब्लकबस्टर समेत हुन पुगेको छ । चलचित्रले नेपाली बक्स अफिसमा मात्र होइन, ओभरसिजमा पनि आक्रामक कमाई गरिरहेको छ ।
निर्माण पक्षले दिएको जानकारी अनुसार चलचित्र महाजात्रा’ले तेस्रो सातासम्म नेपाली बक्स अफिसमा १४ करोड र ओभरसिजमा ९ करोड कमाई गरेको बताइएको छ ।
चलचित्र 'महाजात्रा’बाट निर्देशक प्रदीप भट्टराईले 'शत्रु गते’ले कमाएको १४ करोडको व्यापारको आँकडा तोड्ने पक्का भएको छ । यस्तै, यो वर्ष सर्वाधिक कमाई गर्ने चलचित्रमा ‘जारी’ पर्दछ, यता ‘महाजात्रा’को व्यापारिक रफ्तार हेर्दा यो रेकर्ड ब्रेक हुने देखिन्छ । ‘जारी’ ले करिब साढे १७ करोड ग्रस कलेक्शन गरेको थियो । अब, ‘महाजात्रा’लाई यो रेकर्ड ब्रेक गर्नका लागि साढे ३ करोड माथिको ग्रस कलेक्शन आवश्यक छ ।
तीन पात्रले जीविकोपार्जनका लागि गर्ने सङ्घर्ष, विभिन्न अवरोधमा टिकेको मित्रता र उनीहरूको गरिबीले डगमगाउन नसकेको नैतिकतालाई प्रस्तुत गरिएको फिल्ममा फडिन्द्र (विपिन कार्की), जोयश (रवीन्द्रसिंह बानियाँ) र मुन्ना (रवीन्द्र झा) बीचको मित्रतालाई देखाइएको छ । तीन पात्रले जीविकोपार्जनका लागि गर्ने सङ्घर्ष, विभिन्न अवरोधमा टिकेको मित्रता र उनीहरूको गरिबीले डगमगाउन नसकेको नैतिकतालाई कमेडी शैलीमा प्रस्तुत गरिएको छ ।
चलचित्रमा हरिवंश आचार्य, वर्षा राउत, दिव्य देव, अर्जुनजंग शाही, प्रकाश घिमिरे, राजाराम पौडेल, प्रवीण खतिवडा, सुमन कार्की, शिशिर वाङ्देल, गौमाया गुरुङ, अरविन खड्का लगायतको अभिनय रहेको छ ।
षट्कोण आर्ट्सको प्रस्तुति रहेको चलचित्रलाई म्याक्स दीपेश खत्री र यज्ञश्वर पौडेलले संयुक्त रूपमा निर्माण गरेका हुन् । चलचित्र ‘महाजात्रा’को टिमले वि.सं २०८२ सालको दशैंमा नयाँ चलचित्र रिलिज गर्ने घोषणा गरिसकेको छ ।