हेटौंडा / बागमती प्रदेशको खानेपानी उर्जा तथा सिंचाइ मन्त्री एका लाल श्रेष्ठले देश विकासको काम नेकपा एमालेको नेतृत्वमा मात्रै हुने बताउनु भएको छ । भीमफेदी गाउँपालिका -४ वडा कमिटीको आयोजनामा विहिवार भएको वडा भेलालाई सम्बोधन गर्नुहुदै मन्त्री श्रेष्ठले जनताको आवश्यकता पूरा गर्न एमाले सधै अघि बढ्ने बताउनुभयो ।
नेकपा एमाले नेतृत्व सरकारको समयमा देशमा थुप्रै विकासका कामहरुको सुरुवात भएको बताउदै मन्त्री श्रेष्ठले एमालेको सरकार हट्ने बित्तिकै अर्को सरकारले ती सबै योजनाहरु कटौती गरेको बताउनुभयो । बागमती सरकारमा पनि पुर्व मुख्यमन्त्री डोरमणी पौडेल नेतृत्वले प्रदेश गौरवको आयोजनाको रुपमा भीमफेदी कुलेखानी सुरुङ्ग बनाउने गरि बजेट विनियोजन गरेकोमा समाजवादी नेतृत्व सरकार आउने बित्तिकै ती योजना काट्ने काम भएको भन्दै नेकपा एमाले बाहेकको सरकार देश विकासको लागि नभई भ्रष्टाचार गर्न मात्रै बन्ने गरेको बताउनुभयो ।
एमाले नेतृत्वले कस्तो काम गर्छ भन्ने हेर्न भीमफेदी गाउँपालिकाको काम हेरे पुग्ने उहाँले बताउनुभयो । नेकपा एमालेसँग भिजन छ, देश विकास गर्ने इच्छा रहेको मन्त्री श्रेष्ठले बताउनुभयो । उहाँले पार्टीले मिसन ८४ लिएर अघिबढेकोले २०८४ मा नेकपा एमालेले बहुमत हासिल गर्ने किसिमबाट लाग्न सबै कार्यकर्तालाई निर्देशन दिदै भन्नुभयो,तपाईंहरु पार्टीको मिसनमा लाग्नुस,भीमफेदी बलियो बन्नाउने जिम्मा तपाईहरुको हो। हामी आआफ्नो ठाउँमा रहेर पार्टीको काममा लागौं र जनताको समस्या समाधानमा सधै सचेत बन्नुहोला ।
भीमफेदी -४ कमिटीका अध्यक्ष सुर्य बहादुर भोम्जनको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा एमालेका पोलिटब्युरो सदस्य देवी ज्ञवाली, बागमती प्रदेश कमिटी सदस्य तथा संघीय निर्वाचन क्षेत्र २ का इन्चार्ज बलराम बल, नेकपा एमाले मकवानपुरका सहसचिव एवं भीमफेदी गाउँपालिका अध्यक्ष हिदम लामा, प्रदेश कमिटी सदस्य भगवती पुडासैनी, भीमफेदी गाउँपालिका कमिटी अध्यक्ष सानू थापा मगर, पालिका सचिवालय सदस्य तथा ४ नम्बर वडा अध्यक्ष सागर पाण्डे लगाएतको उपस्तिथि रहेको थियो ।
मन्त्री श्रेष्ठद्वारा जामे मस्जिदमा ईदको शुभकामना
बागमती प्रदेशका खानेपानी उर्जा तथा सिंचाइ मन्त्री एका लाल श्रेष्ठले इस्लाम समुदायमा मनाइँदै गरिएको ईद(उल फित्र पर्वका अवसरमा हेटौंडाको जामे मस्जिद पुगेर इस्लाम समुदायलाई शुभकामना दिनुभएको छ । मन्त्री श्रेष्ठले इस्लाम धर्मका अनुयायीहरुमा सुख, शान्ति एवम् सुवास्थ्यका लागि शुभकामना व्यक्त गर्नुभएको ।
नेपाल मुस्लिम इत्तेहाद संगठनको आयोजनामा भएको शुभकामना आदनप्रदान कार्यक्रममा मन्त्री श्रेष्ठले हाम्रो देश बहुजातीय, बहुभाषिक र बहुधार्मिक एवं बहुसांस्कृतिक विविधतायुक्त रहेको भन्दै भौगोलिक विविधता अनुसार कला, संस्कृति र परम्पराहरु पनि बहुआयामिक भएको बताउनुभयो । नेपालमा हिन्दु, बौद्ध, इस्लाम तथा इसाई धर्मावलम्बीहरुबीच उच्चस्तरिय सहिष्णुता कायम रहेकोले हाम्रो समाज उत्कृष्ट भएको समेत बताउनुभयो ।