हेटौंडा / भीम विराग संगीत, साहित्य कला प्रतिष्ठान मकवानपुरले प्रत्येक वर्ष प्रदान गर्दै आएको बिजुली माया वनः श्रेष्ठ संगीत राष्ट्रिय पुरस्कार यस वर्ष गीतकार राजेन्द्र थापालाई प्रदान गरिएको छ । बिहिबार हेटौँडामा विशेष कार्यक्रमको आयोजना गर्दै प्रतिष्ठानले १५ औं संस्करणक अन्तरगत १ लाख पुरस्कार राशिको बिजुली माया वनः श्रेष्ठ संगीत राष्ट्रिय पुरस्कार थापालाई प्रदान गरिएको हो । पुरस्कार कार्यक्रमका प्रमुख अतिथि बरिष्ठ गीतकार नगेन्द्र थापा, साहित्यकार एलबि क्षेत्री,मन्जु थापा,गायिका शुसिला मानन्धर लगाएतले गीतकार थापालाई नगद सहित दोसल्ला ओडाएर सम्मान गर्नु भएको थियो । यस्तै भीम विराग युवा सङ्गीत पुरस्कार २०७९ बाट चर्चीत गायिका निशा देसारलाई नगद २५ हजार सहित दोसल्ला ओडाएर सम्मान गरिएको थियो ।
प्रतिष्ठानले २०६४ सालमा स्थापना गरेको बिजुली माया वनः श्रेष्ठ संगीत राष्ट्रिय पुरस्कार बरिष्ठ साहित्यकार स्व.भीम विरागको स्मृति दिवसको अवसर पारेर प्रदान गरेको हो । पुरस्कार हेटौँडाका कुशल व्यवसायी, संगीतप्रेमी, समाजसेवी कन्हैयाकृष्ण श्रेष्ठले आफ्नी आमा बिजुलीमाया वनः श्रेष्ठको नामबाट स्थापना गर्नु भएको हो । पुरस्कार समर्पण कार्यक्रममा गीतकार थापाले आफूले रचना गर्नु भएको गीतहरुका बारेमा समेत चर्चा गर्दै यत्ति ठुलो राशिको पुरस्कारबाट आफुलाई सम्मान गरेकोमा प्रतिष्ठानप्रति आभार ब्यतm गर्नु भयो ।
गीत लेखनको पाँच दशकभन्दा लामो यात्रामा थापाका गीतमा ६० भन्दा बढी सङ्गीतकारले सङ्गीत भरेका छन् भने उहाँका शब्दमा आवाज भर्ने गायकगायिकाहरूको संख्या ८० भन्दा बढी रहेको छ । पोहोर साल खुसी फाट्दा,पर लैजाऊ फूलहरू,यो मन त तलाउ हो,लगायतका कालजयी गीतका सर्जक थापाको लेखनको उच्च कदर गर्दै भीम विराग संगीत, साहित्य कला प्रतिष्ठान मकवानपुरले यो बर्ष उहाालाई सम्मान गरेको अध्यक्ष केशबलाल श्रेष्ठले बताउनु भयो ।
यसअघि यो पुरस्कार बाट बरिष्ठ गीतकार संगीतकार अम्बर गुरुङ, प्रेमध्वज प्रधान , भक्तराज आचार्य ,फत्तेमान राजभण्डारी,शान्ति ठटाल,दीप श्रेष्ठ,प्रकाश श्रेष्ठ,न्हुच्छेबहादुर डङ्गोल,मीरा राणा,कर्म योञ्जन, चेतन कार्की,दावा ग्याल्मो,दीपक जङ्गम, किरण प्रधान लाई प्रदान गरिएको थियो । वरिष्ठ कलासाधक कवि एवं गीतकार भीम विरागको व्यक्तित्वप्रति सम्मानस्वरूप भाषा साहित्य र कला क्षेत्रको संरक्षण एवं संवद्र्धन गर्ने उद्देश्यले २०५९ सालमा स्थापना भएको प्रतिष्ठानले साहित्य संगीत सांस्कृतिक र कला क्षेत्रमा योगदान र्पुयाउने विभिन्न क्षेत्रका व्यक्तिलाई विभिन्न १२ वटा पुरस्कार समेत प्रदान गर्दै आएको प्रतिष्ठानका अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो ।