हेटौडा / नेपाली कांग्रेस बागमती प्रदेशका सभापति इन्द्रबहादुर बानियाँले अब पार्टीभित्र शुद्धीकरणमा जोड दिनुपर्ने बताउनु भयो । कांग्रेस मकवानपुरले मंगलबार हेटौडामा आयोजना गरेको जिल्ला स्तरीय प्रशिक्षक प्रशिक्षणलाई सम्बोधन गर्नुहुदै सभापति बानियाँले पार्टीभित्र आन्तरिक प्रतिस्पर्धाहरू स्वाभाविक रूपमा हुने भए पनि त्यसलाई जित र हारको रूपमा लिन नहुने उहाँको भनाइ थियो । बागमती प्रदेश सभाका सदस्यसमेत रहनु भएका उहाँले सिंगो पार्टी एकढिक्का भएर संगठन निर्माण गर्दै जनतासँग दरिलो सम्बन्ध स्थापनाका लागि क्रियाशील हुन कार्यकर्ताहरुमा निर्देशनसमेत दिनु भयो ।
उहाँले इतिहासदेखि नै सत्तामा बसेकाहरूले कांग्रेस पार्टीमाथि कुनै न कुनै रूपमा प्रहार गर्दै आएको बताउनहुदै नेपाली कांग्रेसको जन्म नै जनता माथि भएका अन्याय, अत्याचारविरुद्ध संघर्षका लागि भएको बताउनु भयो । अहिले सरकारमा बसेकाहरूले कांग्रेसमाथि अनेक आक्रमण गरिरहेको बताउनु हुदै उहाँले त्यस्तो प्रहारबाट कांग्रेसका नेता–कार्यकर्ता विचलित नभई जनताको पक्षमा रहन उहाँले आग्रह गर्नुभयो । जहानियाँ राणाशासनको दमनबाट पिल्सिएका जनतालाई न्याय, समानता र स्वतन्त्रता प्रदान गर्न कांग्रेसकै नेतृत्वमा संघर्ष भएको र २००७ सालमा मुलुकमा प्रजातन्त्र प्राप्त भएको चर्चा गर्दै उहाँले तत्कालीन राजा महेन्द्रले लादेको निरंकुश पञ्चायत ढालेर ०४७ सालमा बहुदलीय व्यवस्था पुनस्र्थापना गर्न पनि कांग्रेसले नै नेतृत्व गरेको बताउनु भयो ।
२०५२ देखि मानवता बिर्सिएर मान्छेले मान्छे मार्दै माओवादीले चलाएको हिंसा बिसाउँदै ०६२ सालमा शान्तिपूर्ण राजनीतिक मूलधारमा ल्याउन कांग्रेसले नै नेतृत्व गरेको भन्दै उहाँले जहिल्यै जनताका अधिकार कुण्ठित हुँदा कांग्रेसले संघर्ष गरेको इतिहास स्मरण गर्नु भयो । कांग्रेस सबैको अस्तित्व स्वीकार गर्ने पार्टी भएको भन्दै उहाँले राजा खोज्नेदेखि हतियारको बलमा सत्ता कब्जा गर्छु भन्नेहरूलाई पनि कांग्रेसले लोकतान्त्रिक चरित्रमा ढाल्न सफल भएको जिकिर गर्नु भयो । सहकारीको नाममा लाखौँ जनताका अर्बौँ रुपैयाँ लुटेकाहरू अहिले सरकारमा बसिरहेको भन्दै उहाँले लुटको निष्पक्ष छानबिन र जनतालाई न्याय दिलाउन कांग्रेसले निरन्तर संघर्ष गरिरहने बताउनु भयो । ‘देशभरका लाखौँ जनताको अर्बौँ रुपैयाँ सहकारीको नाममा लुटिएको छ । त्यस्तो लुटमा संलग्न व्यक्तिहरू नै अहिले सत्तामा छन् ।
त्यसैले कांग्रेसले निरन्तर संसदीय छानबिन समितिको माग गरिरहेको हो,’ उनले भने, ‘संसदीय छानबिन समिति बनाएर जनतालाई न्याय नदिलाएसम्म कांग्रेस रोकिनेछैन ।’ उनले कांग्रेस लोकतन्त्रप्रति प्रतिबद्ध रहेको भन्दै विगतमा कांग्रेस नेतृत्वको सरकारका पालाका अर्थमन्त्री जनार्दन शर्माको विषयमा छानबिन गर्न प्रतिपक्षी दलले आवाज उठाएपछि त्यसको सुनुवाइ गर्दै संसदीय छानबिन समिति गठन गरेको र मन्त्रीलाई राजीनामा गर्नसमेत लगाएको स्मरण गराए । ‘कांग्रेस सधैँ लोकतन्त्र र विधिको शासनप्रति प्रतिबद्ध छ। अहिले हामीले त्यही मागिरहेका छौँ । तर, अहिले सत्तामा रहेकाहरू आफैँले सहकारीको नाममा जनताको सम्पत्ति लुटेका छन्, अनि आफैँ अनुसन्धान गर्नुपर्ने निकायको प्रमुख बनेर अनुसन्धान प्रभावित गरिरहेका छन्,’ सभापति बानियाँले भने ।
मकवानपुरका पार्टी सभापति बुद्ध लामको सभाध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा प्रशिक्षक डा। शंकर तिवारी, मकवानपुरका पूर्व पार्टी सभापति रघुरमण न्यौपाने लगाएतले बोलेका थिए । कार्यक्रममा प्रशिक्षकहरु डा। गोविन्द पोखरेल, डा। डा। सुरेश आचार्य, राजु नेपाल, पार्टी मकवानपुरका पार्टी सभापति रामचन्द्र अर्याल माइकल लगाएत पार्टीका विभिन्न तहका नेता तथा भातृ र सुभेच्छुक संस्थाका प्रमुख एवं प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।