हेटौंडा \ हेटौंडा ५ पिप्ले स्थित जेनिथ सकेन्डरी विद्यालयका पूर्व प्राथमिक तहका विद्यार्थीहरु दीक्षित भएका छन् । शनिबार विद्यालयको सभाहलमा ग्राजुसेजन सेरोमोनी कार्यक्रममा उनीहरुलाई दीक्षित भएको प्रमाणपत्र प्रदान गरिएको थियो ।
२०८० मा युकेजी अध्ययनरत विद्यार्थीहरु अब पूर्व प्राथमिक तहबाट प्राथमिक तह प्रवेश गरेको भनी दीक्षित गरिएको विद्यालयले जनाएको छ । विद्यालयका संस्थापक रमिता पाण्डे, प्रिन्सिपल श्रीबहादुर कार्की, लेखा अधिकृत प्रिया पाण्डे, मावि तहका प्रमुख राजकुमार साह, पूर्व संस्थापक सदस्य सुनिता हाडालगायतको उपस्थिती रहेको थियो ।
कार्यक्रममा प्रिन्सीपल कार्कीले यी यस्ता कार्यक्रमले बालबालिकामा सकरात्मक सोच आउनुका साथै जोस, हौसला र पढाईमा समेत ध्यान दिने बताए । नर्सरी, एलकेजी र युकेजी अध्ययन पश्चातको कार्यक्रम रहेकाले सानो कक्षा देखिनै संस्कार सहितको अध्यापन गरिएको प्रिन्सिपल कार्कीले बताए ।
विद्यालयमा मान्यता प्राप्त क्याम्पसबाट अध्ययन गरेका र प्रशिक्षित भएका शिक्षकशिक्षिकाबाट अध्यापन गराई रहेका छौं, हाम्रो कलेजबाट अध्ययन गरी नेपाल टप समेत भएका छन्, कार्कीले भने ।
संस्थापक पाण्डे र प्रिन्सिपल कार्कीले विद्यार्थीलाई दीक्षित प्रमाण पत्र र टोपी लगाइदिएका थिए । कार्यक्रममा विविध सांस्कृतिक कार्यक्रम समेत गरिएको थियो ।