हेटाैंडा \ हेटौंडामा मानवसेवा आश्रम समर्पित हेटौंडा कला महोत्सव हुने भएको छ। सटर्डे प्लेन एयरको आयोजनामा जेठ ३ गते देखि ५ गतेसम्म हेटौंडा कला महोत्सव हुन लागेको शुक्रबार पत्रकार सम्मेलन गर्दै कला व्यवस्थापक दिवेश मान प्रधानले जानकारी दिए ।
कला महोत्सवमा सिद्धार्थ हल, भुटनदेवि मन्दिर, पुष्पलाल पार्क, सहिद स्मारक पार्कमा, चित्र कला प्रदर्शनी कार्यपत्र, चित्रकला सिर्जना, खुल्ला चित्रकला कार्यशाला कला संवाद लगायत कार्यक्रम हुने छन् ।
हेटौँडा उपमहानगर क्षेत्रका प्राकृतिक तथा सांस्कृतिक सम्पदाहरुसँग राष्ट्रिय र स्थानीय कलाकारहरुको प्रत्यक्ष साक्षात्कार गराई सिर्जनामूलक वातावरण बनाउने हेतुले यो महोत्सवको परिकल्पना गरिएको आयोजकले जानकारी दिएको छ ।
हेटौँडा उपमहानगरका प्रमुख ऐतिहासिक, साँस्कृतिक तथा पुरातात्विक सम्पदाहरुको प्राचीनता, मौलिकता र जीवन्तता कायम रहने गरी ललितकलाको माध्यमबाट तिनको संरक्षण र प्रवर्धनमा टेवा पुग्नु आयोजकको उद्देश्य रहेको छ।
प्रत्यक्ष रुपमा चित्रकला प्रदर्शनी करिब दुई हजार जनाले हेर्ने अनुमान आयोजकको छ भने कार्यशाला करिब ३ हजार जनाले साक्षात्कार गर्नेछ र सामाजिक संजाल मार्फत करिब ५० हजार जनाले अवलोकन गर्ने विश्वास विश्वास लिएको आयोजकको छ।
यस कला महोत्सवमा ख्याति प्राप्त वरिष्ठ कलाकार ५ र शनिवारीय कला अभियान (Saturday Plain Air) का २० जना र हेटौंडा मकवानपुरका स्थानीय २५ गरी कुल ५० जना कलाकारहरुको प्रत्यक्ष सहभागिता रहने छ। हेटौंडा उपमहानगरपालिका भित्र रहेका पुरातात्विक महत्वका सम्पदाहरुको चित्रकला मार्फत दस्तावेजीकरण हुनेछ ।
मानव सेवा आश्रमलाई सयोगार्थ हुन लागेको कार्यक्रमबाट उठेको रकम ५० प्रतिशत मानव सेवा आश्रमलाई हुने आयोजकले जनाएको छ। साढे ६ लाख खर्चको अनुमान गरिएको कार्यक्रममा ५ जना वरिष्ठ कलाकारको उपस्थिति रहने छ।
३ दिन सम्म चल्ने महोत्सवको जेठ ३ गते सिद्धार्थ माविको हलमा उद्घाटन भइ भुटनदेवी मन्दिर परिसर, पुष्पलाल पार्क हुँदै सहिद स्मारकमा खुल्ला चित्रकला कार्यशाला हुँदै समापन हुने छ।