हेटौँडा \ नेपाली प्रगतिवादी साहित्य लेखन, बामपन्थी राजनिती , पत्रकारिता लगायतका क्षेत्रमा विशिष्ट योगदान गर्नुभएका श्यामप्रसाद शर्माको स्मृतिमा निर्माण भएको स्मृति पार्क समुद्घाटन एवम् प्रतिमा अनावरण शुक्रबार हेटौँडा -१८ ,गुम्बाडाँडामा भएको छ । श्यामप्रसाद शर्मा स्मृति प्रतिष्ठानले प्रदेश सरकार पर्यटन, वन, उद्योग तथा वातावरण मन्त्रालयको आर्थिक सहयोगमा निर्माण गरेको हो ।
श्यामप्रसाद शर्माबारे गरिएको परिचर्चा कार्यक्रमका बीच बागमती प्रदेश सरकारका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले उद्घाटन तथा अनावरण गर्नुभएको हो । कार्यक्रममा प्रदेश सभा सदस्य मुनु सिग्देल, नेकपा एकीकृत समाजबादीका अध्यक्ष सूर्यचन्द्र न्यौपाने , साहित्यकारहरू घनश्याम घिमिरे, अनिता न्यौपाने ,पुरुषोत्तम आचार्य , छवि अनित्य , अरुण खतिवडालगायतले श्यामप्रसादबारे चर्चा गर्नुभएको थियो ।
त्यस्तै हर्नामाडी कला प्रतिष्ठानका अध्यक्ष हर्क रम्तेलले गुम्बाडाँडामा सांस्कृतिक बिम्बहरूलाई सजाउन पाउँदा खुसी लागेको बताउनु भयो । प्रतिमा अनावरण गरिएका श्यामप्रसादको २०७४ सालमा दैहिक जीवन समापन भएको थियो । श्यामप्रसाद प्रगतिशील लेखक सङ्घ नेपालको संस्थापक अध्यक्ष हुनुहुन्थ्यो । तत्कालीन मन्थली गाविस सोलिथुम मकवानपुरमा वि. स. १९८६ मा जन्मिनुभएको उहाँको लेखनी कविता बालगीत ,निबन्ध, गीत, राजनैतिक विषयका लेख, समालोचना, डायरी आदि आयाममा फैलिएको छ ।
२०२३ सालदेखि २०४७ सालसम्म कम्युनिष्ट राजनीतिमा रहेर २३ वर्षे भूमिगत जीवन बिताउनुभएको उहाँ नेपाली जनमानसमा लेखन, सङ्ठनकर्ता र सरल जीवनशैलीका कारण सधैँ स्मरणीय उहाँको स्मरण र सम्मानमा श्यामप्रसाद शर्मा स्मृति प्रतिष्ठानले स्मृति पार्क र प्रतिमा निर्माण गरेको हो। प्रतिष्ठानका सचिव सुवास खनालले सहजीकरण गर्नुभएको उक्त कार्यक्रममा संस्थाका उपाध्यक्ष इन्द्रप्रसाद नेपालको सभाध्यक्षता रहेको थियो । कार्यक्रममा बोल्दै मुख्य मन्त्री पाण्डेले पार्क र प्रतिमा स्थापना गर्नु महत्वपूर्ण हुँदाहुँदै पनि तिनीहरूलाई जीवन्त राख्नु महत्वपूर्ण कुरा हो र श्यामप्रसाद सबैभन्दा बढी उनका विचारहरूबाट जीवन्त छन् भन्ने धारणा राख्नुभएको थियो ।
प्रतिष्ठान सदस्य शङ्कर बानियाँले स्वागत गर्नुभएको सो कार्यक्रममा स्वास्थ्य अवस्था प्रतिकूल रहनुभएका प्रतिष्ठान अध्यक्ष कौशल पाण्डेको स्वास्थ्यलाभको कामना गरिएको थियो । साथै निर्माण उपभोक्ता समितिका अध्यक्ष रामबाबु खतिवडाले आर्थिक जानकारी प्रस्तुत गर्नुभएको थियो ।