हेटौँडा \ सामाजिक लोकतन्त्र अध्ययन केन्द्र हेटौँडाले एक साथ सात जना व्यक्तित्वहरुलाई सम्मान गरेको छ । आइतबार एक कार्यक्रमकाबीच केन्द्रले सम्मान गरेको हो । केन्द्रको दोस्रो जिल्ला अधिवेसन तथा चौथो साधारण सभाको अवसर पारेर विभिन्न क्षेत्रका व्यक्तित्वहरुलाई सम्मान गरेको हो ।
सम्मानितमा राजनीतिकज्ञ दीपक मल्ल र अधिवक्ता कृष्णप्रसाद न्यौपानेलाई प्रजातन्त्र सेनानी सम्मान २०८१बाट सम्मान गरिएको छ । यसैगरी सामाजिक सम्मान २०८१ बाट अधिवक्ता केशवप्रसाद काफ्ले, साहित्य रत्न वीपि सम्मान २०८१बाट देवराज खरेल, दीर्घ लेखन सम्मान २०८१ बाट राजबाबु पहाडी, मानव अधिकार सम्मान २०८१ बाट अप्सरा बस्नेत र नारी रत्न साहित्य सम्मान २०८१बाट मञ्जु खराल दाहाललाई सम्मानित गरिएको थियो ।
कार्यक्रममा वी.पिको अदालतमा बयान नामक कृति सार्वजनिकीकरण गरिनुका साथै दलभित्रको मुल्याङ्कन अभ्यास र नेतृत्वमा दिशाबोध विषयक विचार प्रवाह समेत गरिएको थियो । केन्द्रका अध्यक्ष कृष्णप्रसाद दाहालको सभाध्यक्षता तथा नेपाली काङ्ग्रेसकी सहमहामन्त्री महालक्ष्मी उपाध्याय डिनाको प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यक्रममा कृति माथी अधिवक्ता कृष्णप्रसाद भण्डारी र सुवासचन्द्र अधिकारीले सहजीकरण गरेका थिए । कार्यक्रममा संविधान सभा सदस्य प्रह्लाद लामिछाने, नेपाली कांग्रेस मकवानपुरका पूर्व सभापति रघुरमण न्यौपाने, युवा नेता आनन्दराम पराजुली, नेकपा एमालेका नेता ईन्द्र नेपाल लगायतले आफ्ना भनाई राखेका थिए ।
सम्मानित हुनेको तर्फबाट वरिष्ठ अधिवक्ता केशवप्रसाद काफ्ले र अप्सरा बस्नेतले आफ्नो भनाई राखेकी थिईन् । कार्यक्रममा मकवानपुरमा विभिन्न क्षेत्रका सामाजिक संघसंस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।