हेटौँडा \ हेटौँडामा मानवसेवा आश्रम समर्पित हेटौँडा कला महोत्सव भोलिबाट हेटौँडामा सुरु हुने भएको छ । सटर्डे प्लेन एयरको आयोजनामा ५ गतेसम्म हेटौँडा कला महोत्सव हुन लागेको कला व्यवस्थापक एंव संयोजक दिवेश मान सिंह प्रधानले सिधाखबरलाई बताए । कला महोत्सवमा सिद्धार्थ हल, भुटनदेवि मन्दिर, पुष्पलाल पार्क, सहिद स्मारक पार्कमा, चित्र कला प्रदर्शनी कार्यपत्र, चित्रकला सिर्जना, खुल्ला चित्रकला कार्यशाला कला संवाद लगायत कार्यक्रम रहने बताए ।
भोलि महोत्सवको उद्घाटन सँगै वरिष्ठ कलाकार सम्मानबाट हरिभजन मान सिंह प्रधान ललितकला सम्मान २०८१ प्रदान गरिने संयोजक प्रधानले बताए । कार्यक्रममा कार्यपत्र प्रस्तुति, कला संवाद र प्रत्यक्ष चित्रकला सिर्जना रहने जनाइएको छ ।
४ गते विहान भुटनदेवी मन्दिर परिसरमा खुल्ला चित्रकला कार्यशाला र भजन गायन कार्यतालिका छ, संयोजक प्रधानले भने । सोही दिन अपराह्न ४ बजे पछि पुष्पलाल पार्कमा चित्रकला कार्यशाला र साँस्कृतिक प्रस्तुति कार्यक्रम रहेको छ ।
त्यस्तै, अन्तिम दिन ५ गते कला भ्रमण अन्तरगत मनकामना डाँडा, पाथीभरा मन्दिर, गुम्बाडाँडा हर्नामाडी, मकवानपुरगढी दरवार क्षेत्रमा विहान ६ बजे भ्रमण तथा अवलोकन गरिने र दिउँसो २ बजे हेटौँडा स्मारकमा खुल्ला चित्रकला कार्यशाला, कला संवाद र महोत्सव समापन कार्यतालिका रहेको संयोजक प्रधानले सिधाखबरलाई भने । हेटौँडा उपमहानगरका प्रमुख ऐतिहासिक, साँस्कृतिक तथा पुरातात्विक सम्पदाहरुको प्राचीनता, मौलिकता र जीवन्तता कायम रहने गरी ललितकलाको माध्यमबाट तिनको संरक्षण र प्रवद्र्धनमा टेवा पुग्नु आयोजकको मुल उद्देश्य रहेको संयोजक प्रधानले बताए ।
प्रत्यक्ष रुपमा चित्रकला प्रदर्शनी करिब दुई हजार जनाले हेर्ने अनुमान आयोजकको रहेको छ भने कार्यशाला करिब ३ हजार जनाले साक्षात्कार गर्नेछ र सामाजिक संजाल मार्फत करिब ५० हजार जनाले अवलोकन गर्ने विश्वास आयोजकले लिएको छ ।
कला महोत्सवमा ख्याति प्राप्त वरिष्ठ कलाकार ५ जना र शनिवारीय कला अभियानका २० जना र हेटौँडा मकवानपुरका स्थानीय २५ गरी कुल ५० जना कलाकारहरुको प्रत्यक्ष सहभागिता रहने संयोजक प्रधानले बताए ।