हेटौंडा \ हेटौंडामा ट्रेड युनियन विकास र कार्यस्थानमा हुने श्रमिकको उत्पीडनको विरुद्धको अभियान कार्यक्रम भएको छ । शनिबार एक कार्यक्रमको आयोजना गर्दै युनिकम नेपाल मकवानपुर शाखाले उक्त कार्यक्रमको आयोजना गरेको हो ।
विश्वभर छरिएर रहेका विभिन्न पेशागत श्रमिकहरुको छाता संगठन युएनआई अन्र्तगत नेपालमा व्यापार क्षेत्रमा कार्यरत कर्मचारीहरुको हक हित, संरक्षण एंव संवद्र्धन गर्दै आइरहेको युनिकम नेपालले मकवानपुरका रहेका सदस्यलाई ट्रेड युनियन विकास र कार्यस्थानमा हुने श्रमिकको उत्पीडनका मुद्धाहरु, समस्याहरुका साथै सदस्यलाई थप उर्जा, सवल, दक्षता र क्षमता प्रदान गर्न कार्यक्रमको आयोजना गरिएको थियो ।
मकवानपुरका अध्यक्ष लेखनाथ गैह्रेको सभाध्यक्ष तथा मकवानपुर उद्योग वाणिज्य महासंघका उपाध्यक्ष प्रमोद सिं रानाभाटको प्रमुख अतिथ्यतामा कार्यक्रम भएको थियो । कार्यक्रममा युनिकमका केन्द्रीय अध्यक्ष गजेन्द्रबहादुर पौडेल, महासचिव एलएन दाहाल, कोषाध्यक्ष दुर्गा भट्ट, बागमती प्रदेश अध्यक्ष खेम चौलागाई, नेपाल वितरक महासंघका उपाध्यक्ष विजय कुमार श्रेष्ठ, डिलर एशोसियसन अफ मकवानपुरका अध्यक्ष पवन अग्रवाल, मउवा संघका सदस्य अनिल भक्त श्रेष्ठ,युनिकम नेपालको मकवानपुर संयोजक रमेश तिमल्सिना लगायतको आतिथ्यता रहेको थियो ।
कार्यक्रममा महासचिव एलएन दाहाल र केन्द्रीय अध्यक्ष पौडेलले युनिकम नेपालको बारे र ट्रेड युनियन विकास र कार्यस्थानमा हुने श्रमिकको उत्पीडनको बारे सहजिकरण गरेका थिए । साथै शक्ति समूहका पुर्व क्षेत्रीय संयोजक अस्मिता तामाङले कार्यस्थानमा हुने हिंसा र त्यसको रोकथामबारे सहजीकरण गरेकी थिइन् ।