हेटौँडा \ हेटौँडामा दुईदिने उच्च शिक्षाको वर्तमान सन्दर्भमा राष्ट्रिय सम्मेलन हुने भएको छ । बागमती प्रदेश विश्वविद्यालयको रुपमा विकसित गर्ने निर्णय भए अनुरुप मकवानपुर बहुमुखी क्याम्पसले जेठ ११ र १२ गते उच्च शिक्षाका चुनौतिहरुः रोजगारी सिर्जना, दिगोपन र कक्षा छाड्ने दर घटाउने मुल विषयमा राष्ट्रिय सम्मेलन हुन लागेको हो ।
पत्रकार सम्मेलनमा सम्मेलन बारे जानकारी दिँदै क्याम्पसका प्रमुख डा. यमबहादुर सिलवालले नेपालमा उच्च शिक्षाले सामना गरिरहेको मुख्य समस्यालाई सम्बोधन हुने गरि कार्यक्रम आयोजना गर्न लागेको बताए । दुई दिन सम्म रोजगारी अन्तरगत प्रतिस्पर्धी रोजगार बजारमा सफल हुनका लागि आवश्यक सीप र ज्ञानयुक्त जनशक्ति उत्पादन गर्ने, दिगोपनतर्फ दिगो विकासका अभ्यासहरुलाई मुल पाठ्यक्रममा समावेश गर्ने र सामूदायिक क्याम्पसहरुको दिगोपनाका आधारहरुको खोजी गर्ने र विद्यार्थीले बीचमै पढाई छाड्ने दर घटाउने र शैक्षिक सफलतालाई बढावा दिनका लागि थप समावेशी सिकाईको वातावरण सिर्जना गर्ने, रणनीतिहरु पहिचान र कार्यान्वयन गर्ने लक्ष्य लिइएको क्याम्पस प्रमुख सिलवालले बताए ।
कार्यक्रममा मध्यपश्चिमाञ्चल विश्व विद्यालयका उपकुलपति प्रा.डा ध्रुवकुमार गौतम र पूर्व उपकुलपति एंव विशव विद्यालय अनुदान आयोग नेपालका प्राविधिक सल्लाहकार प्रा.डा. हृदयरत्न बज्राचार्य लगायत अन्य प्रोफेसरहरुले आफ्ना अनुभव साटासाट गर्ने कार्यतालिका रहेको सिलवालले बताए ।
सम्मेलनमा विभिन्न विश्वविद्यालय, आंगिक क्याम्पस, सामूदायिक क्याम्पस र नीजि क्याम्पसका करिब तीन सय विद्यालयहरुको सहभागिता रहने प्रमुख सिलवालले जनाए । कार्यक्रममा करिब २० लाख खर्च हुने आयोजकको रहेको छ । कार्यक्रममा सहभागिहरुले खाना र आवासको लागि तीन हजार पाँच सय शुल्क तिर्नुपर्ने छ भने आवास नचाहिनेहरुले दुई हजार शुल्क तिर्नेुपर्ने जनाइएको छ ।
एभोकाडोमा हुने कार्यक्रमलाई मुख्यमन्त्री शालिकराम जम्कट्टेलले उद्घाटन गरिने छ भने कार्यक्रममा ३० वटा विज्ञहरुद्धारा अनुसन्धान प्रस्तुति रहने आयोजकले जनाएको छ । पत्रकार सम्मेलनमा क्याम्पस व्यवस्थापन समितिका उपाध्यक्ष अशोक शाक्य, सदस्य डा. कृष्णप्रसाद धिताल, सहायक क्याम्पस प्रमुख संगम चौलागाई, दिनेश विडारी, उत्तम अर्याललगायतको उपस्थिती रहेको थियो ।