हेटौंडा \ मकवानपुर उद्योग वाणिज्य संघको भ्रमण टोलीले डडेल्धुरा उद्योग वाणिज्य संघको कार्यालयमा गई छलफल कार्यक्रम गरेको छ । मउवा संघको तर्फबाट सत्र सदस्यीय भ्रमण टोली बिहीबार डडेल्धुरा उवासंघले डडेल्धुराको बागबजारस्थित कार्यालयमा आयोजना गरेको छलफल कार्यक्रममा आपसी अनुभव आदानप्रदानसहित छलफल गरिएको हो । मउवासंघका अध्यक्ष कृष्ण कुमार गुप्ताको नेतृत्वमा जेठ १ गतेदेखि जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित घलान, बागमती प्रदेशका मुख्यमन्त्रीका राजनैतिक सल्लाहकार डि.बि. ढकाल, नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य कृष्ण कटुवाललगायत संघका पदाधिकारी, सदस्य तथा कर्मचारीको सहभागिता रहेको थियो ।
छलफलमा मउवा संघका अध्यक्ष कृष्ण कुमार गुप्ताले उद्योगी\व्यवसायीका धेरै समस्याहरु साझा रहेको, उद्योगी \ व्यवसायीहरुको संस्थाप्रति धेरै अपेक्षा हुने, संघमा आवद्ध सदस्यहरुलाई सदस्यता नविकरणका लागि चालु आर्थिक वर्षदेखि करचुक्ता प्रमाणपत्रको प्रतिलिपि अनिवार्य पेश गर्नुपर्ने प्रावधान राखिएको, व्यवसायीका करका समस्याहरु आउने गरेको र समाधानको प्रयत्न गरेको बताउनु भएको थियो ।
साथै संघका निवर्तमान अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य कृष्ण कटुवालले यस पटक पश्चिमका पहाडी जिल्लाहरुको अध्ययन अवलोकन भ्रमणमा अघि बढेको, उद्योग\ व्यवसाय धरासायी हुँदा राजश्वमा धक्का लाग्ने र समग्रमा राज्यलाई नै प्रभाव पर्ने, आर्थिक मन्दी अन्तराष्ट्रिय तहमा भइरहेको युद्ध र हाम्रो देशको आन्तरिक कारणहरुले भइरहेको, कर्जा लिनबाट जोगिनुपर्ने स्थिति बनेको विषयमा छलफल गरिएको थियो ।
महासंघमा आर्थिक मन्दी, बैंकिङ समस्यालगायतका व्यवसायिक समस्याहरु समाधानको लागि विषय उठान गरिरहेको तीनै तहको सरकारस“ग निकट रही स्थानीय विकासको प्रयास गर्न आवश्यक रहेको, पर्यटन प्रवद्र्धनको सम्भावना रहेकाले डडेल्धुरामा पर्यटन आकर्षणका काम गर्न जरुरी रहेको, जसका लागि उवासंघले पनि प्रदेश र केन्द्र सरकार समक्ष प्रस्ताव लैजान सक्ने, पश्चिम सेतीको हाइड्रोले सडक, होटल, निर्माण सामग्री आदिको व्यापार बढ्न सक्ने, जलश्रोत सम्पन्न भएकाले पानीको व्यापारलाई सम्भावित बनाएको, नेपाल उद्योग वाणिज्य महासंघले ख, ग र घ वर्गमा रहेका उद्योग वाणिज्य संघहरुले मेला आयोजना गर्दा रु. एक लाख सहयोग गर्ने प्रावधान ल्याएको जस्ता भनाइ राख्नुभएको थियो ।
डडेल्धुरा उवासंघका कार्यवाहक अध्यक्ष दीपक बहादुर महताले केन्द्रीय सदस्य सम्मिलित भ्रमणले जिल्लाको विषयलाई केन्द्रसम्म पु¥याउने माध्यम बनेको, कमजोर उवासंघहरुलाई नेपाल उद्योग वाणिज्य महासंघले कार्यक्रम चलाउन मद्दत गर्नुपर्ने, हालसालै डडेल्धुरामा सडक १५-१५ मिटर विस्तारको कार्य भएकोमा विस्थापित हुनेहरुको अनुरोधका आधारमा विभिन्न निकायहरुसंग परामर्श चलाएको, विस्तारको असरले व्यवसायीहरु अन्यत्र पलायन हुँदा नयाँ बनेका सटरहरु खाली रहन थालेको, सडकहरुको स्तरोन्नति समयमै नहुँदा बर्षामा हिलाम्मे र हिउँदमा धुलाम्मे हुने गरेको, भएका पर्यटनले व्यापारलाई राहत दिनसक्ने अवस्था नसकेको, दाता निकायहरुसँग जिल्लाको विकासको सम्भावना समेटी सुझाव पेश गर्दै आएको, संस्थाको बलियो अवस्था नहुँदा व्यवसायीको समस्याहरु प्रति समर्पित भएपनि प्रतिनिधित्वको औचित्य माथि नै प्रश्न उठ्ने गरेको, कर कार्यालयबाट सहजिकरण भन्दा पनि नियमको बोझको कारण व्यवसायीहरुलाई मर्का परिरहेको, ढुवानी व्यवस्थापन असहज हुँदा मेलाहरुसमेत खर्चिलो र जटिल हुने गरेको, अस्थिर प्रदेश सरकारको कारण समस्या पर्ने गरेको बताउनु भएको थियो ।
छलफलमा डडेल्धुरामा जाडोमा माइनस पाँच डिग्रीसम्म पुग्ने तापक्रम बाँकी नौ महिना सन्तुलित रहने, प्रशिद्ध शक्तिपिठ एवम् मन्दिरहरु रहेको, अमरसिंह थापाले लडाइ गरेको ठाउँ भएको, जडिबुटीमा संभावना रहेको जिल्ला भएको, एक दिनमा एकहजार जनासम्म पर्यटक जिल्लामा रहनसक्ने सुविधा भएको, सुदूरपश्चिमको पर्यटन विकासको लागि सडकमा राज्यको लगानी आवश्यक रहेको, सुदूरपश्चिमका नौ जिल्ला तरकारीमा आत्मनिर्भर रहेको जस्ता विषय चर्चा गरिएको थियो ।
सोही दिन भ्रमण टोलीले डोटी उवासंघका पदाधिकारीहरुसँग छलफल गरेको थियो । डोटी उवासंघले दिपायलमा आयोजना गरेको छलफल कार्यक्रममा मउवा संघका अध्यक्ष कृष्ण कुमार गुप्ताले मकवानपुर मौसमी विविधतायुक्त र औद्योगिक क्षेत्र रहेको जिल्ला भएको, भ्रमणले पर्यटन विकासको अवस्था र व्यवसायिक अवस्थाको बारेमा जानकारी हुने अपेक्षा लिएको बताउनु भएको थियो । बागमती प्रदेशको मुख्यमन्त्रीका सल्लाहकार डि.वि. ढकालले देशले तीन दशक औद्योगिकरणको अभ्यास गरेपनि पूर्ण रुपमा सफलता प्राप्त हुन नसकेको, विकासका लागि प्रदेश सरकारले पैरवी गर्ने, उद्योग व्यवसायलाई थप नजिकबाट बुझ्न आफू भ्रमण टोलीमा सहभागि भएको, दक्षिण कोरियाको दृष्टान्त दिनुहुँदै निजी क्षेत्रलाई राज्यले संरक्षण गरे मात्र निजी क्षेत्र अघि बढ्न सक्ने, हाम्रो देशमा औद्योगिक वातावरण निर्माण चुनौतिपूर्ण विषय रहेको बताउनु भएको थियो ।
मउवा संघका निवर्तमान अध्यक्ष तथा केन्द्रीय सदस्य कृष्ण कटुवालले आर्थिक मन्दीले व्यवसायिक वातावरण बिगारेको भएपनि यो अवस्था सधै नरहने, तसर्थ धैर्य गर्नुपर्ने, कृषिमा आश्रित देश भएकाले कृषिलाई प्रविधियुक्त बनाउन आवश्यक रहेको, खप्तडको पर्यटकीय पूर्वाधार सम्पन्न बनाउन डोटी उवासंघले पनि पहल गर्नुपर्ने, महासंघले साना व्यवसायीहरुको पक्षपोषण गर्नुपर्ने, व्यवसायीलाई राहत सिर्जना गर्न पहल गर्नुपर्ने बताउनु भएको थियो ।
डोटी उवासंघका अध्यक्ष विक्रम बहादुर साउदले डोटीमा ग्राहकको कमीले व्यवसाय क्षेत्र चपेटामा परेको, कामदारलाई तलब दिनसमेत गाह्रो परेको, पसलहरुमा उपभोक्ताको चाप नभइ सुनसान हुने गरेको, नेपाल उद्योग वाणिज्य महासंघको नेतृत्व धनगढीसम्म आएपनि पहाडी जिल्ला नआएको, महासंघ नेतृत्वले जिल्लाको भ्रमण गरी केन्द्र सरकार समक्ष विकासको लागि पहल गरिदिनु पर्ने, व्यवसाय छैन तर कर कार्यालयबाट हप्ता–हप्तामै अनुगमन गर्न आउने गरेको, खप्तडमा राज्यले होमस्टेहरु निर्माण गरिदिनु पर्ने, यातायात सञ्जालको लागि राज्यले लगानी बढाइदिनु पर्ने बताउनु भएको थियो । छलफलमा डोटीमा बैंकले दुःख दिएको, बिजुली, बाटो नपुगेका ठाउँहरु रहेको, केन्द्रीय सदस्यले महासंघमा आवाज पु¥याइदिनु पर्ने जस्ता विषयहरु चर्चा गरिएका थिए ।
त्यसैगरी भ्रमण टोलीले यसअघि रुपन्देहीको सिद्धार्थ उद्योग वाणिज्य संघमा मंगलबार छलफल सम्पन्न गरेको थियो । सिद्धार्थ उवासंघका अध्यक्ष ठाकुरकुमार श्रेष्ठले आर्थिक मन्दीको प्रभाव रुपन्देहीमा पनि रहेको, वि.सं. २०११ सालमा सिद्धार्थ उवासंघ स्थापना भएको, महासंघमा क वर्गमा वर्गिकृत रहेको, तीन हजार पाँच सय हाराहारी सदस्य रहेको, बहुराष्ट्रिय कम्पनीसहित ११० जति एशोसिएट सदस्य रहेको, भारतको सीमा नजिक रहेको, संघको प्रमुख आम्दानीको श्रोत सदस्यता शुल्क र उत्पत्तिको प्रमाणपत्र बापतको शुल्क रहेको, आगामी बजेट ठूला व्यवसायिक घरानाको प्रभावमा नपरी साना उद्योगी व्यवसायीको पक्षमा बन्नुपर्ने, लुम्बिनी प्रदेश सरकारसँग उल्लेख्य समन्वय स्थापित हुन नसकिरहेको बताउनुभएको थियो । छलफलमा मउवासंघका अध्यक्ष कृष्ण कुमार गुप्ताले उद्योगी÷व्यवसायीहरु डिप्रेशनमा पुग्ने अवस्था आएको, सटर बन्द गर्नुपर्नेसम्मको स्थिति देखिएको, नेपाल उद्योग वाणिज्य महासंघले साना उद्योगी÷व्यवसायीहरुको आवाज सुन्नुपर्ने, बागमती प्रदेश सरकार उद्योगी÷व्यवसायीहरुको समस्याका विषयमा सकारात्मक देखिएको र समन्वय भइरहेको, उद्योग÷व्यवसाय नचलेमा राज्य समृद्ध हुन नसक्ने बताउनुभएको थियो ।
जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित घलानले दुई संघबीचको आपसमा सामिप्यता देखिएको, वुद्ध जन्मभूमि महत्वपूर्ण रहेको, देश आर्थिक मन्दीको अवस्थामा रहेकाले उद्योग वाणिज्य संघहरुको भूमिका महत्वपूर्ण हुने बताउनुभएको थियो । कार्यक्रममा बागमती प्रदेशको मुख्यमन्त्रीका सल्लाहकार डि.बि. ढकालले अझै एक वर्ष आर्थिक मन्दीको प्रभाव रहन सक्ने, केन्द्र तथा प्रदेश सरकारको सक्रियतामा मन्दीको प्रभाव न्यूनिकरण गर्न सकिने, उद्योग, व्यवसाय तथा कृषि क्षेत्रमा नीतिगत सुधारका कार्यहरु गर्नसकिने, प्रदेशहरुका समस्याहरु कतिपय एउटै प्रकृतिका हुनेजस्ता भनाइ राख्नुभएको थियो ।
सिद्धार्थ उवासंघका पूर्व अध्यक्ष कृष्ण प्रसाद शर्माले भ्रमणले संघहरुबीच सम्बन्ध सुमधुर र मजबुत बनाउन सघाउने, हरेस खाएका व्यवसायीहरुको मनोबल उठाउन आवश्यक रहेको, आर्थिक मन्दीको समयमा प्रदेश सरकारले करको दायरा बढाउदै लग्न नहुने बताउनुभएको थियो । छलफलमा मउवासंघका उपाध्यक्ष उज्वल चौलागाई, सिद्धार्थ उवासंघका महासचिव कृष्ण प्रसाद घिमिरे, वरिष्ठ उपाध्यक्ष नेत्र प्रसाद आचार्यलगायतले मन्तव्य राख्नुभएको थियो ।
भ्रमण टोलीले सिद्धार्थ, डडेल्धुरा र डोटी उवासंघसँग औपचारिक छलफल कार्यक्रम गरेको थियोभने अत्तरिया उवासंघका अध्यक्ष कल्याण सिंह बोहरा, अछाम उवासंघका कार्यवाहक अध्यक्ष बमबहादुर रावल, दैलेखका कार्यकारी सचिव पवन कुमार कार्की, सुर्खेत उवासंघका अध्यक्ष लक्ष्मण कंडेल, जाजरकोट उवासंघका अध्यक्ष रमेश केसी तथा पूर्व अध्यक्ष कमान बहादुर खडका, रुकुमकोट उवासंघका अध्यक्ष केवेन्द्र गौतमलगायतसँग सोही ठाउ“हरुमा पुगी अनौपचारिक छलफल गरेको थियो ।