हेटौँडा \ हेटौँडा २ मा रहेको हातेमालो बचत तथा ऋण सहकारी संस्थाले आफ्नो १८ औँ स्थापना दिवसको अवसरमा विविध कार्यक्रम गर्दै मनाउने भएको छ । मंगलबार एक कार्यक्रमकाबीच संस्थाले गर्ने कार्यक्रमहरु सार्वजनिक गर्दै पाँच दिने सेल्फ मेकअप तालिमको समापन गरेको छ ।
संस्थाका अध्यक्ष हरिप्रसाद पौडेलको सभाध्यक्षता तथा प्रदेश सहकारी विकास वोर्डका कार्यकारी उपाध्यक्ष नारायणप्रसाद देवकोटाको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । कार्यक्रममा जेठ २ गते देखी सञ्चालित सेल्फ मेकअप तालिममा सहभागिहरुलाई प्रमाण पत्र प्रदान गरिएको थियो । तालिमलाई प्रशिक्षक यमकुमारी श्रेष्ठले गरेकी थिईन् । तालिममा ३४ जनाको सहभागिता रहेको सहकारीले जनाएको छ ।
कार्यक्रममा हेटौंडा २ का वडाध्यक्ष विष्णुगोपाल महर्जन, हेटौंडा उपमहानगरपालिकाका सहकारी शाखा प्रमुख हिमप्रसाद पौडेल, नेफ्स्कुन फिल्ड कार्यालय मकवानपुरका प्रमुख विदुर खड्का, संस्थाका कानुनी सल्लाहकार अरुण खतिवडा, लेखा समिति संयोजक नारायणप्रसाद रेग्मी, प्रशिक्षक यमकुमारी श्रेष्ठलगायतको आतिथ्यता रहेको थियो ।
सहकारीले स्थापना दिवसको अवसरमा मेकअप तालिम र ६ गते साँचो जीवन निर्माण अभियान कार्यक्रम गरिसकेको संस्थाका व्यवस्थापक रमलाकुमारी सापकोटाले बताईन् । सहकारीले ११ गते भान्छा सुधार अभियान तथा स्वस्थ्य रहने वैज्ञानिक सिद्धान्त कार्यक्रम, १२ गते सञ्चालक समिति, विभिन्न उपसमिति, संस्थापक तथा पूर्व सञ्चालक समिति र कर्मचारीबीच समीक्षा बैठक, १३ गते असल बचतकर्ता र ऋणी सदस्यहरुसँग अन्रक्रिया, सम्मान तथा विस्तारित मञ्च, १४ गते रक्तदान तथा स्वास्थ्य परिक्षण कार्यक्रम र सोही दिन हेटौँडा १० मा रहेको संस्कृत वेद विद्यालयलाई सहयोग हस्तान्तरण कार्यक्रम रहेको व्यवस्थापक सापकोटाले बताईन् ।
कार्यक्रमको अवसरमा उनले संस्थागत आर्थिक वित्तीय विवरण प्रस्तुत गरेकी थिइन् । बैशाख मसान्तसम्ममा ५० करोड २४ लाख ६३ हजार ९०२ रुपैयाँ बचत निक्षेप रहेको संस्थाले सदस्यहरुलाई ५२ करोड ३४ लाख २७ हजार २६८ रुपैयाँ कर्जा लगानी गरेको व्यवस्थापक सापकोटाले बताईन् । ६ करोड ३६ हजार १३ हजार ३ सय शेयरपुँजी रहेको सहकारीमा दुई हजार ७२२ जना सदस्य आवद्ध रहेका छन् ।