बेल्जियम \ नेपाली खानालाई युरोपमा परिचित गराउने उद्देश्य अनुरुप नेपाली व्यवसायी संघ बेल्जियमले आगामी मे २५ तारिखका दिन नेपाली फुड फेस्टिवल आयोजना गर्ने भएको छ । बुधबार बेल्जियममा आयोजित पत्रकार सम्मेलनमा कार्यक्रम संयोजक एंव संघका उपाध्यक्ष काशी दनैले बेल्जियममा प्रत्येक दुई वर्षमा हुने फुड फेस्टिवलको तेश्रो संस्करणलाई लुभेन नगरपालिका प्रमुख मोहमद रुद्वानीले उद्घाटन गर्नेछन् ।
उहाँका अनुसार करिव दस हजार दर्शकहरुले नेपाली खाना महोत्सवमा सहभागीता जनाउने अनुमान गरिएको उहाँले बताउनु भयो । स्थानीय नगरपालिका र नेपाली राजदुतावास बेल्जियमको विशेष सहयोग रहने फेस्टिवलमा बेल्जियममा कार्यरत करिव १५ देशका राजदूत, युरोपियन युनियनका विशिष्ठ पदाधिकारीहरु, युरोपियन पार्लियामेन्टका सांसदहरु, बेल्जियम सरकारका विशिष्ठ व्यक्तिहरु, बेल्जियम नागरिकहरु र नेपाललाई माया गर्ने युरोपियन नागरिकहरु सहभागि हुने उहाँले बताउनु भयो ।
पत्रकार सम्मेलनमा नेबाबका अध्यक्ष चिरन कुमार खवासले फेस्टिवलमा १४ वटा स्टलबाट हिमाल पहाड र तराईमा खाइने १० थरी नेपालीहरु खाना, दुई वटा नेपाली हस्तकलाका सामाग्री वितरण गरिने बताउनु भयो । उहाँका अनुसार ४ जना स्वयमसेवकले नेपाली खानाको बारेमा पहुनाहरुलाई खाइरहेको ठाउँमा गएर वर्णन गर्नेछन । कार्यक्रममा नेपाली गीत, नृत्य प्रस्तुत गरिने उहाँले बताउनु भयो । ।
नेपाली कलासंस्कृति झल्कने झांकी,नेपाली पोशाकको प्रदर्शनी समेत हुने उहाँले बताउनु भयो । नेपाल भ्रमण गर्न प्रोत्साहन गर्ने उद्देश्यले एक जना बेल्जियम नागरिकलाई भाग्य चिट्ठा मार्फत नेपालको होटेल बूकिङ र हवाई टिकट प्रदान गरिने, फेस्टिवल हुने स्थानमा डिजिटल पर्दामा नेपालको प्राकृतिक सुन्दरता झल्कने श्रव्य दृष्य सामाग्री देखाइने उहाँले बताउनु भयो ।
फुड फेस्टिवलको लागि करिव ३० हजार युरो नेपाली रुपैयाँ करिब ४४ लाखको बजेट व्यवस्था गरिएको अध्यक्ष खवासले बताउनु भयो । कार्यक्रममा नेपाल पत्रकार महासंघ बेल्जियमका अध्यक्ष ओम शर्माले नेपाली खानालाई युरोपमा परिचित गराउन यस्ता महोत्सवले अर्थ राख्ने बताउनु भयो । नेपाल र नेपाली समुदाय अनि बेल्जियम नागरिकबीच भाईचारा बढाउन, नेपालमा पर्यटन प्रवद्र्धनन गर्न महोत्सवले भूमिका खेल्ने उहाँले बताउनु भयो ।