हेटौंडा \ नेपाली काँग्रेसका उपसभापति एंव पूर्व कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले राजनीतिकमा प्रवृति खराब भएपनि व्यवस्था खराब नभएको बताउनु भएको छ । प्रजातान्त्रिक विचार समाज मकवानपुरले विहिबार हेटौँडामा आयोजना गरेको प्रजातान्त्रिक दर्पण-२०८१ विमोचन तथा सम्मान कार्यक्रमलाई सम्बोधन गर्नुहुदैँ नेता गुरुङले काँग्रेसीहरुको व्याख्या गर्ने शैली खराब देखिएपनि प्रजातान्त्रिक विचारमा काँग्रेसले बाटो नछोडेको बताउनुभयो । काँग्रेसले समानताका लागि लड्दै नेपाली राजनीतिमा बाटो नबिराएको औंँल्याउनुभयो ।
उहाँले जनताको मनछुने एजेण्डामा काँग्रेसले काम गर्नसके प्रजातान्त्रिक विचार समाजको सिद्धान्त प्रतिपादन हुने बताउँदै आन्तरिक विवाद साम्य बनाएर भावी रणनीतिमा काम गर्नुपर्नेमा जोड दिनुभयो । काँग्रेसले भष्ट्रचारीको विरुद्ध आवाज बुलन्द गर्न आफैँबाट सुधार गर्नुपर्नेमा जोडदिनु हुदैँ गफले मात्र काँग्रेस सुध्रन नसक्ने हुदाँ व्यवहारले ठिक ठाँउमा उभिन आवश्यक रहन बताउनुभयो । उहाँले भष्ट्रचारसँग जोडिएका कुनैपनि दलका नेताहरुलाई कानुनी दायरामा ल्याएर कारवाही गर्नुपर्नेमा जोड दिनुभयो ।
काँग्रेसभीत्र पनि विचार सिद्धान्तमा कमजोरी देखिएको भन्दै उहाँले सुशील कोईराला, कृष्णप्रसाद भट्टराई र गणेशमानको अनुयायीलाई आत्मसात् गरी विचार र सिद्धान्तलाई सही ढङ्गले लागु गर्न कार्यकर्ताहरुलाई आग्रह गर्नुभयो । सरकारले सबै मन्त्रीहरुको छानविन गरी दोषीलाई एउटै चश्माले हेर्नुपर्ने बताउनुभयो ।
देशमा अर्थतन्त्र सुधारका लागि आफु मन्त्री हुँदा केही प्रयासहरु भएपनि पुरा हुन नसकेको हुँदा देशमा रहेको जडिबुटी, घरेलु मदिरालाई ब्राण्ड बनाएर विश्व बजारमा लैजान सके अर्थतन्त्रमा फड्को मार्ने बताउनुभयो । उहाँले गृहमन्त्रीलाई लक्षित गर्दै ठगी गर्दै दुई नागरिकता र दुई पासपोर्ट बोकर राजनीतिमा नेता नबनिने बताउनुभयो । उक्त विषयमा कम्युनिष्ठ पार्टीहरुले संरक्षण गर्दै आइरहेको आरोप लगाउनुभयो । विचार, सिद्धान्त एकातिर राखेर कम्युनिष्टहरुले संसदमा देखाएको संसदीय अभ्यास गलत भएको औंल्याउनुभयो ।
उहाँले प्रजातान्त्रिक विचार समाजलाई सक्रिय बनाएर नेपाली राजनीतिमा देखिएको फोहोरलाई सफा गर्न सके निराशा होईन आशावादी हुन सकिने बताउनुभयो ।कार्यक्रममा समाजका बागमती प्रदेश अध्यक्ष भरत दवाडीले विधिको शासन जोगाउन प्रजातान्त्रिक विचार समाज स्थापना भएको बताउँदै समयलाई बुझ्न नसक्दा लोकतन्त्र खतरामा परेको र उदासिनता फैलिएको बताउनुभयो । यसैगरी काँग्रेस मकवानपुर सभापति बुद्ध लामाले प्रजातन्त्रमा विश्वास भएकाले संघीयता बलियो बनाउन पार्टीभित्रको आन्तरिक विवाद व्यवस्थापन गर्नुपर्ने जोडदिनुभयो । समाजका केन्द्रीय पूर्व अध्यक्ष केदारनर सिंह केसीले बौद्धिक व्यक्तित्वलाई समेट्न विचार समाज स्थापना भएको बताउँदै देशमा संकट छाएको बेला विचार समाजले उल्लेख्य भूमिका खेलेको बताउनुभयो ।
यस्तै, समाजका केन्द्रीय अध्यक्ष कुलचन्द्र वाग्लेले भाषा र विचारको सिद्धान्त समाजभित्र रहेकाले प्रजातन्त्रप्रति विश्वास गर्नेहरुले यस संस्थालाई अध्ययन गर्न सकिने बताउनुभयो । अहिलेको संसदीय व्यवस्था बहुलवादी रहेको बताउँदै विचारमा मात्र गाली गर्ने परम्परा बन्द गरेर प्रजातान्त्रिक विचारलाई संस्थापक विकास गर्नुपर्नेमा जोड दिनुभयो । कार्यक्रम समाजका अध्यक्ष डा. देवचन्द्र मानन्धरको अध्यक्षतामा भएको कार्यक्रममा काँग्रेस पूर्व जिल्ला सभापति रघुरमण न्यौपाने, हेटौँडा उपमहानगरका पुर्व सभापति आनन्दराम पराजुली, लगायतले आफ्नो विचार राख्नुभएको थियो ।
सोही अवसरमा चारजनालाई सम्मान गरिएको थियो । प्रजातान्त्रिक सेनानीबाट अशोक श्रेष्ठ, यादवराज पराजुली, परमेश्वर भ्लोन, हरिनन्द खरेल र स्वर्गीय ईश्वरचन्द्र अग्रवाललाई मरनोपरान्त सम्मान गरिएको थियो ।