हेटौंडा \ उच्च गुणस्तरीय कपडा सामग्रीको नेपाली ब्राण्ड सोनामले हेटौंडामा आफ्नो शाखा विस्तार गरेको छ । शनिबार मकवानपुरका प्रमुख जिल्ला अधिकारी सुर्य प्रसाद सेढाईले शाखाको उद्घाटन शुभारम्भ गर्नु भएको हो । हेटौंडा ४ नारायणी मलको पहिलो तल्लामा सोनामले आफ्नो २५ औ शाखा विस्तार गरेको हो । शाखाको उद्घाटन शुभारम्भ गर्नुहुँदै प्रजिअ सेढाईले सोनाम ब्राण्डको हेटौंडा शाखाको व्यवसायिक सफलता मिलोस भन्दै शुभकामना दिनुभयो । उहाँले आफ्नै नेपाली कपडा ब्राण्डलाई प्रोत्साहन गर्नपनि सबैमा आग्रह गर्नुभयो ।
करिब दुई दशक अघि सुरु गरिएको उद्यमशीलताको उपज सोनाम ब्राण्ड स्थापित भएको यसका सञ्चालक टासी लामाले बताउनु भयो । हेटौंडामा करिब डेढ करोड लगानीमा शाखा खोलिएको र सोनाम ब्राण्डमा महिला, बालबालिका र पुरुषका ज्याकेट, ट्राउजर, सर्ट, पाइन्ट, पञ्जा, जिम भेस्ट, स्वेटर, कोट, ट्रेकिङ पोसाक, टेन्ट, ब्याग लगायत उत्पादन खरिद गर्न सकिने उहाँले बताउनुभयो ।
सोनाम आज नेपालीमाझ लोकप्रिय कपडा ब्राण्ड बन्न सफल भएको छ । मुलुकभरि यसका २५ शाखा रहेकाछन् । सोनामले महिनाको २० हजार थान कपडा उत्पादन गर्ने टासी लामाले बताउनुभयो । यस अघि जावलाखेल र कुमारीपाटी, चितवनको सिजी ल्याण्डमार्क, सुनसरीको धरान पुतली लाइन, पोखराको लेकसाइड र न्युरोडमा, बुटवल तथा सुर्खेतको वीरेन्द्रनगरमा सोनामका शो रुम रहेको लामाले बताउनु भयो । हेटौंडा शाखा विस्तारका अवसरमा विभिन्न छुटका अफर रहेको बताईएको छ ।
कार्यक्रममा मकवानपुर उद्योग वाणिज्य संघका उपाध्यक्ष प्रमोद सिं रानाभाट, नारायणी मल सञ्चालकद्धय नवराज आचार्य र दीपक आचार्य, नेपाल पत्रकार महासंघका अध्यक्ष मणिराज गौतमलगायतको आतिथ्यता रहेको थियो ।