सिधाखबर \ हेटौंडा २ मा रहेको मकवानपुर बहुमुखी क्याम्पसको शनिबार १६ औं क्याम्पस सभा भएको छ । जेष्ठ सदस्य नवराज अर्यालको अध्यक्षतामा बसेको सभामा क्याम्पस संचालक अध्यक्ष अनन्त प्रसाद पौडेलले क्याम्पसको पृष्ठभूमि र अहिलेको अवस्थाबारे जानकारी दिएका थिए । उनले क्याम्पसको शैक्षिक अवस्था, भौतिक अवस्था, आर्थिक तथा प्रशासनिक अवस्था लगायतका विषयवस्तु समेटिएको प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए ।
उनले क्याम्पसका सवल र दुर्वल पक्षहरु समेत पेश गरेका थिए । क्याम्पसलाई थप सुधारका लागि शैक्षिक कार्य योजनाहरु, दीर्घकालीन कार्ययोजना, प्रशासनिक सुधार कार्य योजनाहरु, छात्रवृति कोष, मानव संसाधनको विकासका विषयको प्रतिवेदन पेश गरेका थिए ।
सभामा कोषाध्यक्ष हिरालाल श्रेष्ठले क्याम्पसका आर्थिक गतिविधि समेटिएको प्रतिवेदन प्रस्तुत गरेका थिए । उनले कोरोनाका कारण पठन पाठन र भर्नामा केहि समस्या उत्पन्न भएता पनि क्रमिक रुपमा सहज हुदैं गएको बताए ।
क्याम्पसले आव २०७८-०७९ मा २० करोड ४० लाख ४८ हजार ६७९ को आयव्यव कारोबार गरेको बताउदैं कोषाध्यक्ष श्रेष्ठले आगामी आव २०७९-०८० मा २४ करोड ११ लाख ९० हजार १७० रुपैयाँको आयव्यव कारोबार गरिने अनुमानित बजेट प्रस्तुत गरेका थिए । सभामा क्याम्पस सेवा समितिका अध्यक्ष बद्रीप्रसाद लम्सालले सेवा समितिले गरेका वार्षिक प्रगति प्रतिवेदन पेश गरेका थिए ।
सभामा विभिन्न तहमा उत्कृष्ट हुने विद्यार्थीलाई सम्मान गरिएको थियो भने क्याम्पस प्राध्यापक लोकराज शर्माले पिएचडी गरिएकाले सम्मान समेत गरिएको थियो । सभामा क्याम्पसका पुर्व अध्यक्षहरु डोरमणि पौडेल, माइकल रामचन्द्र अर्याल लगायत सभाका सभासदहरुको उपस्थिती रहेको थियो ।