हेटौँडा \ हेटौँडा २ मा अवस्थित हातोमालो बचत तथा ऋण सहकारी संस्थाले आफ्नो १८ औँ स्थापना दिवसको अवसरमा ४० जना असल ऋणी र असल बचतकर्तालाई आइतबार सम्मान गरेको छ ।
संस्थाका अध्यक्ष हरिप्रसाद पौडेलको सभाध्यक्षता तथा बागमती प्रदेश सहकारी बोर्डका कार्यकारी उपाध्यक्ष नारायणप्रसाद देवकोटाको प्रमुख आतिथ्यतामा सदस्य सम्मान गरिएको थियो । आव ०८०/०८१ म सहकारीमा उत्कृष्ट बचत र ऋणको कारोबार गर्ने ४० सदस्यलाई सम्मान गरिएको संस्थाका व्यवस्थापक रमलाकुमारी सापकोटाले बताईन् ।
कार्यक्रममा सदस्यसँग अन्तरक्रिया गरिनुका साथै विस्तारित मञ्च कार्यक्रम गरिएको थियो । कार्यक्रममा व्यवस्थापक सापकोटाले संस्थाको आर्थिक प्रगतिका साथै संस्थाले गरेका गतिविधिहरुबारे जानकारी गराएकी थिइन् ।
सहकारीले स्थापना दिवसको अवसरमा एक सातादेखी विभिन्न कार्यक्रम गर्दै आइरहेको छ । सहकारीले पाँच दिने सेल्फ मेकअप तालिम, साँचो जीवन निर्माण अभियान कार्यक्रम, शुक्रबार ११ गते भान्छा सुधार अभियान तथा स्वस्थ्य रहने वैज्ञानिक सिद्धान्त कार्यक्रम गरेको थियो । उक्त कार्यक्रममा एक सय ६७ जना सदस्यहरुको सहभागिता रहेको थियो ।
त्यस्तै, सहकारीले शनिबार सञ्चालक समिति, संस्थापक समिति, विभिन्न उपसमिति, कर्मचारीबीच समीक्षा बैठक बसेर भावी योजना निर्माण गरेको छ । सहकारीले भोली सोमबार विहान बृहत रक्तदान तथा स्वास्थ्य परीक्षण कार्यक्रम र दिउँसो हेटौंडा १० राप्तीतटमा अवस्थित संस्कृत वेद विद्यालयलाई सहयोग हस्तान्तरण गरी दिवस कार्यक्रम समापन गरिने संस्थाका अध्यक्ष हरिप्रसाद पौडलले बताए । उनले भोली हुने स्वास्थ्य परीक्षण कार्यक्रममा सदस्यहरुलाई सहभागिताका लागि आग्रह समेत गरेका छन् ।
सहकारीमा बैशाख मसान्तसम्ममा ५० करोड २४ लाख ६३ हजार ९०२ रुपैयाँ बचत निक्षेप रहेको संस्थाले सदस्यहरुलाई ५२ करोड ३४ लाख २७ हजार २६८ रुपैयाँ कर्जा लगानी गरेको व्यवस्थापक सापकोटाले बताईन् । ६ करोड ३६ हजार १३ हजार ३ सय शेयरपुँजी रहेको सहकारीमा दुई हजार ७२२ जना सदस्य आवद्ध रहेका छन् ।