हेटौंडा \ बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले गणतन्त्रात्मक राज्य व्यवस्थाले मुलुकमा परिवर्तन हुँदै गइरहेको बताउनुभएको छ । मंगलबार १७ औं गणतन्त्र दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै ‘हामीले प्राप्त गरेको लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थामार्फत मुलुकको भौगोलिक अखण्डता, सार्वभौमिकता, स्वाधीनता र राष्ट्रिय एकतालाई अझ सुदृढ गर्दै आर्थिक, सामाजिक र साँस्कृतिक रुपान्तरणसहितको सभ्य, सुसंस्कृत र समुन्नत समाज निर्माण हुनेमा विश्वस्त छु ।’ उहाँले भन्नुभयो ।
संवैधानिक रुपमा हामीले पाएका हक–अधिकारहरुको प्रभावकारी कार्यान्वयन गर्दै राष्ट्र निर्माणको महाअभियानमा लामबद्द हुन गणतन्त्र दिवसले हामी सबैलाई अभिप्रेरित गरोस् भन्दै पुनः शुभकामना व्यक्त गर्नुभएको छ । साथै, उहाँले गणतन्त्र स्थापनाका लागि विभिन्न कालखण्डमा भएका आन्दोलनहरुमा आफ्नो अमूल्य जीवन उत्सर्ग गर्नुहुने सम्पूर्ण ज्ञात, अज्ञात अमर शहीदहरूप्रति भावपूर्ण श्रद्दाञ्जली अर्पण गर्दै बेपत्ता, घाईते तथा अपाङ्ग योद्धाहरुमा उच्च सम्मान प्रकट रहेको बताउनुभयो ।
‘नेपाली जनताका प्रतिनिधिमार्फत २०६५, जेठ १५ गते संविधानसभाको पहिलो बैठकबाट हाम्रो देश नेपाल संघीय लोकतान्त्रिक गणतान्त्रिक मुलुक घोषित भएको हो । सार्वभौमसत्ता पूर्ण रुपमा जनतामा निहित रही जननिर्वाचित प्रतिनिधिबाट शासन र सरकार सञ्चालन हुने उत्कृष्ट प्रणाली शुभारम्भ भएको यो ऐतिहासिक दिन हो ।’ उहाँले भन्नुभयो ।
जनताका प्रतिनिधिमार्फत निर्मित हाम्रो संविधानमा व्यवस्था गरिएको मौलिक हकसम्बन्धि व्यवस्था, संघीय शासन प्रणाली, धर्मनिरपेक्षता, समावेशी –समानुपातिक प्रणाली, सामाजिक न्यायजस्ता प्रावधानले समाजवादको दिशामा अगाडी बढ्न मार्गप्रशस्त गरेको छ । यो हाम्रो देश नेपाल र हामी सम्पूर्ण नेपालीका लागि अत्यन्त सुखद् र गौरवको विषय रहेको बताउनुभयो ।