हेटौंडा \ ५२औ विश्व वातावरण दिवस २०८१ को अवसरमा हेटौंडा ११मा नवलपुरमा सचेतनामूलक प्रदर्शनी गरिएको छ । मंगलबार वडामा रहेका २३ वटै टोल विकास संस्थाहरुको सहभागीता टोल स्तरीय बृहत् सचेतना मुलक प्रदर्शनी,सम्मान एवम् पुरस्कार वितरण कार्यक्रम गरेको हो । टोल विकास संस्था वडा समन्वय समितिका अध्यक्ष यज्ञ बहादुर आचार्यको सभाध्यक्षता तथा हेटौँडा उपमहानगरपालिकाका उपप्रमुख राजेश बानियाँको प्रमुख आतिथ्यता रहेको थियो ।
११ नम्बर वडा कार्यालयको आर्थिक सहयोगमा टोल विकास संस्था वडा समन्वय समितिको आयोजनामा कार्यक्रम भएको थियो । सहिद स्मारक गेटबाट सुरु भएको सचेतना मुलक प्रदर्शनी हेटौंडा ११ मा रहेको विपन्न बचत तथा ऋण सहकारी संस्थाको सभा हलमा पुगी सभामा परिणत भएको थियो ।
कार्यक्रममा वडा अध्यक्ष जुना दहाल, नगर समन्वय समितिका अध्यक्ष ध्रुव प्रसाद अधिकारी,उपमहासचिव देवकुमार श्रेष्ठ, सचिव चन्द्रवती पनेरु, वडा सदस्य गोपिनी सापकोटा, विकास नेपाल, सञ्जय विडारी, गीता सुनार, सामाजिक विकास महाशाखा अधिकृत गोपिनी गौतम,वातावरण ईन्जिनियर चन्दा खड्का लगायतका विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको आतिथ्यता रहेको थियो ।
कार्यक्रममा प्रथम भएको सिमलटार टोल विकास संस्थालाई प्रमाणपत्र र सात हजार नगद पुरस्कार प्रदान गरिएको थियो । त्यस्तै, द्धितीय भएको शान्ति चोक टोल विकास संस्थालाई प्रमाणपत्र पाँच हजार नगद, तृतीय हुने झोलुङ्गेपुल टोल विकास संस्थालाई प्रमाणपत्र तीन हजार नगद प्रदान गरिएको थियो । यसैगरी सान्त्वना हुने सुर्योदय टोल विकास संस्था र लालिगुरासँ टोल विकास संस्थालाई नगद २ हजार सहित प्रमाण पत्र प्रदान गरिएको थियो ।
कार्यक्रममा कृषि र दूध उत्पादन क्षेत्रमा टेवा पुर्याउने मधुसुदन अर्याल ,शेषराज रिमाल, पुर्णकुमारी बस्नेत, रमेश बर्तौला र निरज गौतमलाई जनही दुई÷दुई हजारका दरले नगद सहित सम्मानपत्र प्रदान गरिएको थियो ।