मकवानपुरगढी \ मकवानपुर गाउँपालिका वडा नम्बर ३ मक्रान्चुलीमा अवस्थित मनकामना दुग्ध उत्पादक सहकारी संस्थाले निर्माण गरेको मनकामना दुध प्रशोधन तथा उत्पादन उद्योग शनिबार विश्व दुध दिवसको अवसर पारेर विधिवत रुपमा उद्घाटन गरि सञ्चालनमा ल्याइएको छ । संस्थाका अध्यक्ष अर्जुनप्रसाद दहालको सभाध्यक्षता तथा नेपाल सरकारका मुख्य सचिव डा. बैकुण्ठ अर्यालको प्रमुख आतिथ्यतामा उद्योगको उद्घाटन गरिएको हो ।
दुध उत्पादनको पकेट क्षेत्रको रुपमा रहेको मकवानपुरगढीलाई कृषि र पर्यटन जोडर आगामी दिनहरुमा पनि साथ सहयोग रहने डा. अर्यालले बताए । उनले दुध संकलन गर्दै उद्योग मार्फत विभिन्न परिकारलाई बजारसम्म लानका लागि प्रदेश र स्थानीय सरकारले साथ दिनुपर्ने समेत बताए । किसानलाई साथ लिन सके तीन तहकै सरकार सफल हुनेमा जोड दिँदै आगामी दिनहरुमा किसान लक्षित कार्यक्रम बनाउन स्थानीय सरकार र प्रदेश सरकारलाई आग्रह गरेका छन् ।
कार्यक्रममा बागमती प्रदेश सरकारका प्रमुख सचिव गोविन्द कार्की, प्रदेशको संस्कृति, पर्यटन तथा सहकारी मन्त्रालयका सचिव हरिशरण पुडासैनी र गाउँपालिकाका अध्यक्ष दोर्जे लामा स्याङ्तानले मनकामना दुग्ध सहकारीलाई साथ सहयोग सदैव रहि रहने बताएका थिए । किसान र किसानसँग सम्बन्धित योजना र बजेट प्रदेश सरकार र स्थानीय सरकारले ल्याउने उनीहरुले बताएका थिए ।
कार्यक्रममा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव मुकुन्द निरौला, सहसचिव सुमन दाहाल, गाउँपालिका उपाध्यक्ष मानकुमारी पाख्रीन, गाउँपालिकाका वडा १ वडाध्यक्ष आइतसिं लो, २ वडाध्यक्ष बखान सिं पाख्रीन, ३ वडाध्यक्ष भागवत घिमिरे, ४ वडाध्यक्ष अर्जुनप्रसाद तिमल्सिना, पशु सेवा कार्यालय प्रमुख डा. बज्रकिशोर ठाकुर, नेपाल लाईभ स्टक सेक्टर इनोभेसन आयोजनाका प्रमुख डा. विदुर गौतम, श्रमिक साना किसान कृषि सहकारी संस्थाका अध्यक्ष निर्मला लम्साल, संस्थाको संस्थापक अध्यक्ष हरिप्रसाद अधिकारी लगायत विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको आतिथ्यता रहेको थियो ।
सोही अवसरमा सहकारीले विभिन्न व्यक्तिहरुलाई सम्मान गरेको छ । जसमा संस्थापक अध्यक्ष हरिप्रसाद अधिकारी, पूर्व अध्यक्षहरु कृष्णप्रसाद पोखरेल, सीताराम दाहाल र कृष्णप्रसाद दाहाल, लेखनाथ अधिकारी, र पूर्व व्यवस्थापक बलराम हुमागाईलाई सम्मान गरिएको थियो । हुमागाई संस्था स्थापनाकाल २०४२ देखी २०७८ सालसम्म संस्थाको व्यवस्थापकको भूमिका निर्वाह गरेका थिए ।
त्यस्तै, उद्योग निर्माणमा सहयोग गर्ने तत्कालीन गाउँपालिकाका ईन्जिनियर सुवास अधिकारी र प्राविधिक समीर दाहाल, जग्गा बिक्रि गरी सहयोग गर्ने रामशरण देवकोटालाई पनि सम्मान गरिएको थियो । त्यस्तै, असल ढुवानीतर्फ रामप्रसाद तिमल्सिना, बासुप्रसाद न्यौपाने, वेदप्रसाद ढकाल, ईन्द्रमणि तिमल्सिना, ढालबहादुर चौलागाई, भूमिनन्द चौलागाई, प्रेमप्रसाद दाहाल, कृष्णप्रसाद दाहाललाई सम्मान गरिएको थियो ।
त्यस्तै सहकारीले रानी सामूदायिक उपभोक्ता समूह र मकवानपुरगढी बृहत खानेपानी योजना उपभोक्ता समितिलाई समेत सम्मानपत्र प्रदान गरेको छ ।
नेपाल आईभ स्टक सेक्टर इनोसेसनबाट ९५ लाख अनुदान गरी २ करोड ३४ लाख लगानीमा उद्योग सञ्चालनमा ल्याइएको संस्थाका व्यवस्थापक शशी लम्सालले बताईन् । सहकारीले दही, दुध, घ्यु, मोही, पनिर, छुर्पी, नौनी लगायत विभिन्न दुधका परिकार तयार पारी विक्री गर्ने गरेको व्यवस्थापक लम्सालले बताईन् ।