काठमाडौं / नेपाली चलचित्र पुजार सार्की हेरेपछि पूर्व मन्त्री तथा राष्ट्रिय समाजवादी पार्टीकी उपाध्यक्ष हिसिला यमीले नेपालका राजनीतिक दलहरूले गरेको क्रान्ति भन्दा पनि महान् क्रान्ति पुजार सार्कीले गरेको बताएकी छन् । बुधवार काठमाडौंको गोङ्गबुस्थित बिएसआर चलचित्र हलमा यो चलचित्र हेरेपछि उनले आफ्नो पार्टीका अध्यक्ष तथा पूर्व
प्रधानमन्त्री बाबुराम भट्टराईसहित थुप्रै नेताहरूलाई आग्रह समेत गरेकीहुन ।
चलचित्र हेरेर निस्कँदै गर्दा उनलाई धन्यवाद दिन चलचित्रका निर्देशक दिनेश राउत, लेखक बिकास सुवेदी, अभिनेता आर्यन सिग्देल, अभिनेत्री अञ्जना बराइली लगायत पुगेका थिए । टिमलाई प्रतिक्रिया दिँदै यमीले छुवाछुत अन्त्यको लागि पनि आर्य खसहरूले नै साथ दिनुपर्ने बताउनु भयो । यो चलचित्रले दिएको सन्देशलाई आफूले महान् क्रान्तिको रूपमा लिएको बताउदै उहाँले महिलाको हक हितको लागि महिला मात्र बोलेर हुँदैन, पुरुषले पनि साथ दिनुपर्नेमा जोड दिनु भयो ।
त्यस्तै, छुवाछुत अन्त्यको लागि पनि आर्य खसहरूले नै साथ दिनुपर्छ र आर्य खसहरूले आफ्नै विरुद्ध लड्नुपर्छ अनि मात्र परिवर्तन सम्भव छ उनले बताईन । अहिलेको अवस्थामा दलित मुक्तिको आन्दोलन दलितले मात्रै गरेर हुन्छ भनेर पुग्दैन,परम्परागत राजनीतिक पार्टी काँग्रेस, एमाले वा माओवादी सबैले गरेको क्रान्ति भन्दा पनि महान् क्रान्ति पुजार सार्कीले गरेको छ,उनले बताइन् ।
यमीले पछिल्लो समयका प्रदर्शन भइरहेका नेपाली चलचित्रहरूले राजनीतिकर्मीहरूलाई निरन्तर घचघचाउने काम गरेको उल्लेख गरिन् । उनले भनिन, अहिले आर्थिक रूपमा असाध्यै तल परिरहेको अवस्थामा मानिसको मनोबल तल गिरिरहेको छ । यस्तो अवस्थामा नेपाली चलचित्रकर्मीहरूले हामीलाई घचघचाउने विषयहरू ल्याईराख्नुभएको छ उनले बताईन पुजार सार्की चलचित्रले राजनीतिक रूपमा नै छुवाछूतको समस्या समाधान गर्न सकिन्छ भन्ने कुराले हामीलाई राहत दिएको छ । यो विषय अत्यन्त सही तरिकाले चलचित्रमा प्रस्तुत गरिएको छ ।
समाज सुधारको सन्दर्भमा अहिले प्रदर्शन भइरहेका चलचित्रहरूलाई राजनीतिक दल भन्दा पनि उच्च स्थानमा राखेको छु उनले बताईन । गएको जेठ १० गते रिलिज भएको पुजार सार्की विश्व बजारमा सफलताका साथ दोश्रो सातामा पनि प्रदर्शन भइरहेको छ । यस चलचित्रमा आर्यन सिग्देल, प्रदीप खड्का, पल शाह, अञ्जना बराइली, परीक्षा लिम्बु लगायतको प्रमुख भूमिका रहेको छ ।