हेटौंडा \ हेटौंडा सिमेन्ट उद्योगको अध्यक्षमा नरेन्द्र भण्डारी नियुक्त हुनु भएको छ । हेटौंडा उपमहानगरपालिका वडा नम्बर–९ निवासी भण्डारीलाई संघीय सरकारले सिमेन्ट उद्योगको अध्यक्षमा नियुक्त गरेको हो । यसअघि हेटौंडा सिमेन्ट उद्योगका अध्यक्ष गणेशप्रसाद भेटवालको निधन भएपछी अध्यक्ष पद खाली रहेको थियो । तीन वर्षिय कार्यकालका लागि उहाँलाई संघीय सरकारको मन्त्रिपरिषद् बैठकले निर्णय गरेको हो ।
संघीय सरकारको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले हेटौँडा सिमेन्ट उद्योगको अध्यक्षका लागि दरखास्त आव्हान गरेको थियो । मन्त्रालयले दरखास्त आव्हान गरेपछि ४ जनाले दरखास्त बुझाएका थिए । दरखास्त बुझाएका मध्ये हेटौँडाका भण्डारीसहित सञ्जीव कुमार देव र श्रीकृष्ण भद्र अर्याललाई अन्तरवार्तामा बोलाइएको थियो । जेठ १३ गते मन्त्रालयमा अन्तरवार्ता भएको थियो ।
नवनियुक्त हेटौंडा सिमेन्ट उद्योगका अध्यक्ष भण्डारीले उद्योगको अवस्था नाजुक र चुनौतीपूर्ण अवस्थालाई सुधार गर्ने जिम्मेवारी पाएको प्रतिक्रिया दिनुभयो ।।
‘हेटौंडा सिमेन्टको वर्तमान अवस्थाप्रति म दुई दशकदेखि प्रत्यक्ष रुपमा जानकार छु । उद्योगको अवस्था नाजुक छ । यो चुनौतीपूर्ण अवस्थामा उद्योगलाई सुधार गर्ने जिम्मेवारी पाएको छु,’ उहाँले भन्नुभयो, ‘सरकारले जुन विश्वास गरेको छ । त्यो विश्वासलाई म पूरा गर्नेछु ।’
हेटौंडा सिमेन्ट उद्योगको नियमित उत्पादन छैन । झन्डै ३० कर्मचारी–श्रमिक नियमित तलब, उपदान र सेवासुविधाको माग राख्दै महिनौंदेखि धर्नामा छन् ।
स्नातक तह उत्तीर्ण गरी ५ बर्ष अधिकृत सरहको कार्यअनुभव भएको ३५ देखि ६५ बर्ष उमेर समूहका नेपाली नागरिकबाट मन्त्रालयले दरखास्त आव्हान गरेको थियो । हेटौँडा–९ का भण्डारी मानविकी संकायमा स्नात्तकोत्तर तह उत्तीर्ण गरी निर्माण व्यवसायको क्षेत्रमा क्रियाशील हुनुहुन्छ । मकवानपुर उद्योग वाणिज्य संघको कार्यसमिति सदस्य समेत रहनुभएका भण्डारी विभिन्न सामाजिक संघ, संस्थामा पनि क्रियाशील हुनुहुन्छ ।