अन्तर्राष्ट्रिय साहित्य समाजका केन्द्रीय वरिष्ठ उपाध्यक्ष साहित्यकार सर्वज्ञ वाग्लेले समाजको अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन् । आगामी जुलाई ६ र ७ तारिकमा अनेसासको चुनाव हुदैं छ । सोही सेरोफेरोमा वाग्लेसँग गरिएको कुराकानीको सम्पादित अंश ।
वरिष्ठ उपाध्यक्ष सर्वज्ञज्यू, धेरै प्रतिष्पर्धी पनि हुनुहुन्न । अध्यक्षका प्रत्यासी तीन जना हुनुहुन्थ्यो, त्यसमा गोपाल सुबेदीले छोडी हाल्नु भयो । अब तपाइकै कार्य समितिको महासचिव विमला निरौला हुनुहुन्छ । उहाँ पनि तपाइँ भन्दा जुनियर नै भन्नु पर्छ । अत स्वभाविक रुपले पालो तपाइको भएकोले सहमति गर्दा भई हाल्यो नि हुन्न ?
तपाईले भनेको कुरा ठिक हो । तर दवाव दिएर कसैलाई तपाइँ बस्नुस म उठ्छु भन्दा अपमान जस्तो हुने । यो सब मिलाउने अग्रजहरुले हो । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजमा विधानत महत्वपूर्ण पदको जिम्मेवारी बहन नगरिकन एकै पटक आएर अध्यक्षमा उठ्न पाईदैन । म अनेसास नर्दन क्यालिफोर्निया च्याप्टरको पाँच-छ वर्ष अध्यक्ष चलाएर दुई वर्ष अनेसास केन्द्रको महासचिव भए पछि अहिले अनेसासको केन्द्रीय वरिष्ठ उपाध्यक्ष छु । प्रक्रियागत रुपमा म स्वतः दावेदार हुँ । त्यो सबैलाई थाहा छ । मलाइ त कि रिंग आउट हुनुस् भन्नु पर्यो कि अध्यक्ष बन्नुस् भन्नु पर्यो । तर बिमलाजीले योगदान दिन मिल्ने अझै धेरै स्टेपहरु छन् तर त्यो भन्ने भन्दा पनि महशुस गर्ने कुरा भयो ।
परम्पराको हिसाबले पनि, अनेसासमा आजसम्म वरिष्ठ उपाध्यक्ष भई आएका अग्रजहरू नै अध्यक्ष हुनु भएको छ । कुनै पनि संस्थाको अध्यक्ष हुनका लागि त्यो संस्थामा बसेर लामो समयसम्म काम गर्नु भएको व्यक्तित्व, संस्थालाई नजिकवाट नियाल्नु भएको सकरात्मक व्यक्तित्व, सरल, सहज, समभावी र मिलनसार व्यक्तित्वको आवश्यकता पर्दछ । त्यसमा पनि बौद्धिक संस्थाको नेता पारदर्शी, ईमानदार र कर्तव्यनिष्ठ हुनु जरूरी छ । त्यसको अलावा संगठन हाँक्ने व्यक्ति कुशल संगठन, प्रखर वक्ता, समस्यालाई टिमको परामर्शमा छलफल गरेर समस्या निराकरण गर्न सक्ने र आवश्यक पर्दा बोल्ड डिसिजन गर्न सक्ने हुनु पर्दछ । कुशल संगठकले आफूलाई सामान्य रूपमा प्रस्तुत गरेर प्रतिभावान् व्यक्तित्वलाई र संस्थालाई प्रतिष्ठित बनाउँछ । त्यसमा पनि हाम्रो बिओटी छ । त्यसमा काम गर्ने अग्रजहरु हुनुहुन्छ । विधानले व्यवस्था गरे अनुरुप उहाँहरुसँगको समन्वात्मक भूमिकामा नेतृत्व अब्बल हुन जरुरी छ ।
अनेसास नेपाली भाषा, नेपाली साहित्यको एउटा पवित्र घर हो । अर्को अर्थमा भन्दा मन्दिर जस्तै हो । कुनै पनि घर र मन्दिरको मजवुत जग, पिल्लर र पुजा कोठा सुन्दर तथा आकर्षक हुनु पर्दछ । हो मैले संस्थालाई त्यहि दिशामा लिएर जाने संकल्प गरेको छु ।
अनेसासको अध्यक्षमा सहमति बन्ला वा चुनावमै होमिनु पर्ला ? कस्तो छ अवस्था ? चुनाव त आइहाल्यो त !
हजुर पक्कै सहमतिलाई नकार्न सकिदैन । यहाँ सबैले सबैलाई सम्मान गर्ने परम्परा छ । पदका प्रत्येक खुट्किलाहरुको आफ्नै गरिमा हुन्छ । ती सबै ज्ञानका पाइलाहरु क्रमशः अगाडी बढी रहेका हुन्छन् । हाम्रो मन्दिरमा प्रत्येक खुट्किलाहरुको गरिमा छ र त्यसलाई हामीले सम्मान गरेका छौं जस्तो लाग्छ । मैले पनि अग्रजहरुको परम्परालाई मिचेको छु जस्तो लाग्दैन । गत चुनाव पछि हाम्रा आदरणीय अध्यक्षले भनेको एउटा कुराको मलाइ सम्झना छ, “सर्वज्ञजी अब यो दुई वर्ष पछि तपाईले नै अनेसास हाक्ने हो । किनकि अनेसासको इतिहासमा अहिलेसम्म वरिष्ठ उपाध्यक्ष नै अध्यक्ष भएको छ । च्याप्टरको अध्यक्ष देखि महासचिव हुँदै अहिले आएर क्रमैसँगै वरिष्ठ उपाध्यक्ष हुनु भएको छ । अब तपाईकै पालो हो । म यो दुई वर्ष अध्यक्ष चलाए पछि स्वतः सल्लाहकार हुन्छु” पछि पनि धेरै पटक मलाई त्यहि कुरा दोहोर्याई रहनु भएको थियो । त्यसरी नै अनेसास ट्रष्टिज आदरणीय सभापतीले पनि मेरो पदावधि चार वर्षको हुन्छ दुई वर्ष गोवर्धनजीसँग र दुई वर्ष तपाईसँग हुने भयो अनेसासमा ऐतिहासिक काम गर्नु पर्छु भन्नु भएको थियो ।
यो संस्था नेपाली भाषा, नेपाली साहित्य, नेपाली संस्कृति तथा हाम्रो सभ्यताको संरक्षण र संवद्र्धन गर्ने लेखक, ज्ञानी तथा विद्धानहरूको पारिवारिक मेलमिलापको साझा मन्दिर हो । त्यसैले यहाँ चुनावमा होमिनु पर्ने वातावरण खलवल हुने तथा झैंझगडा, गुट उपगुटको कुरै आउदैन भन्ने मलाई लाग्छ । अनेसासमा नेतृत्वको लागि प्राज्ञ अनुशासन भङ्ग गर्नु, अनावश्यक चलाकी गर्नु र नेतृत्वमा पुग्नको लागि अरुलाई निचा देखाउन खोज्नु आँफै सकिनु हो । किनकी सबै कुरा आजीवन सदस्यहरुले हेरिरहेका हुन्छन् । आदरणीय आजीवन सदस्यहरुले संस्थाभित्रको चलखेलको सन्दर्भमा प्रकाश पुगेको ठाउँ पनि देखेका हुन्छन् र अध्याँरो कुना पनि देखेका हुन्छन्, सहमति भए झनै राम्रो नत्र निर्णय सदस्यहरुको शिरोपर ।
तपाईका आगामी एजेण्डा के हुन सक्लान् ?
पुराना कामहरुलाई निरन्तरता दिँदै अनेसासमा केहि नयाँ कामहरुको थालनी गर्न मन लागेको छ । तर त्यो सबै टिमको निर्णयमा मात्र सम्भव छ । व्यक्तिले सम्भावित कामबारे प्रस्ताव राख्ने हो । अनेसासको अध्यक्ष झट्ट हेर्दा कार्यकारीजस्तो सुनिए पनि यो एक सामूहिक नेतृत्वको हिस्सा हो अथवा भनौँ अनेसासले अधिकांश सर्वसम्मत निर्णय लिनुपर्छ । बिधानसँग बाझिने जस्तो लागे वा दीर्घकालीन महत्वका निर्णय गर्नु परे बीओटीसँग परामर्श गरि सहमतिमा कार्यक्रम बनाउनु पर्छ । त्यसैगरी यसको ‘भिजन र मिसन’ विधानमा नै निर्दिष्ट छन् र त्यसलाई हामीले समयानुकूल परिमार्जन गर्न सकिन्छ । म एक अध्यक्षको उम्मेदवार हुनुले मेरा केही प्राथमिकता छन् । मेरा प्राथमिकता कुनै नौला विषय होइनन् । लामो समयदेखि अनेसासले आफ्नो योजनाका रूपमा छलफल गरिरहे पनि संगठित रूप दिन नसकेर नदेखिएका हुन् ।
यस्ता छन् मेरा एजेण्डाहरु
-विभिन्न व्यक्ति, संस्था, च्याप्टर तथा आजीवन सदस्यहरूका साथै जन समुदायबीच आपसी सद्भाव, प्रेम, सहयोग, मित्रता र सहकार्यको वातावरण सिर्जना गर्ने ।
-हरेक च्याप्टरहरूको थप विकास, विस्तार, सम्पर्क र सम्बन्धको विकास गर्दै, च्याप्टरहरूको व्यवस्थापन र संस्थागत विकासमा विशेष पहल गर्ने ।
-अनेसास विकासको विशेष योजना तर्जुमा गरी यसका गतिविधिहरूलाई विश्वका अझै धेरै देशहरूमा फैलाउने ।
-संस्थाका आजीवन सदस्य वा सरोकार पक्षबाट प्राप्त विभिन्न सुझावलाई ध्यानमा राखी समयसापेक्ष ढङ्गले अनेसासको विधान संशोधन गर्नु परेमा पहल गर्ने ।
-डायस्पोरामा नेपाली साहित्यको विश्वव्यापीकरण अभियानमा थप पहल गर्न अनुवाद साहित्यमा जोड दिई नेपाली साहित्यका विभिन्न विधाका उत्कृष्ट कृतिहरूको अनुवाद गरेर प्रकाशन गर्दै विश्वभरीका डायास्पोरिक कृति संग्रह प्रकाशन गर्दै विश्वबजारमा पुर्याउन पहल गर्ने ।
-अनेसासका बोर्ड अफ ट्रस्टी र आजीवन सबै सदस्यहरूलाई परिचयपत्र तथा प्रमाणपत्र प्रदान गर्ने ।
-अमेरिकाको वासिङ्टन डिसीमा केन्द्रीय कार्यालय भवन निर्माणमा विशेष पहल गर्ने ।
-अनेसासलाई थप पारदर्शी, मर्यादित र व्यवस्थित गर्दै आन्मा, नेपाल प्रज्ञा प्रतिष्ठान, विभिन्न एकेडेमी, शिक्षा मन्त्रालय लगायत अन्य सङ्घसंस्था तथा सरकारी निकायसँग साझेदारी र सहकार्य गरी साहित्यिक गतिविधिलाई अगाडि बढाउने ।
-बोर्ड अफ ट्रस्टीका सदस्यहरू, पृ्र्वअध्यक्षहरू, सल्लाहकारहरू, आजीवन सदस्यहरू तथा सम्पूर्ण साहित्यानुरागीहरूबाट प्राप्त सुझावलाई ग्रहण गर्दै संस्थाको विकासका लागि विभिन्न गतिविधिहरूलाई अझ व्यापक र विस्तार गर्ने ।
-अनेसासबाट सञ्चालित पुरस्कार, अभिनन्दन, सम्मान तथा अन्तर्राष्ट्रिय सम्मेलनहरूलाई निरन्तरता दिँदै थप विकास र विस्तार गर्ने ।
-अघिल्ला कार्यसमितिहरूबाट थालिएका कामहरूलाई निरन्तरता दिने तथा हालसम्म सम्पन्न विभिन्न सम्मलेनबाट पारित घोषणापत्रहरू कार्यान्वयन गर्ने ।
-नेपालमा यौटा सम्पर्क कार्यालय, गोष्ठी, भवन तथा सबैको झोला बिसाउने ठाउँ बनाउन विशेष पहल गर्ने ।
-अनेसासका संसारमा छरिएर रहनु भएको साहित्यिक व्यक्तित्वलाई एकत्रित गर्दै अनेसासको आफ्नै अनलाई खबर, आफ्नै प्रकाशन, आफ्नै सम्पादन र आफ्नै साहित्यिक गतिविधिलाई बढावा दिन कार्यक्रम ल्याउने ।
-नेपाल बहिरका कृति संग्रह गरी एक आकाइब निर्माण गर्ने,जसले गर्दा अध्येता अनुसन्धानतालाई सुविधा पुगोस् ।
-नेपाली साहित्यलाई नयाँ पुस्तामा हस्तान्तरण गर्न प्रतियोगितात्मक कविता, कथा, निबन्ध लेखनजस्ता कार्यक्रम गर्ने ।
वर्तमान अध्यक्ष गोवर्धन पूजाले नै पुन दोहोर्याउन चाहेको खण्डमा तपाई प्रतिष्पर्धा गर्न तयार हो ?
जहाँसम्म मलाई लाग्छ अध्यक्ष ज्यूले दोहोर्याउनु हुदैँन । त्यो खालको इच्छा पनि कहीँ कतै जाहेर गर्नु भएको छैन । कथंकदाचित उहाँले दोहोर्याउनु भयो । उहाँका कुनै त्यस्तै अपुरा एजेण्डाहरू छन् भने पनि यो सामुहिक हामीले छलफल गर्न सकिन्छ । ती एजेण्डालाई उहाँका सहकर्मी वा चेलाचेलीले मिच्माच पार्लान जस्तो पनि लाग्दैन । किनकि यो संस्था अग्रजको आँखा बनेर हुर्कंदै आएको संस्था हो । प्राज्ञिक संगठन भएकोले अनेसासमा अग्रजहरुको अगाध सम्मान हुन्छ । त्यसैले त पहिला पनि सल्लाह मै उहाँ अध्यक्ष लड्नु भयो म वरिष्ठमा लडेँ, अनुमोदित भएँ । यसरी नै क्रम भङ्ग नगरी अनेसासको प्रणालीगत संरचनालाई सम्मान गर्दै प्रोमोसन हुँदै आएको छु ।
अन्तिम भनाइ केहि छ ?
अन्त्यमा,जीवनमा मैले अर्का सम्मानित सहकर्मीलाई गलत देखाएर भोट मागेको पनि छैन र अरुको सम्मान गरेरै आएको छु । अनेसासमा प्रतिष्पर्धी वा प्रत्यासी भनेका जाँच दिन बसेका विद्यार्थी जस्तै हौँ । हामी परिवार नै हौँ । परिवारमा हजुर बा, हजुरआमा,बुबा-आमा दाजु-भाई,दिदी-बहिनी सबैको आफ्नो आफ्नो गरिमा, मर्यादा र जिम्मेवारी हुन्छ । यो अनेसासमा त्यहि पारिवारिक संस्कार छ । हामी अनुमोदन हुनु नहुनु भन्दा ठुलो कुरा संगठनको सहकर्मी र अग्रजलाई सम्मान गर्ने संस्कार हो । जीतहार भन्ने कुरा साहित्यिक संघ संस्थामा त्यति प्रयोग हुँदैन र गर्नु पनि उपयुक्त लाग्दैन । त्यो राजनीति वा युद्धमा प्रयोग हुने शब्द हो । जीत हारले कमजोर पक्षको पूर्ण निषेधलाई जन्म दिन्छ । तर हामीले अनेसासको निर्वाचन प्रक्रियामा अनुमोदन हुन पछि परेका सहकर्मीहरुलाई निषेध हैन सम्मान पुर्वक सहकर्मी नै बनाएर लैजान्छौँ । यो नै अनेसासको संस्थागत प्राज्ञिक सोच हो । सबैले चुनावलाई त्यसरी नै बुझ्नु हुनेछ भन्न चाहन्छु । धन्यवाद, जय अनेसास ।