हेटौंडा \ वन्यजन्तुहरुले व्यापकरुपमा दुख दिएको भन्दै हेटौंडा ९ का बासिन्दाहरुले चिन्ता व्यक्त गरेका छन । जङ्गल नजिकै बसोवास गर्ने उपभोक्ताहरुले लगाएको अन्नबाली, पकाएको खाना मात्र हैन मानिसहरुलाई आक्रमण समेत गरि घाईते बनाएको भन्दै आक्रोस व्यक्त गरेका छन ।
पटक पटक प्रदेश सरकार र स्थानीय सरकार समेतलाई यस विषयमा जानकारी गराउँदा समेत समाधान नभएको भन्दै उनीहरुले आफनो माग सुनुवाई नभए आन्दोलनाम उत्रने बताए । उनीहरुले वन्यजन्तुले क्षति पुर्याएको अन्नबालीको उचित क्षतिपूर्ति पाउनु पर्ने माग समेत गरे ।
कार्यक्रममा बागमती प्रदेश सभा सदस्य भारती पाठकले आफूले यस विषयमा प्रदेश सभामा कुरा उठाउने बताईन । वन्यजन्तुले उपभोक्ताहरुको बालीनाली क्षति पुर्याएमा उचित क्षतिपूर्तिको व्यवस्था गर्नु पर्नेमा उहाँको जोड थियो । बाँदरको स्थानान्तरण गरि समस्याको समाधान गर्न सकिने बताउदै यसको सहि निराकरण गर्न नसकिएमा देशव्यापी समस्या आउने बताईन ।
कार्यक्रममा सामुदायिक वन उपभोक्ता महासंघका केन्द्रीय सदस्य रामहरि चौलागाई, मकवानपुर अध्यक्ष साधुराम चौलागाई, स्थानीय महासंघ हेटौंडाका अध्यक्ष शम्भुप्रसाद न्यौपाने, हेटौंडा ९ का वडा सदस्य विष्णु राना, वन अधिकृत दीपक अधिकारी , हेटौडा सव डिभिजन वन कार्यालयकी प्रमुख सविना रिजाल, प्रगतिशील टोल विकास संस्था अध्यक्ष जयराम खतिवडा, दीव्यज्योति आधारभूत विद्यालयका अध्यक्ष राजेन्द्र पौडेल, समूहकी सचिव लक्ष्मी अधिकारी, सञ्चारकर्मी भीमसेन पौडेल लगायतकाले बाँदर लगायतका वन्यजन्तु नियन्त्रणमा सबैको सहयोग आवश्यक पर्ने बताए ।
बेतखोल्सी सामूदायिक वन उपभोक्ता समूहको आयोजनामा भएको कार्यक्रम समूहका अध्यक्ष बासुदेव प्याकुरेलको सभाध्यक्षतामा भएको थियो ।