हेटौँडा \ मकवानपुरको हेटौँडा उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि कुल रु. २ अर्ब ४३ करोड ८० लाख ७१ हजार रुपैयाँ बजेट विनियोजन गरेको छ । आइतबार १५ औँ नगरसभा बैठकमा हेटौँडाका उपप्रमुख राजेश बानियाँले चालु आवको तुलनामा रु. ४६ करोड ७२ लाख २० हजार रुपैयाँ अर्थात १६.०७ प्रतिशत कम बजेट आगामी आवका लागि प्रस्ताव गर्नुभएको छ । उपप्रमुख बानियाँले राष्ट्रिय अर्थतन्त्रमा देखिएको प्रतिकुलता, संघ र प्रदेशबाट भएको घट्दो बजेट सीमाका कारण आगामी आवमा बजेटको आकार घटाइएको बताउनुभयो ।
आगामी आवका लागि अनुमान गरिएको खर्च व्यहोर्ने स्रोतमध्ये संघीय सरकारको अनुदानबाट रु. १ अर्ब १६ करोड ५३ लाख, आन्तरिक स्रोतबाट रु. ५३ करोड २७ लाख ९५ हजार, राजस्व बाँडफाँडबाट ६१ करोड ६५ लाख तथा प्रदेश सरकारको विभिन्न अनुदानबाट रु. ११ करोड १७ लाख रुपैयाँ रहेको छ, उपप्रमुख बानियाँले भन्नुभयो ।
उपमहानगरले पूर्वाधार क्षेत्र विकासमा पर्ने सडक, ऊर्जा, बत्ती, जलस्रोत, पर्यटन, भवन तथा अवासलगाततर्फ रु. ८८ करोड ८६ लाख ९९ हजार रुपैयाँ, आर्थिक विकासतर्फ रु. ७ करोड ५६ लाख, सामाजिक विकासतर्फ रु. ९३ करोड १९ लाख, वातावरण तथा विपद् व्यवस्थापनतर्फ रु. ३ करोड १२ लाख, कार्यालय सञ्चालन तथा प्रशासनिक खर्च एवम् वित्तीय व्यवस्थापनतर्फ साँवा व्याज भुक्तानीका लागि रु. ४० करोड ६२ लाख सुशासन तथा संस्थागत विकासतर्फ रु. २ करोड ५१ लाख रुपैयाँ विनियोजन गरेका छौँ, बानियाँ बताउनुभयो ।
आगामी आर्थिक वर्षमा जिम्मेवारी सर्ने योजनाको भुक्तानीका लागि रु. १७ करोड, खानेपानीको न्यून महसुल भुक्तानीका लागि रु.२ करोड ८ लाख, नागस्वती फुटबल स्टेडियम निर्माणका लागि रु. १ करोड ७२ लाख, हेटौँडा चक्रपथअन्तर्गत् १५, १६ र १७ नम्बर वडाका लागि रु. २ करोड रुपैयाँ विनियोजन गरिएको उहाँले बताउनुभयो । नगरसभामा नगर प्रमुख मीनाकुमारी लामाले प्रस्तुत गरेको आव २०८१÷०८२ को हेटौँडा उपमहानगरको नीति तथा कार्यक्रम सर्वसम्मतरुपमा पारित समेत गरिएको छ ।