हेटौंडा \ बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि संस्कृति, पर्यटन तथा सहकारी मन्त्रालयका लागि दुई अर्ब ४६ करोड बजेट विनियोजन गरिएको छ । शनिबार आर्थिक मामिला तथा योजना मन्त्री जगन्नाथ थपलियाले बजेट प्रस्तुत गर्नुहुँदै प्रदेश भ्रमण वर्ष २०२४ को निरन्तरता सहित प्रदेश भित्रका पर्यटकीय गन्तव्य तथा पर्यटन क्रियाकलापहरुको प्रवर्धन कार्यक्रम सञ्चालन गरिनेछ बताउनुभयो । उहाँले थप पर्यटकीय गन्तव्य तथा पर्यटन विधाहरुको पहिचान र प्रवर्धनको लागि र पर्यटकहरुको यात्रा तथा भ्रमण योजनामा सहजीकरण गर्नको लागि ट्राभल बुक तयार गरिने बताउनुभयो । बाह्य पर्यटकको संख्या वृद्धि गर्न छिमेकी मुलुकका प्रमुख सहरहरुमा पर्यटक लक्षित रोड सो, मेला, महोत्सव जस्ता पर्यटन प्रवद्र्धन कार्यक्रम सञ्चालन गरिने जनाउनुभयो ।
मन्त्री थपलियाले अन्तर प्रदेश समन्वयमा जनकपुर, लुम्बिनी, देवघाट र मुक्तिनाथ जोड्ने सांस्कृतिक सम्पदा परिपथ विकास गरिने बताउँदै चितवनका सौराह, मेघौली, माडी र सिराइचुली जोडेर पर्यापर्यटन परिपथ, पाटन दरबार क्षेत्र, बसन्तपुर, कीर्तिपुर, भक्तपुर र चाँगुनारायण क्षेत्र जोडेर सम्पदा परिपथ र काठमाडौंको पशुपतिनाथ, डोलेश्वर, दत्तात्रय, सुवर्णेश्वर, अनन्त लिङ्गेश्वर, सन्तानेश्वर, महादेव पोखरी जोडेर शिव परिपथ विकास गरिने बताउनुभयो । उहाँले चितवनका सौराह, मेघौली, गोलाघाट, भक्तपुरको नगरकोट, दोलखाको शैलुङ क्षेत्रलाई खुला चलचित्र छायांकन क्षेत्रको रुपमा विकास गर्ने योजना प्रदेश सरकारको रहेको बताउनुभयो ।
बागमती प्रदेशमा रहेका विभिन्न जात्रा तथा पर्वहरुको संरक्षण, संवर्धन र सञ्चालनका लागि अक्षयकोष स्थापना गर्न रु. ५ करोड विनियोजन गरेको मन्त्री थपलियाले भन्नुभयो । बागमती प्रदेशभित्र रहेका कला, संस्कृति, भाषा, लिपि, जातजाति, धर्म, बाजागाजा आदिका बारेमा अध्ययन अनुसन्धान गरिने बताउनुभयो ।
प्रदेश सरकारले नेपालको विभिन्न कालखण्डमा भएका राजनीतिक क्रान्ति र परिवर्तनको इतिहास प्रतिविम्वित हुने क्रान्ति स्मृति सङ्ग्रहालय स्थापनाका लागि आवश्यक बजेट व्यवस्था गरेको मन्त्री थपलियाले बताउनुभयो । बागमती प्रदेशलाई आकर्षक पर्यटक गन्तव्यको रुपमा विकास गरी पर्यटकको बसाइ अवधि लम्ब्याउन र प्रति पर्यटक खर्च वृद्धि गर्न पर्यटन पूर्वाधार निर्माण तथा सुधार गरिने सरकारको योजना रहेको छ, मन्त्री थपलियाले भन्नुभयो । । ‘हामीले प्रदेश सभाको प्रत्येक निर्वाचन क्षेत्रमा एक विशेष पर्यटकीय क्षेत्र पहिचान गरी एकीकृत पर्यटन विकास कार्यक्रम सञ्चालनका लागि सम्भाव्यता अध्ययन गर्न बजेट व्यवस्था गरेका छौं ।’
बागमती प्रदेशभित्र रहेका मूर्त र अमूर्त संस्कृति र सम्पदाको संरक्षण गर्न आवश्यक रहेकाले सरकारले नीति तर्जुमा गरि समुदायको सहभागितामा विभिन्न जातजाति, भाषा, साहित्य, दर्शन, संस्कृति, कला, पुराना बाजा, सङ्गीत, नाच र नाट्य लगायतका अमूर्त सांस्कृतिक सम्पदाको सूचीकरण, संरक्षण र प्रवर्धनात्मक कार्यक्रमहरु सञ्चालन गरिने उहाँले बताउनुभयो ।