हेटौँडा \ बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले जनतालाई सही सूचना उपलब्ध गराउन आधुनिक सञ्चार माध्यमको सकारात्मक भूमिका अत्यावश्यक रहेको बताउनुभयो । राष्ट्रको उत्थान गर्न, अवसर खोज्न आधुनिक मिडियासँगको सम्बन्धमा सुनेको सामान्य जनताको भावनाको बारेमा वर्णन गर्न आवश्यक छ उहाँको भनाइ थियो ।
विहीबार हेटौँडामा आयोजित स्वस्थ्य तथा सुखी समाजका लागि आध्यामिक सशक्तिकरणमा मिडियाको भूमिका विषयक सेमिनार कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उहाँले गैरजवाफदेहीताले मिडियालाई बन्दुकको फायरिङभन्दा बढी हानिकारक बनाउने बताउनुभयो ।
उहाँले सञ्चारकर्मीहरूलाई निष्पक्ष ढङ्गले कलम चलाएर इमान्दार पत्रकारिताको नमूना बन्न सक्नुपर्नेमा जोड दिनुभयो । जथाभावी अन्धाधुन्धा कलम चल्दा जनताको स्वाभिमानको हत्या गर्ने भएकाले निष्पक्ष सक्रियताको अभ्यास आजको आवश्यकता रहेको औल्याउनुभयो । जिम्मेवार र जवाफदेही आधुनिक सञ्चारमाध्यमको कलम सत्यतथ्यमा आधारित नहुँदा सिङ्गो पत्रकारितामा धमिलोपन हुने बताउनुभयो ।
मिडियाले भ्रष्टाचार नियन्त्रण, सुशासन, गरिबी निवारण, समानता र सामाजिक न्याय, गुणस्तरीय शिक्षा, राम्रो स्वास्थ्य सुविधा र संविधानमा उल्लेखित जनताका मौलिक हकको प्रत्याभूति जस्ता केही प्रमुख विषयमा आफ्नो भूमिका निर्वाह गर्नुपर्छ, प्रमुख शर्माले भन्नुभयो । सञ्चारमाध्यम आवाजविहीन, राष्ट्रिय पुनर्निर्माण प्रक्रियाका सामाजिक इन्जिनियर र भौगोलिक सिमाना पार गर्ने सभ्यताको अग्रगामी हुनुपर्छ, शर्माले भन्नुभयो ।
ब्रह्माकुमारी राजयोग सेवा केन्द्र हेटौँडा र मिडिया प्रभाग ब्रह्माकुुमारीज् माउन्ट आवुको आयोजनामा भएको कार्यक्रममा मिडिया प्रभाग माउन्ट आवु राजस्थानका नेशनल को-अर्डिटर डा. ब्रह्माकुमार शान्तनु, हैदरावादका को-अर्डिटर सरला दिदी, डा. दीन दयाल मित्तल, वरिष्ट राजयोग प्रशिक्षक अर्जुन श्रेष्ठ, नेपाल पत्रकार महासंघ बागमती प्रदेश समितिका निवर्तमान अध्यक्ष प्रताप विष्ट लगायतले स्वस्थ्य तथा सुखी समाजका लागि आध्यामिक सशक्तिकरणको आवश्यकताबारे धारणा राख्नुभएको थियो । कार्यक्रमले भारतको राजस्थानका सञ्चारकर्मी र मकवानपुरका सञ्चारकर्मीबीच समन्वयात्मक भावना पैदा गर्न सहयोग पुग्ने कार्यक्रम संयोजक ब्रह्माकुमार विजयले बताउनुभयो । कार्यक्रम ब्रह्माकुमारी राजयोग सेवा केन्द्र मकवानपुरका क्षेत्रीय प्रमुख ब्रह्माकुमारी सुशीला दिदीको सभाध्यक्षतामा भएको थियो ।