हेटौँडा \ मकवानपुर प्रहरीले करिब पौने तीन करोड बराबरको अवैध सामान बरामद गरेको छ । विशेष सुचनाको आधारमा बागमती प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरिक्षक सीताराम रिजालको नेतृत्वमा रहेको प्रहरी टोलीले अवैध ५८ कार्टुन भेप तथा भेपको फ्लेवरहरू बरामद गर्नुका साथै पाँच जनालाई नियन्त्रणमा लिइएको छ ।
प्रहरी टोलीले विहीबार राती करिब ८ बजेको समयमा हेटौँडा उपमहानगरपालिका वडा-११ थानार्भयाङ स्थित सडक खण्डमा काठमाडौंबाट हेटौँडा हुँदै भारतको दिल्ली तर्फ जानको लागि आउँदै गरेको ना ६ ख ७१६३ नम्बरको यात्रु बाहक बसलाई रोकेर चेकजाँच गर्दा उक्त भेप र भेपका फ्लेवरहरु बरामद गरिएको प्रमुख सीताराम रिजालले बताउनुभयो ।
हामीले बसमा रहेका भारतीय यात्रुहरुलाई बसबाट ओराली शंकास्पद व्यक्तीहरु बस चालक सहित ५ जनालाई नियन्त्रणमा लिई खानतलासी गर्दा बसको यात्रु बस्ने सिट माथी सिलिङको भागमा फल्सबटम बनाई उक्त सामान फेला पारेका हौं, प्रमुख रिजालले भन्नुभयो । उनीहरुले उक्त सामान अवैध रुपमा भन्सार छली चोरी पैठारी गरी ल्याएका हुन् । उक्त सामानको मूल्य रु. दुई करोड ७१ लाख २१ हजार ७ सय ८० पर्ने रिजालले भन्नुभयो ।
भेपका समानहरु, ना ६ ख ७१६३ नम्बरको बस सहित पाँच जना व्यक्तीहरुलाई थप अनुसन्धान तथा कारबाहीको लागि राजस्व अनुसन्धान कार्यालय पथलैया बारा पठाइएको प्रहरी नायब उपरीक्षक एंव प्रवक्ता लक्ष्मी भण्डारीले बताउनुभयो । पक्राउ पर्नेमा बस चालक भीमेश्वर नगरपालिका २ का सलाम मोक्तान, सह चालक कटारी नगरपालिका ११ बस्ने प्रविन्द्र राना, दुप्चेश्वर गाउँपालिका ७ का ईन्द्र बहादुर दर्जी, सोही स्थानका सन्तोष भुसाल र बेलारा नगरपालिका १६ राज कुमार हिमाङ रहेको प्रवक्ता भण्डारीले बताउनुभयो ।
अनुसन्धानको क्रममा उक्त सामान काठमाडौंको बालाजु बसपार्क भन्दा माथि भत्केको पुलको एरियाको रमाईलो डाँडाबाट लोड गरेको, बसमा फल्स सिलिङ पहिले देखि नै रहेको, बस नेपाल दिल्ली चल्ने आधिकारिक बस नभएको खुलेको प्रवक्ता भण्डारीले बताउनुभयो ।