मकवानपुरगढी \ मकवानपुरको मकवानपुरगढी गाउँपालिकालाई शनिवार अनिवार्य तथा निशुल्क शिक्षा लागू भएको पालिका घोषणा गरिएको छ । नेपालको संविधान २०७२ को भाग ३ मौलिक हक अन्तर्गत धारा ३१ र अनिवार्य तथा निशुल्क शिक्षा सम्बन्धी ऐन २०७५ बमोजिम पालिकालाई अनिवार्य तथा निशुल्क शिक्षा लागु भएको पालिका घोषणा गरिएको हो । मकवानपुरगढी गाउँपालिका वडा नम्बर २, शिखरकटेरीस्थित चण्डिका माध्यमिक विद्यालय परिसरमा भएको एक औपचारिक कार्यक्रमकाबीच पालिकालाई अनिवार्य तथा निशुल्क शिक्षा भएको पालिका घोषणा गरिएको हो ।
मकवानपुरगढीलाई अनिवार्य तथा निशुल्क शिक्षा भएको पालिका घोषणा गर्दै कार्यक्रमको प्रमुख अतिथि समेत रहेका जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित घलानले घोषणालाई घोषणामै सिमित नगरी पूर्णरुपमा कार्यान्वयनमा ल्याउन आग्रह गरे । उनले सरकारले अहिले शिक्षा क्षेत्रलाई प्रविधि मैत्रि र भौतिक पूर्वाधारले सम्मन्न पार्ने काम गरिरहेको दावी गरे । ‘सरकारले शिक्षा क्षेत्रलाई सर्वशुलभ र भौतिक तथा प्रविधि मैत्रि बनाउन खोजि रहेको छ । सरकारले विद्यालय बस उपलब्ध गराउने, विद्यालयमा नर्स र विद्यार्थीमैत्री भवन निर्माण गरिदिने जस्ता गरिरहेको छ । यसआवाट हामीले बढीभन्दा बढी फाइदा लिन सक्नुपर्छ,’ उलने भने ।
आफ्नो पालिकाका कोही पनि बालबालिका विद्यालय बाहिर नहुन भन्नका लागी जनप्रतिनिधिहरुले चासो दिनुपर्ने उनको भनाई थियो । जिसस प्रमुख घलानले घाउँघर र टोल टोलमा पुगेर विद्यालय बाहिर रहेका बालबालिकालाई विद्यालयसम्म आउँने वातावरण तयार पार्न पनि उलने जनप्रतिनिधिहरुलाई निर्देशन दिए । पालिकाले निशुल्क शिक्षा घोषणाका लागि तोकिएको सबै मापदण्ड पूरा गरेको गाउँपालिकाका अध्यक्ष दोर्जे लामा स्याङ्तानले जानकारी दिए ।
उनले यसअघि पालिका भित्रका सम्पूर्ण ८ वटा वडाहरुलाई अनिवार्य तथा निशुल्क शिक्षा लागू भएको वडाहरु घोषणा गरिएको बताए ।
गाउँपालिका अध्यक्ष दोर्जे लामा स्याङ्तानको सभाध्यक्षतामा भएको कार्यक्रममा शिक्षा विकास तथा समन्वय इकाई प्रमुख दीनानाथ गौतम, शिक्षा विकास निर्देशानलयका निर्देशक देवनारायण चौधरी, पूर्व गाउँपालिका अध्यक्ष विदुर हुमागाई, उपाध्यक्ष मानकुमारी पाख्रीन, गाउँपालिकाका वडा अध्यक्षहरु, पालिकाका प्रमुख प्रशासकीय अधिकृत नवीन गङ्तान लामा, राजनीतिक दलका प्रतिनिधि, विद्यालयका प्रअ तथा विभिन्न शिक्षा क्षेत्रका व्यक्तित्वहरुको आतिथ्यता रहेको थियो ।