कैलाश \ गरिबी र अशिक्षाका कारण प्रयाप्त सन्तुलित आहार नपाउँदा मुलुकका अधिकांश विकट गाउँका बालबालिका र गर्भवती तथा सुत्केरी महिला कुपोषणको सिकार बनिरहेका छन् । मकवानपुरको विकट कैलाश गाउँपालिकामा पनि बालबालिका, सुत्केरी तथा गर्भवती महिलामा हुने कुपोषणको दर उच्च मात्रामा रहेको छ ।
विकटताकै कारण अशिक्षा र गरिबीको चपेटामा परिरहेका समुदायमा कुपोषणको समस्या बढ्दै जान थालेपछि त्यसको पहिचान र उपचारको लागि कैलाश गाउँपालिकाले चालु आर्थिक वर्षदेखि कुपोषण निराकरणमा अभियान नै चलाएको छ । कुपोषितको खोजी गरी गाउँपालिकाले कडा शीघ्र कुपोषण भएकाहरुलाई बहिरंग स्वास्थ्य उपचार केन्द्र नै स्थापना गरी उपचार गरिएको छ भने मध्यम शीघ्र कुपोषण भएकाहरुलाई नियमित रुपमा पौष्टिक आहार उपलब्ध गराएको छ । ‘कुपोषणरहित गाउँपालिका, हाम्रो अभियान’ भन्ने नाराका साथ अघि बढेको गाउँपालिकाले गाउँका हरेक टोलमा पुगी कुपोषितको ‘खोज र उपचार गर’ अभियान चलाएको थियो । सो अभियानअन्तर्गत गाउँपालिकामा चालु आर्थिक वर्षमा ८२ जना कुपोषित महिला र बालबालिका भेटिएका थिए । जसमध्ये २६ जना कडा शीघ्र कुपोषित र ५६ जना मध्यम शिघ्र कुपोषित रहेका थिए । कुल संख्यामध्ये कुपोषित बालबालिका ४८ छन् भने २६ जना गर्भवती र सुत्केरी महिलामा कुपोषण भेटिएको थियो ।
गाउँपालिकाको स्वास्थ्य शाखा, स्वास्थ्य चौकीका कर्मचारी र स्वास्थ्य स्वयम्सेविका १० वटै वडामा परिचालन गरी एक हप्ते अभियान चलाएर कुपोषित गर्भवती र सुत्केरी महिला÷बालबालिकाको खोजी गरिएको गाउँपालिकाका स्वास्थ्य शाखाका प्रमुख कृष्ण यादवले बताए । गरिब तथा चेपाङ परिवारमा पोषण कार्यक्रम शीर्षकमा गाउँपालिकाले चालु आर्थिक वर्षमा ५० लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो । सो बजेटबाट कुपोषित महिला र बालबालिकालाई नियमित पोषणयुक्त खानेकुरा वितरण गर्नुका साथै उनीहरुलाई आयआर्जनमा सघाउ पुग्ने कार्यक्रम लगिएको शाखा प्रमुख यादवले बताए ।
कुपोषित गर्भवती सुत्केरीका लागि गाउँपालिकाले हरेक बार खाना चार कार्यक्रमअन्तर्गत अण्डा, क्वाटी, हर्लेक्स, घ्यू, मासको दाल, ओखर, काजु र सरसफाइ कीट उपलब्ध गराउँदै आएको छ । त्यस्तै कुपोषित बालबालिकाको लागि पोषण खीर, पोषण खिचडी, पोषण हलुवा मासिक रुपमा उपलब्ध गराउँदै आएको छ । उनीहरुले नियमित रुपमा पोषणयुक्त खानेकुरा कसरी सन्तुलन मिलाएर खाने, बालबालिकाको पोषण खीर, खिचडी र हलुवा कसरी पकाउने भन्नेबारे पनि गाउँपालिकाले सम्बन्धित परिवारका सदस्य राखेर अभिमुखीकरण दिइसकेको छ ।
कडा शीघ्र कुपोषणको उपचारको लागि गाउँपालिकाका ३ स्थानमा बहिरंग स्वास्थ्य उपचार केन्द्र स्थापना गरिएको छ । ३ नम्बर वडाको कटुन्जे स्वास्थ्य चौकी, ८ नम्बर वडाको भार्ता स्वास्थ्य चौकी र ७ नम्बर वडाको निको स्वास्थ्य चौकीमा केन्द्र राखिएको छ । ‘उपचार केन्द्रमा कडा शीर्घ कुपोषणका सिकिस्त बिरामी भए भर्ना गरेर राखिन्छ, सामान्य भएपछि २ हप्ताका लागि पूर्व तयारीयुक्त उपचारात्मक खाना दिएर पठाउने गरेका छौँ । पोषणयुक्त उपचारात्मक खाना नियमित खाएपछि कुपोषण कम हुँदै जान्छ, मान्छे स्वस्थ हुँदै आउँछ ।’ स्वास्थ्य शाखा प्रमुख यादवले भने । गाउँपालिकाको ३,४,७ र ८ मा सबैभन्दा बढी कुपोषणका बिरामी छन् । सोही वडाहरुलाई लक्षित गरी उपचार केन्द्र स्थापना गरिएको स्वास्थ्य शाखाले जनाएको छ ।
स्वास्थ्य मापदण्डअनुसार ५ वर्ष मुनिको बालबालिकाको पाखुराको नाप ११.५ सेन्टिमिटर भन्दा कम भएमा, खुट्टा सुन्निएको र भोक नलाग्ने समस्या देखिएमा त्यसलाई कडा शीघ्र कुपोषण मानिन्छ । साथै ५ वर्षमुनिका बालबालिकाको पाखुराको नाम ११.५ देखि १२.५ सेन्टिमिटर भएमा मध्यम शीघ्र कुपोषण भएको पुष्टी गरिन्छ । यसैगरी गर्भवती र ६ महिनाभित्रको सुत्केरी महिलाको हकमा पाखुराको नाममा २१ सेन्टिमिरभन्दा कम भएमा कडा शीघ्र कुपोषण मानिन्छ । २१ देखि २५ सेन्टिमिटर भएमा मध्यम शीघ्र कुपोषण भएको पुष्टी गर्दै उपचार विधि सुरु गरिने स्वास्थ्य शाखाका प्रमुख कृष्ण यादवले बताए ।
अशिक्षा, गरिबी र बाल बिवाहका कारण गाउँपालिकामा कुपोषण बढी रहेको गाउँपालिकाका अध्यक्ष लोक मुक्तानको भनाइ छ । ‘पहिलो कुरा त गरिबीका कारण सन्तुलित खाना खान पाउँदैनन्, अशिक्षाका कारण पोषणयुक्त खानेकुराको ज्ञान पनि छैन र सानै उमेरमा बिहे गरी बच्चा जन्माउँदा आमा र बच्चा दुवै कुपोषणको सिकार हुने सम्भावना हुन्छ ।’ अध्यक्ष लोक मुक्तानले भने । अशिक्षा, गरिबीलाई न्युनीकरण गर्न गाउँपालिकाले योजनावद्ध विकास गरिरहेको सुनाउँदै अध्यक्ष मुक्तानले कुपोषण पनि गाउँको समस्याका रुपमा रहेकाले त्यसको निराकरणका लागि काम थालिएको बताए । कुपोषितको उपचारका साथै उनीहरुलाई आयआर्जनमुलक काममा जोड्न तरकारीको बिउ वितरण, उन्नत जातको बाख्रा वितरण पनि गरिएको अध्यक्ष मुक्तानले बताए ।
गाउँपालिकाले चालु आर्थिक वर्षमा कुपोषण पुष्टी भएको घरपरिवारका लागि ८ किसिमका तरकारीका बिउबिजन उपलब्ध गराएको छ । कुपोषित परिवारमध्ये पिछडिएको र सबैभन्दा गरिब परिवार पहिचान गरी २१ परिवारलाई प्रति घर एउटाका दरले बोयर जातको बाख्रा वितरण गरिएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख यादवले बताए ।
पहिचान भएका कुपोषितलाई नियमित रुपमा पोषणयुक्त खानेकुरा उपलब्ध गराएसँगै कुपोषणबाट मुक्ति पाउने क्रममा रहेको र सो कार्यक्रममा गाउँपालिकाले आगामी आर्थिक वर्षमा पनि निरन्तरता दिने स्वास्थ्य शाखाको योजना छ । चालु आर्थिक वर्षमा संघीय सशर्त अनुदानबाट कार्यक्रम चलाइएकोमा आगामी वर्ष संघीय सरकारबाट सो शीर्षकमा शजेट घटाई ११ लाख मात्र विनियोजन गरेको र अपुग बजेट गाउँपालिकाको आन्तरिक स्रोतबाट व्यवस्थापन गर्ने योजना रहेको शाखा प्रमुख यादवले बताए ।