हेटौँडा \ हेटौँडा उपमहानरपालिकाको बजार क्षेत्रभित्र पर्ने दुई सडकलाई शहरी सडक स्तरोन्नती गरिने भएको छ । शहरी विकास मन्त्रालय अन्तरगत रहेको सघन शहरी तथा भवन निर्माण आयोजना चितवनले हेटौँडामा दुई सडकलाई फराकिलो बनाई नमुना सडकको रुपमा स्तरोन्नती गरिन लागेको हो ।
मंगलबार हेटौँडा उपमहानगरपालिकाका प्रमुख मीनाकुमारी लामाको नेतृत्वमा वडा नम्बर ४ का वडा अध्यक्ष नवीन सिग्देल, आयोजना प्रमुख झप्पडबहादुर थापा, निर्माण कम्पनी एक्सीस एसियन कन्ट्रक्सन कम्पनी प्रालिका प्रमुख सन्दीप महत्तो लगायत प्राविधिक टोलीले प्रारम्भिक अनुगमन गरि तत्काल काम सुरु गर्ने भएका छन् ।
हेटौँडा वडा नम्बर ४ मा रहेको रजत जयन्ती मार्ग अन्तरगत करिब एक किलोमिटर सडक तथा हेटौँडा ७ र ८ जोड्ने कर्नावति मार्गलाई स्मार्ट लाइट, फुटपाथ, नाला सहित नमुना सडकको रुपमा निर्माण गरिने नगर प्रमुख लामाले बताउनुभयो । रजत जयन्ती मार्गलाई दाँयाबायाँ १० मिटर सडक फराकिलो सहित स्तरोन्नती गरिने योजना छ भने कर्नावति मार्गको डेढ किलोमिटर सडकलाई दाँयाबायाँ साढे ७ मिटर चौडा गरि बनाईने प्रमुख लामाले बताउनुभयो ।
नमुना सडक निर्माणले हेटौँडाको पहिचान बढाउन मद्दत पुग्नुका साथै पर्यटन पर्यावरणमा सहयोग पुग्ने उपप्रमुख राजेश बानियाँले बताउनुभयो । यी दुई सडक स्तरोन्नती हुँदा जनताले अपेक्षा गरेको विकासकामहरु प्रत्यक्ष रुपमा देखिने हुँदा आगामी दिनमा नगरक्षेत्रका अन्य सडकहरुलाई पनि स्मार्ट बनाउने योजना आफुहरु लागि परेको बानियाँले बताउनुभयो । हामीहरु प्रमुख उपप्रमुख भई रहँदा जनता समक्ष बाचा गरेर विकासको नमुना उपमहानगर बनाउँछौ भनेर आएका थियौँ सोही अनुसार कामहरु भइरहेको बानियाँले बताउनुभयो ।
संघीय सरकारको विनियोजित रकमबाट यी दुई सडक निर्माण सहित हेटौँडा ६ को वडा कार्यालय भवन समेत निर्माण गरिनुपर्ने आयोजना प्रमुख झप्पडबहादुर थापाले बताउनुभयो । तीनवटै योजना रु. नौ करोड ६५ लाखमा निर्माण गर्नका लागि १८ महिनामा सक्नेगरी निर्माण कम्पनी एक्सीस एसियन कन्ट्रक्सन कम्पनी प्रालिसँग सम्झौता भएको छ, प्रमुख थापाले भन्नुभयो । वंशगोपाल मन्दिर पछाडी निर्माणधिन वडा कार्यालय भवन ५ वटा कोठा सहित एकतले निर्माण गरिने छ भने साढे तीन तलाको डिपीआर रहेको आयोजना प्रमुख थापाले बताउनुभयो । अनुगमनको क्रममा निर्माण कम्पनीले आफुहरु स्तरीय काममा प्रतिवद्धता रहेको बताउँदै समयमै काम सम्पन्न गर्ने जनाएका छन् ।