हेटौँडा \ मकवानपुरको हेटौँडा उपमहानगरपालिकामा रहेको न्यायिक समितिले चाल आर्थिक वर्षको जेष्ठ मसान्तसम्ममा एक सय १५ वटा विभिन्न विवादका निवेदनहरुको मुद्दाको मिलापत्र गराएको छ । उपप्रमुख राजेश बानियाँको अध्यक्षतामा बसेको बैठकले उक्त निवेदनमाथी दुईपक्षको उपस्थितीमा मिलापत्र गरिएको न्यायिक समिति सचिवालयका अधिकृत सुजन तिमल्सिनाले बताउनुभयो ।
समिति कहाँ गत आवका २८ मुद्दा सहित चालु आवको जेष्ठ मसान्त सम्ममा दुई सय ३८ विवादका निवेदन दर्ता भएको शाखामा कार्यरत सरस्वती धिमालले बताउँनुभयो । निवेदन माथी दुईपक्ष छलफल पश्चात कोहीको मिलापत्र गरिएको त कोहीको अदालत जानको लागि आवश्यक सुनुवाई गरेका छौं, उहाँले भन्नुभयो । हामीले ३६ जना निवेदकलाई अदालत जान भनी निर्णय गरेका छौं ।
नगरभित्रका वडाहरुमा रहेको मेलमिलाप केन्द्रहरुमा छलफल हुने गर्दछ र त्यहाँ टुङ्ग्यो नलागेकाहरु नगरको न्यायिक समितिमा आउने गरेको न्यायिक समितिका संयोजक उपप्रमुख बानियाँले बताउनुभयो । कतिपय विषयवस्तुको छलफल हुँदा पनि १० जना निवेदकलाई अन्य न्यायिक निकायमा जानलाई आग्रह गरेका छौं, संयोजक बानियाँले भन्नुभयो । हामीले ४ वटा निवेदन फिर्ता गरेको, ११ वटा मुलतवीमा राखेको र ३ वटा निवेदन तामेलीमा राखेको संयोजक बानियाँले बताउनुभयो ।
वडा मेलमिलाप केन्द्रहरुमा छलफलको प्रक्रियामा ५२ वटा निवेदन रहेको, न्यायिक समितिमा २९ वटा निवेदन प्रक्रियामा रहनुका साथै ६ वटा निवेदन डिसमिस पारेको संयोजक बानियाँले बताउनुभयो । प्रायः जसो न्यायिक समितिमा जग्गा/साँध सिमाना सम्बन्धी र आर्थिक लेनदेन सम्बन्धी विवादका उजुरीहरु बढी आउने गरेको जनाइएको छ । समितिमा जग्गा/साँध सिमाना सम्बन्धी ६२ वटा, आर्थिक लेनदेन सम्बन्धी ५१ वटा पति-पत्नि सम्बन्धी २१ वटा, बाटो सम्बन्धी २९ वटा, घरायसी/अशं सम्बन्धी १९ वटा, ज्याला मञ्जुरी नपाएको १६ वटा, घरबहाल नपाएको/कोठा खाली गरी पाउँको १४ वटा, सहमति कार्यान्वयनको १२ वटा उजुरी परेका छन् । त्यस्तै गाली बेईज्जती सम्बन्धी ६ वटा, जीवनयापन खर्च पाँउ सम्बन्धी विवादको ५ वटा र वातावरण प्रदुषण सम्बन्धी विवाद ३ वटा रहेको सचिवालयले जनाएको छ ।