हेटौंडा \ आयुर्वेद तथा वैकल्पिक चिकित्सालय मकवानपुरमा चालु आर्थिक वर्ष २०८०/०८१को जेष्ठ मसान्त सम्ममा करिब ३३ हजार विरामीले आयुर्वेद सेवा लिएका छन् । चिकित्सालयले मकवानपुरका सञ्चारकर्मीहरुसँग आयुर्वेद सेवाको प्रवद्र्धन गर्न आयोजना गरिएको अन्तरक्रिया कार्यक्रमका कार्यालय प्रमुख डा. ललिता पाण्डेले मकवानपुरमा ३२ हजार ९ सय ९१ जनाले सेवा लिएको बताइन् ।
कार्यालयमै १७ हजार ६ सय ८० जनाले सेवा लिएका छन् भने हटिया आयुर्वेद औषधालयबाट २ हजार २३९ जना, चुरियामाई औषधालयबाट एक हजार ३८०, काँकडा औषधालयबाट २ हजार तीन सय र नागरिक आरोग्य सेवा केन्द्रबाट ९ हजार ३९२ जनाले सेवा लिएका छन्, डा. पाण्डेले भनिन । मकवानपुरमा पाँच वटा नागरिक आरोग्य सेवा केन्द्र छ भने तीन वटा औषधालय रहेको छ ।
चिकित्सालयले यस आर्थिक वर्ष २०८०/०८१ मा महिला स्वयंसेविकालाइ आयुर्वेद सम्बन्धि सचेतना कार्यक्रम, मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रम, पथ्याहार कार्यक्रम, एक जिल्ला एक जडिबुटी उद्वान निर्माण कार्यक्रम, पुर्वकर्म, पन्चकर्म कार्यक्रम, ट्राफिक प्रहरीहरुका लागि नस्य कार्यक्रम, जेष्ठ नागरिक कार्यक्रम, स्तनपायी कार्यक्रम, विद्यालय आयुर्वेद तथा योग शिक्षा कार्यक्रम लगाएतका कार्यक्रमहरु आयोजना गरेको डा.पाण्डेले बताइन् ।
यस चिकित्सालयले वहिरङ्ग सेवा, निशल्क औषधि वितरण, सशुल्क फार्मेसी सञ्चालन, पुर्वकर्म पञ्चकर्म सेवा, निशुल्क योग परामर्श, पथ्यअहार कार्यक्रम, जेष्ठ नागरिक सेवा, अकुपन्जर सेवा लगायतका सेवाहरु दिँदै आइरहेको छ । चिकित्सालयले २३ थरिका औषधि निःशुल्क वितरण गर्ने गरेको डा. पाण्डेले बताइन् । डा. ललिता पाण्डेको अध्यक्षतामा भएको अन्तरक्रिया कार्यक्रममा जिल्ला समन्वय समिति मकवानपुरका समन्वय अधिकारि सुर्यप्रसाद चापागाईं, नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष मणिराज गौतम, आयुर्वेद कन्सल्टेण्ट साइरस न्यौपानेको आतिथ्यता रहेको थियो ।