हेटौँडा \ नवोदय इनोभेसन सेन्टरको आयोजनामा दक्ष शिक्षक उत्पादनको लक्ष्य लिई प्रशिक्षण कार्यक्रम हुने भएको छ । बुधबार पत्रकार सम्मेलन गर्दै कार्यक्रमबारे जानकारी दिँदै तालिम कार्यक्रम प्रमुख नरेन्द्रकुमार नगरकोटीले शिक्षा क्षेत्रमा सक्रिय रहन इच्छुकलाई उक्त तालिम प्रदान गरिने बताए ।
उनले कक्षा १२ उर्तिण भएका विद्यार्थीहरु जो भविष्यमा एक सफल शिक्षक बनेर हजारौँ बालबालिकाको प्रेरणाको स्रोत बन्न चाहनेका लागि हामीले तालिम ल्याएका हौं, प्रमुख नगरकोटीले भने । तालिममा शिक्षा दर्शनः प्रगतिशील शिक्षा, भाषा साहित्य शिक्षण, विज्ञान शिक्षण, सामाजिक अध्ययन शिक्षण, गणित शिक्षण, शारीरिक शिक्षा शिक्षण, सङ्गीत र कला शिक्षण, बालबालिकाको समग्र विकास, नृत्य शिक्षण, सिकाई उपलब्धी र बालबालिकामा फोर सीको विकासका विषयमा प्रशिक्षण गराइने नगरकोटीले बताए ।
आधारतभूत तह कक्षा ४.देखी ७ का लागि सक्षम शिक्षक तयार गर्ने हाम्रो उद्देश्य हो, सोही अनुरुप हामीले एक वर्षे कोर्ष बनाई विभिन्न समूहमा तालिम प्रदान गरिने नगरकोटीले बताए । तालिमका लागि रजिष्ट्रेसन शुल्क प्रतिमहिना पाँच हजार पाँच सय ५० लाग्ने जनाइएको छ ।
पत्रकार सम्मेलनमा नवोदय शिशु सदनका अध्यक्ष पुरन बहादुर जोशी, हेटौंडा ४ का वडाध्यक्ष नवीन सिग्देल, हेटौंडा क्याम्पसका प्रमुख डा. देवीराम लामा, श्रमिक माविका प्रअ श्रीराम दहाल, बालविद्या सदनका प्रिन्सिपल सुदीप गिरी, नवोदय इनोभेसन सेन्टरका अध्यक्ष अव्यक्त खनाल लगायतको उपस्थिती रहेको थियो ।