हेटौँडा \ हेटौँडा पिप्लेमा रहेको पिप्लेपोखरा सामुदायिक वन उपभोक्ता समूहको २९ औं वार्षिकोत्सव सोमवार सम्पन्न भएको छ । हेटौँडा पिप्लेमा रहेको रुद्रेश्वर मन्दिरमा आयोजित कार्यक्रममा रुद्रेश्वर मन्दिर परिसरमा विभिन्न प्रजातिको बिरुवाहरूको वृक्षारोपण गरिनुको साथै बालज्योति माविमा अध्ययनरत गरिब, दलित तथा जनजाति विद्यार्थीहरूलाई छात्रवृति समेत वितरण गरिएको थियो ।
कार्यक्रममा आँप, लिची, अमला,तेजपात, विभिन्न प्रकारका फूलहरू र समुहको सेवा क्षेत्र भित्र विभिन्न विद्यालयमा कक्षा ५ देखि १० सम्म अध्ययनरत १३ जना विद्यार्थीहरूलाई छात्रवृति वितरण गरिएको थियो । समूहले २०८० सालको एसईईमा बालज्योति मावि पिप्लेबाट उत्कृष्ट अङ्क हासिल गर्ने रिवाज काफलेलाई नगद सहित सम्मानित गरेको थियो ।
यसैगरी समूहले ज्वालादेवी आधारभूत विद्यालय, गढी ४ मा अध्ययनरत सुनिता थिङ, जेनिशा सिह ठकुरी, आयुष थापा मगर, उज्वल बजू, लक्ष्मी आधारभूत विद्यालय हेटौँडा–५ मा अधययनरत पवन सहनी, रिता ठकुरी, रविना खातुन, गणेश कुमार, बालज्योति मावि हेटौँडा–५ मा अध्ययनरत समन राई, स्वेच्छा बर्तौला, विविका राई र योशेव गुरुङलाई छात्रवृति वितरण गरिएको थियो । कार्यक्रम बागमती प्रदेशकी सदस्य भाती पाठकको प्रमुख आतिथ्यता एवम समूहका अध्यक्ष रामहरि चौलागाईको सभाध्यक्षतामा सम्पन्न भएको थियो । हेटौँडा
कार्यक्रममा जिल्ला समन्वय समिति, मकवानपुरका प्रमुख ललित घलान, डिभिजन वन कार्यालय, मकवानपुरका प्रमुख राकेश प्रसाद चन्द्रवंशी, हेटौँडा–५ का वडा अध्यक्ष सुशील घिमिरे, सामुदायिक वन उपभोक्ता महासङ्घ मकवानपुरका अध्यक्ष साधुराम चौलागाईँ, वन अधिकृत बसन्तराज गौतम, मनकामना सामुदायिक वनका अध्यक्ष सर्कलाल लो, समुह कोषाध्यक्ष झम्क भुजेल, सदस्य राजिव सुवेदी, कार्यसमितिका पदाधिकारी, उपभोक्ता सञ्चारकर्मी लगायतको सहभागिता थियो ।