हेटौँडा \ सर्वमान्य गणेशमान सिह वन संरक्षण प्रथम पुरस्कार प्राप्त गर्न सफल हेटौँडा–६, चौघडामा रहेको रानी सामुदायिक वन समूहले आव. ०८०/०८१ मा साढे ३५ लाखको कारोवार गरेको छ । समूहले सालको चिरानी काठ विक्रीबाट २३ लाख २० हजार बाकल विक्री बाट एक लाख ५४ हजार दाउरा विक्रीबाट दुई लाख ७४ हजार आम्दानी गरेको छ । यसैगरी डिभिजन वन कार्यालयबाट तीन लाख ७१ हजार नवीकरणबाट ६७ हजार, नयाँ सदस्यता शुल्कबाट ६७ हजार आम्दानी गरेको कोषाध्यक्ष गोमा लामिछानेले बताईन ।
यसैगरि समूहले काठ चिरानी ज्यालामा १३ लाख १० हजार, कर्मचारी तलवमा ४ लाख ५० हजार, वन व्यवस्थापनमा चार लाख २५ हजार, सालकको मूर्ती निर्माणमा २ लाख २५ हजार खर्च गरेको छ । यसैगरि वृक्षारोपणमा ६५ हजार, बाकल ढुवानीमा ८२ हजार, पर्यटकीय क्षेत्र निर्माणमा ७० हजार, साधारणसभामा एक लाख ५५ हजार, वार्षिकोत्सवमा २५ हजार र अन्य कार्यमा दुई लाख खर्च गरेको समूहले जनाएको छ ।
समूहले २०८० सालको बागमती प्रदेश स्तरीय प्रथम पुरस्कार, वन संरक्षण युवा पुरस्कार, वनदेवी पुरस्कार र जिल्ला स्तरीय पुरस्कार समेत प्राप्त गरिसकेको समूह अध्यक्ष विष्णुप्रसाद न्यौपानेले बताए ।
विश्वमा लोपोन्मुख सालकको संरक्षण गरि यसको संख्यामा वृद्धि गर्ने काममा समेत समूह निरन्तर लागि परिरहेको छ । पर्यापर्यटकीय क्षेत्रको विकासका लागि समूहको ब्लक नं. ५ मा सालकको केज निर्माण गरिनुको साथै ब्लक नंं ६ मा वीपी गणेशमान स्मृति शान्तिपार्क समेत निर्माण भैरहेको छ ।
वनको संरक्षण, व्यवस्थापन, महिला समूह गठन, आयआर्जनमा वृद्धि, संस्थागत विकास र सामाजिक कार्य, स्वास्थ्य, शिक्षा लगायतका क्षेत्रहरुमा समेत काम गरि समूहले आफनो सामाजिक उत्तरदायित्व समेत पूरा गर्दै आएको समूहका कार्यालय सचिव भीमसेन पौडेलले बताए ।