हेटौंडा \ विद्यार्थीलाई सीपका साथ रोजगारीमा जोड्ने उद्धेश्यले चितवनको भरतपुर ११ मा रहेको आरम्भ कलेजले पढ्दै कमाउदै भन्ने नारालाई सार्थकता दिँदै आएको छ । होटल म्यानेजमेन्टको स्नातक (बीएचएम) र बीआइएमको पढाई सञ्चालन गरिरहेको कलेजले आकर्षक छात्रवृत्तिका साथ पढाईलाई गुणस्तरीय बनाउँदै लगेको आइतबार हेटौंडामा पत्रकार सम्मेलनमार्फत जानकारी दिएको हो ।
कलेजको विशेषता र दिँदै आएको सेवा सुविधाका बारे जानकारी दिँदै कलेजका प्रिन्सिपल सुरज शिवाकोटीले बीएचएम र बीआइएम विद्यार्थीको भविष्य उज्वल हुने विषय भएको बताए । हामीले बीएचएमका लागि ७ लाख ५० हजार र बीआइएमाका लागि ६ लाख रुपैयाँ शुल्क निर्धारण गरेका छौँ, शिवाकोटीले भने ।
कलेज स्थापनाको वर्ष हामीले एक करोड ३१ लाख छात्रवृति दिएको र यस वर्ष भने २५ जनालाई ५० हजारका दरले छात्रवृति दिनेछौं, प्रिन्सिपल शिवाकोटीले भने । अनुभवी समूहबाट कलेज सञ्चालन गरिरहेको जानकारी दिँदै मकवानपुरबाट चितवनको आरम्भ कलेज गएर पढ्न चाहनेलाई छुटको व्यवस्था समेत रहेको शिवाकोटीले बताए ।
पहिलो वर्ष १३१ जनाले अध्ययन गरेका छन् । कलेजमा चितवनसहित मकवानपुर, नवलपरासी र आसपास जिल्लाका विद्यार्थीहरु अध्ययनरत रहेको कलेजका बिएचएम कार्यक्रम प्रमुख दीपेन्द्र सुवेदीले जानकारी दिए ।
पत्रकार सम्मेलनमा कलेजका निर्देशक बाबुराम पौडेल, देवराज दाहाल, नेपाल पत्रकार महासंघ बागमती प्रदेश उपाध्यक्ष रुपेश दुलाल, जिल्ला कार्यवहाक अध्यक्ष ध्रुव अधिकारी लगायतको आतिथ्यता रहेको थियो ।
देशकै जेठो त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त कलेजमा ब्याचलर इन होटल म्यानेजमेन्ट र ब्याचलर अफ इन्फर्मेसन म्यानेजमेन्ट अध्यापन हुने कलेजले जनाएको छ । १२ कठ्ठा क्षेत्रफलमा रहेको कलेजमा बास्केटबल कोर्ट, फुटसल,पौडी पोखरी र सभाहल रहनुका साथै सबै कक्षाकोठामा एसी जडान गरिएको छ ।